समाचार

प्रदेश ७

प्रतिपक्षी दलकाे विराेधले प्रदेशसभाको बैठक स्थगन

सोमबार, ११ असार २०७५ गते प्रकाशित
- नेपाल आज

प्रतिपक्षी दलकाे विराेधले प्रदेशसभाको बैठक स्थगन

प्रदेश नं ७ को सोमबार बसेको प्रदेशसभाको बैठक स्थगन गरिएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यहरूले विरोध गरेपछि बैठक स्थगन भएको हो ।

 

सांसदहरूले प्रदेश सरकारले आव २०७५/०७६ का लागि ल्याएको बजेट विनियोजनको प्रकृतिप्रति असन्तुष्टि जनाउँदै आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।  आआफ्नो स्थानबाट उठेर केही नबोलेर विरोध गरिएपछि प्रतिपक्षीलाई सभामुख अर्जुनबहादुर थापाले आफ्नो भनाइ राख्न अनुमति दिएका थिए ।

 

 त्यसक्रममा काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले आगामी आवका लागि ल्याइएको बजेटको योजना छनोट र प्रथामिकीकरणलगायतका प्रक्रिया गलत रहेको, वितरणमुखी र डल्लो बजेट ल्याइएकाले यसबाट जनताले गरेका अपेक्षा पूरा नहुने भन्दै सच्याउन दिइएको सल्लाह नमानिएकाले विरोध गर्नु परेको बताए । डा. रावलले बजेट ल्याउँदा भएको त्रुटि नसच्याइएसम्म विरोध जारी रहेको बताए ।

 

डा. रावलले आफ्नो भनाइ राखिसकेपछि सभामुखले आआफ्नो स्थानमा बस्न गरेका आग्रह पनि प्रतिपक्षी सदस्यले नमानेपछि आजको बैठकको कामकारबाही स्थगन गरिएको हो । प्रदेशसभाको अर्को बैठक यही असार १२ गते अपराह्न ४ बजे बस्नेछ ।