बिचार

राजनीति

प्रधानमन्त्रीज्यू ! 'रेल ल्याउनुअघि जनतालाई जेलमुक्त बनाउ'

प्रताप अाेली

मङ्गलबार, १२ असार २०७५ गते प्रकाशित
- प्रताव ओली

प्रधानमन्त्रीज्यू ! 'रेल ल्याउनुअघि जनतालाई जेलमुक्त बनाउ'

नेपालको वाम सरकार दिन प्रतिदिन अलोकतान्त्रिक र असफल बन्दै गएका प्रमाण देख्दैछौँ हामी । सरकारको प्रवृत्ति र प्रधानमन्त्रीको कार्यशैलीले नै यसको पुष्टि गर्दैछ ।

 

रेल, पानीजहाज, मोनो रेल, स्मार्ट सिटीजस्ता महत्वाकांक्षी योजना सुनाइरहने सरकार हरेक दिन देखिने साना तर, जटिल समस्यातिर ध्यान दिइरहेको छैन । आम जनताका आधारभूत र तात्कालिक आवश्यकता के हुन् ? तिनलाई कसरी सम्बोधन गर्ने यसतर्फ सरकारले पटक्कै चासो दिएको छैन ।

 

केही समयअघि प्रस्तुत भएको बजेटमा निकै दूरगामी र महत्वाकांक्षी योजनामात्र समेटिए । जसले धेरै पछि विकास त गर्ला तर, त्यो विकास चुम्ने बेलासम्म जनताले भोग्नुपर्ने पीडा कहालीलाग्दो पक्कै हुनेछ ।

 

बर्षात्याम सुरु भइसकेको छ । सडक सञ्जाल अस्तव्यस्त छन् । सुरु भएको योजना पूरा भइसकेका छैनन् । थुप्रै स्थानमा गोरेटो नै छैन । सवारी दुर्घटनाको त्रास थपिँदैछ । कतिपय जिल्लामा त मान्छेहरू हरेक दिन तुईनमा ओहोर दोहोर गर्न वाध्य छन् । स्मरणीय छ, प्रधानमन्त्री केपी ओली अघिल्लो पटक प्रधानमन्त्री बन्दा तुईनहरू हटाउने बाचा गरेका थिए ।

 

दोस्रो पटक प्रम बन्दा ती तुईन हटाएर झोलुंगे पुल बनाउलान् भन्ने आशा धेरैको थियो । उनले त चीन र भारतको रेल ल्याउने, पानीजहाज ल्याउने सपना बाँड्न थाले । पश्चिम पहाडी जिल्लामा हरेक वर्ष झाडापखाला, आउँजस्ता महामारीको समस्या देखिँदै आएको छ । प्रधानमन्त्रीले यस्ता समस्या आउनुअघि नै औषधि वितरण गर्ने जस्ता पूर्वतयारीतर्फ ध्यान दिएकै छैन ।

 

सहरी क्षेत्रमै सडकको अवस्था हेर्ने हो भने हरेक दिन पैदल यात्रुहरू हिलाम्मे बनेर यात्रारत छन् । राजधानीकै सडकको अवस्था दयालाग्दो छ । खाल्डाखुल्डी, हिलो र धुलो, सडकजाम जस्ता दैनिक समस्या हेर्दा प्रधानमन्त्रीको रेल र पानीजहाजको भाषण हास्यास्पद छ ।

 

राजधानीमै यस्तो हालत छ भने देशका दुर्गम जिल्लामा जनताले कस्तो समस्या भोगिरहेका होलान् यसबारे प्रधानमन्त्रीलाई त कल्पना नहोला लाखौं आम जनता पीडा भोग्न वाध्य छन् । पश्चिम पहाडी जिल्लाहरूमा दुई छाक राम्ररी खान नपाउने जनताको संख्या लाखौं छ । सडकको पहुँच नहुँदा उनीहरू हप्तौँसम्म पैदल हिँडेर यात्रा गर्न वाध्य छन् ।

 

खच्चडबाटै चामल बोकिरहन वाध्य गाउँलेलाई प्रधानमन्त्रीको रेल र पानीजहाज सपना कति व्यावहारिक होला ? कतिपय गाउँ यस्ता छन् कि, जहाँ पुग्न हप्तौँ हिँड्नुपर्छ । राजधानी नै उनीहरूका लागि विदेश जस्तो लाग्छ । उनीहरू ठान्छन्, त्यो दुर्गम गाउँ आफैँमा एक जेल हो । 

 


तराईका थुप्रै जिल्ला हरेक वर्ष डुबानमा पर्छन् । प्रधानमन्त्री स्वयं निर्वाचित भएको जिल्ला झापामै डुबानपछि खाद्यान्न सकिएर हाहाकार हुने हजारौं गाउँलेहरू छन् । विकास एक चरणबद्ध प्रक्रिया हो । हरेक साना साना आवश्यकतालाई मध्यनजर राखेरै महत्वाकांक्षी योजना पछि उठाइनुपर्ने हो । हाम्रो अहिलेको आधारभूत आवश्यकता कम्तीमा ग्रामीण भेगमा अस्पताल, विद्यालय, बिजुली र सडक पुर्याउने हो ।

 

नपुगेका ठाउँमा पहिले यस्ता सुविधा पुर्याएपछि मात्रै अन्य गतिविधि क्रमशः पहल गरिनुपर्छ । प्रधानमन्त्रीले त विश्व स्तरमा नेपालको शक्ति र पहुँच बढाउने भाषण दिइरहेका छन् । उनको आशय यस्तो छ कि, मानौँ हामी चीन, भारतसँग तीव्र प्रतिस्पर्धामा छौँ ।

 

प्रधानमन्त्रीका अभिव्यक्ति र सरकारको गतिविधिले आम नेपालीको धरातल छोएकै छैन । आखिर हामी विदेशी बहुराष्ट्रिय कम्पनीका लागि काम गरिदिँदैछौँ कि, नेपाली जनताको आधारभूत आवश्यकतामाथि काम गर्दैछौँ ? बोलेर मात्रै हुँदैन । सरकारका हरेक काम त देखिनुपर्छ र अनुभूति हुनुपर्छ । विकसित र समृद्ध देशमा त हरेक जनताले सुरक्षित महसुस गरेको हुनुपर्छ । सरकार र संसद्मा हरेक नेपालीले आफैँलाई देखेको हुनुपर्छ ।

 

एक प्रसंग चर्चित छ, ऊँटहरूका बिहेमा गधाहरू गएछन् । गधाहरूले गीत गाउँदा ऊँटको प्रशंसा गर्दै ‘आहा क्या राम्रो जीउडाल मिलेको’ भनेपछि ऊँटहरूले पनि ‘आहा ! गधाको क्या मीठो स्वर’ भन्दै गधाको प्रशंसा गरेछन् । हाम्रो राजनीतिक प्रवृत्ति ठीक यस्तै भएको छ । सत्तामा हुनेहरू आआफैँ आआफ्नै प्रशंसा गरिरहेका छन् । तर, जनताले जे देखिरहेका छन् र भोगिएका छन् त्यो कहालीलाग्दो छ !