प्रवास

अर्थ

मुख्य समाचार

देश

३३५ नेपाली विदेशमा जेल, २० जना कोमामा

बुधबार, १३ असार २०७५ गते प्रकाशित
- नेपाल आज

३३५ नेपाली विदेशमा जेल, २० जना कोमामा

काठमाडौं । बैदेशिक रोजगारीका क्रममा खाडी मुलुक लगायतका विभिन्न देशमा गएका कामदारमध्ये बिदेशी जेलमा ३ सय ३५ नेपाली रहेका छन् । 
२० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा भएको सरकारको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 

परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका हुन् ।

 

उनका अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २ सय १९ नेपाली जेलमा छन् । यस्तै यूएईमा ६३ र बैंककमा ३९ जना नेपाली जेलमा छन् । बहराइनमा ९, सिंगापुरमा ४, चीनमा ३, इजरायल र ओमानमा २÷२ तथा कम्बोडिया र लेबनानको जेलमा १÷१ जना नेपाली रहेको मन्त्री ज्ञवालीले जानकारी दिएका छन्  ।

 

मृत्युदण्ड पाएकाहरुको सजायलाई आजीवन कैद र गलत आरोपमा जेल परेकाहरुलाई आममाफी दिएर छुटाउन सरकारले पहल गरिरहेको उनले जानकारी दिए । यूएईमा रहेका अमरबहादुर बमको मृत्युदण्ड हटाउन सरकारले पहल गरेको तर, ठोस उपलब्धि भइनसकेको उनले जानकारी दिए । राष्ट्रपति विद्या भण्डारीको भ्रमणका क्रममा यसबारे गम्भीर कुरा उठाएको र आफू परराष्ट्रमन्त्री भएपछि पनि नेपाली राजदूतलाई बोलाएर यसबारे जानकारी लिएको उनले बताए ।

 

यसैगरी २० जना नेपाली विदेशस्थित कोमामा छन् । सबैभन्दा धेरै कतारमा ११ जना छन् । यस्तै साउदी अरेबियामा ५, बहराइन र यूएईमा २÷२ जना छन् । सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुले उनीहरुको उपचारबारे चासो राख्दै आएको उनले बताए ।