बिचार

मानिसले नबुझेकाे जीवनकाे अर्थ

शनिबार, ०९ असार २०७५ गते प्रकाशित
- प्रताव ओली

मानिसले नबुझेकाे जीवनकाे अर्थ

टिरिङ्ग-टिरिङ्ग, ४ बजेको स्कुलको घन्टीसँगै 
झोला बोकी दाैडदै आमाको हात समाती 
हतार हतार घर फर्कन्थेँ। 

स्कुले ड्रेस फेरी 
हात गोडा धोइ 
ग्वाँम-ग्वाँम खाजा खान्थेँ। 

एउटा सुन्दर पललाई अर्को सुन्दर पलसँग जोड्दै सुखको एक अलग स्वादकाे माला बुनिएको क्षण हाे बाल्यकाल ! कति छिटो ? कति मीठो ? बितेर गयो, ठगेर गयो ! निस्वार्थ खुसीको जमातहरु  संगालेको एक अध्यायलार्इ समयले कतै दुर लगेर गयो भन्दा जाे काेहि पनि मानिस बहकिन थाल्छन् । 



गुच्चा फुटाइयो !
तर मन कहिले फुटाइएन।
चुङी चुडाइयो,
तर साथ कहिले छुटाइएन।
लुकिडुम खेल्थ्यौँ दिनहुँ,
लुकेर आँपका रुखहरुमा !
तर एक दिन एक अर्का नभेटे,
नदेखे दिनै खल्लो जस्तो लाग्थ्यो।

 

साँच्चीकै कति चाेखाे माया ? साथिभार्इ हाम्रै थिए, अामाबुबा हाम्रै थिए, हामीले जे माग्याै टुप्लुक्कै पुग्थ्याे पनि । चिन्ता थिएन, तनाव थिएन । चाहेकाे बेला खार्इन्थ्याे । चाहेकाे बेला सुतिन्थ्याे । एक खुल्ला मैदानकाे भकुण्डाे जस्ताे जीवन जता धकल्याे उतै जाने ।


युवा अ‍वस्था

तर अब समय उस्तै रहेन । अामाबुबा बुढा भए । पढ्नुपर्ने भयाे । जागिर गर्नुपर्ने भयाे । एक साथिकाे अपरिहार्यता पर्न थाल्याे । अलिअलि रमार्इलाे, अलिअलि तनाव, अलिअलि उत्साह बाेक्दै युवा अवस्थाले स्वागत गर्न थाल्छ । परिहाले जे पनि गर्छु लाग्ने । सा‌रा संसार हल्लाउने क्षमता म मा छ लाग्ने । सबै कुराकाे सम्मीश्रण हाे युवा अवस्था । 

युवा नै खानी हो बुद्धि विवेक अपार त्यो शक्तिको
युवा नै छाती हो शैल सरी अटल त्यो राष्ट्रभक्तिको

युवा नै पौरखी पसिना सिंची मोती फलाउँछ माटोमा
युवा नै हो त्यो ज्यानै अर्पिने हाँस्दै यो माटोले मागेमा

फार्इल तस्वीर

आज दुनियाँको आँखा अगाडि आशा र भरोसाको भर्भराउँदो शक्तिको रुपमा युवा शक्तिलाई नै बुझ्ने गरेका छन् । साँचिकै युवा शक्ति जुन युवा अवस्थामा जोसिलो जाँगरिलो हुनका साथै शाहसिलो हुने गर्दछ । जसले गर्दा यस अवस्थामा जस्तोसुकै जटिलभन्दा जटिल परिस्थितको मुकाविला गर्ने क्षमता पनि राख्ने गर्दै आएको छ ।

 

युवा अवस्था बेला क्रान्तिकारी परिवर्नत र अग्रगामी बाहक शक्ति भएर आफूलाई विश्वसामु स्थापित गर्न सफल भएको छ । यद्यपि युवालाई एउटा कच्चा माटोको रुपम हेर्ने र बुझ्ने गरिन्छ । हुन पनि १६ देखि ४० वर्षभित्रका युवाहरुले नयाँ नयाँ विषयबस्तुहरुको खोजी गर्ने र नयाँ चिजको आविस्कारतिर आफ्नो ध्यान केन्द्रीत गर्ने भएको कारणले पनि उसले पुरानाेको अन्त्य र नयाँको विकास र विस्तारलाई मुख्य बनाएकोले पनि युवाहरुप्रति मानिसहरुका भिन्न भिन्न दृष्टिकोण भएको पाइन्छ । यथार्थमा युवा एउटा स्काभेटर हो ।

 

जसले छिनमा नै भत्काएर छिनैमा ठूलै उथलपुथल ल्याउन सक्ने क्षमता राख्दछ । तर, विडम्बना भन्नुपर्छ आमूल परिवर्तनको अग्रिम भागमा रहेर आफ्नो जिम्मेवारी बहन गर्ने शक्तिलाई राज्यले सही ढंगबाट पहिचान र परिचालन गर्न सकेको छैन ।  स्वयं युवाले पनि उमेर छँदा अाफ्नाे बाँकि जीवन कसरी व्यवस्थित गर्ने साेचिरहेका छैनन् । 

पैसा, कुलत र मायाप्रेमकाे दलदलमा फसेका युवा पिढीले व्यर्थै जीवन सजाउन अालटालमै कटाउने गरेका छन् ।

 


वृद्धावस्था

संसार विचित्रको छ । संसारमा कुनै पनि वस्तु स्थायी छैन । जुन जन्मन्छ त्यो मर्छ । संसारको हरेक चीज पुरानो भएपछि नष्ट भएर जान्छ । मानिस पनि जन्मन्छ, हुर्कन्छ, वृद्ध हुन्छ र अन्त्यमा उसको मृत्यु हुन्छ ।

वृद्धावस्थाकाे फार्इल तस्वीर

निमेष, पला, घण्टा महिना वर्ष गर्दै घुम्छु
दशक रजत शताब्दीको पर्दालाई छुन्छु
दिनमा हाँस्ने घाम डुब्छ, रातमा लुक्छ जुन लौ
मै संगसंगै दौडिरहनु लक्ष्यलाई छुन लौ
टिक टिक गर्दै घडीले के भन्दैछ सुन लौ

मानिसले अाफुसँग सम्पत्ती, तागत र उमेर छँदा अाफु कहिल्यै बुढाे नै हुँदैन जस्ताे व्यवहार गर्छ । अाफ्ना घरका अामाबुबालार्इ उमेर ढल्कदै गएपछि हेप्ने प्रवृत्ति मानवमा छ । तर त्यही अाज हेप्ने व्यक्ति भाेली म पनि यसरी घृणित हुन्छु साेच्दैन । सायद यही साेच्ने क्षमता नभएका कारणले हाेला समाजमा उमेर भएकाहरु र वृद्धाहरुबीच निकै दुरी बढ्दै गएकाे छ । 

 

जुन उमेरमा मानिसले कसैकाे सहारा खाेजीरहेकाे हुन्छ त्यही उमेरमा उ एक्लाेपनकाे महसुस गरिरहेकाे छ ।  जुन अामाबुबाले सन्तानलार्इ जन्माउन र हुर्काउन अाफ्नै जीवन समर्पण गरे उनै अामाबुबा अाफ्ना छाेराछाेरीबाट तिरस्कृत बनिरहेका छन् । अहिलेका पुस्ताले अाफ्ना अामाबुबा बिरामी हुँदा पनि उपचार नगरिदिने, घर निकाला गर्ने, वृद्धाश्राम राख्ने काम ले गर्दा वृद्धवृद्धाकाे मनाेबल घट्दै गर्इरहेकाे छ ।

 

मानिस किन बूढो हुन्छ भन्ने विषयमा विश्वमा थुप्रै अनुसन्धान भएका छन् । वैज्ञानिकहरूले यस विषयमा अनेकन खोज–अनुसन्धान गरे पनि दार्शनिकहरूले  यसको अनेकन व्याख्या गरे पनि वृद्धावस्थाको रहस्य भने अझ खुल्न सकेको छैन । 

 

अहिले औषधि विज्ञानमा भएको प्रगतिका साथसाथै प्रकृतिलाई नै चुनौती दिँदै मानिसहरूको आयु लम्बिँदै गएको अवस्था छ । त्यसले गर्दा पनि वर्तमानमा विश्वको एक तिहाइ जनसंख्या वृद्धावस्थामा रहेको विभिन्न तथ्याङ्कले देखाउँछन् । विश्वमा जस्तै नेपालमा पनि २०५३/५४ सालमा लिइएको तथ्याङ्कअनुसार नेपाली महिला तथा पुरुषहरूको औसत आयु ५६ दशमलव १ वर्षबाट बढेर ६० वर्ष पुगेको छ अर्थात् नेपालमा पनि वृद्धवृद्धाहरूको जनसंख्या बढ्दो क्रममा छ ।

 

विभिन्न देशमा वृद्ध कसलाई भन्ने भिन्दाभिन्दै अवधारणा पाइन्छन् तर उमेरको हिसाबले हेर्दा ६० वर्षभन्दा माथिलाई वृद्धावस्था मानिन्छ । वृद्धावस्थालाई साधारण तरिकाले परिभाषित गर्दा यो जीवन चक्रको अन्तिम अवस्था हो ।

 

मानिस जन्मिएपछि उमेरको वृद्धि बिस्तारसँगै शरीरका विभिन्न प्रणाली र तिनीहरूको कार्यक्षमतामा परिपक्वता आउँछ भने ३० भन्दा माथि पुग्न थालेपछि नै बिस्तारै शारीरिक बनावटका साथै कार्य क्षमतामा पनि ह्रास आउन थाल्छ । शारीरिक क्षमतामा कमी हुँदै जाने, शारीरिक असन्तुलन बढ्दै जाने, शरीरलाई क्षति पुर्‍याउने तत्वहरू शरीरमै बढेर शरीरको कार्य प्रणालीमा अवरोध उत्पन्न हुने र त्यस्ता कारण वा अवस्थाहरूले गर्दा विभिन्न प्राणघातक रोग निम्तिने हुन्छ । फलस्वरूप मृत्यु नै वृद्धावस्थाको विकल्प हुनपुग्छ । 

 

ज्येष्ठ नागरिक भनेका देशका विभूति र हरेक घरका गहना भए पनि ज्येष्ठ नागरिकको स्वास्थ्य, रेखदेख, सुरक्षा एवं पुनस्र्थापनाका लागि उपयोगी कार्यक्रमको कमी, आर्थिक अवस्था, सरकारी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालित कार्यक्रममा पनि समन्वयको कमी, समुदायमा सकारात्मक भावनाको अपेक्षित विकास नहुनु, युवाहरूमा वृद्धवृद्धाप्रति सकारात्मक सोचको अभाव एवं पाश्चात्य संस्कृतिको प्रभावका कारण अझै हाम्रो समाजमा वृद्धवृद्धाहरूको अधिकार संरक्षण गर्न सकिएको छैन ।


जीवन के हाे ?

मानिसले जीवनमा कस्तो उद्देश्य लिनुपर्छ ? संसारमा जन्म लिएर मानिसले गर्नुपर्ने काम के हो ? उसले आफूले पाएको जीवनलाई कसरी बिताउनुपर्छ ? उसको जीवनको सार्थकता केमा रहेको हुन्छ ? यी यस्ता प्रश्नहरू हुन्, जसमा प्रत्येक मानिसले सोच्नैपर्छ र सबैले आ–आफ्नो ढङ्गले सोच्ने पनि गर्छन् । यो मानिस मात्रको लागि एउटा निकै चासोको विषय हो । साँचो भन्ने हो भने, जीवनमा मानिसले कुन बाटो लिनुपर्छ भन्ने सवाल जीवनको सबैभन्दा आधारभूत सवाल हो ।

प्रत्येक मानिसले जीवनमा आफ्नो बाटो चुन्न सक्छ र चुन्ने उसको आफ्नो अधिकारको कुरा हो । उसको सामु यसरी चुन्न सकिने मुख्य रूपमा दुर्इ वटा बाटाहरू छन् । एउटा बाटो हो— संकीर्ण स्वार्थको सानो घेराभित्र आफूलाई सीमित पार्नु र त्यसको बन्दी बनेर जीवन बिताउनु । यस खालको जीवनमा मानिस आफैमा केन्द्रित रहेर आफ्नो साँगुरो, वैयक्तिक स्वार्थपूर्तिमा व्यस्त रहन्छ, त्यस्तो स्वार्थको अँध्यारो गल्लीभित्र रुमलिरहन्छ र स्वार्थ–पूर्तिको लागि जस्तोसुकै काम पनि गर्दछ ।

 

सायद मर्ने बेलामा त्यस्तो जीवन बिताउने मानिसले पश्चातापको सुस्केरा हाल्दै भन्दो होला । मेरो जीवन बेफ्वाँममा सिद्धियो, मैले जीवनमा कुनै असल काम गरिनँ । अर्को बाटो हो— फराकिलो राजमार्ग । यस राजमार्गमा हिड्ने मानिसको लागि व्यापक जनसाधारणको सेवा नै मुख्य लक्ष्य रहन्छ । यो शोषण, उत्पीडन र अन्यायबाट जनताको मुक्तिको लागि सङ्घर्षको राजमार्ग हो । यस मार्गमा हिंड्नुको अर्थ उपरोक्त पवित्र सङ्घर्षमा आफूलाई हिस्सेदार बनाउनु, सो सङ्घर्षको पक्षमा कुनै न कुनै रूपमा योगदान गर्नु र त्यसको सफलताको लागि आफ्नो सामथ्र्य र बुद्धिलाई लगाउनु हो । 

 

यसरी अनेकन समस्यासँग जुधाउँदै मृत्युकाे मुखसम्म पुग्न गरिने प्रयास नै जीवन हाे । मानिस यही मृत्युसम्म पुग्न पनि बीच बाटाे यात्रामा किन अमानविय कार्य गर्न थाल्छ । जसले गर्दा उसले जीवनकाे कालान्तरमा थप समस्याकाे भाेगी हुनुपर्छ । 

 

एक महान व्यक्ति अस्ट्रोव्स्कीको निम्नलिखित भनाइ जीवनलार्इ साँच्चीकै अर्थ्याउँछ :


“मानिसको सबभन्दा प्यारो सम्पत्ति जीवन हो । मानिसलाई जीवन एकपल्ट मात्र दिइन्छ । उसले जीवनलाई कसरी बिताउनुपर्छ भने उसले खेरगएका वर्षहरूका लागि यातनापूर्ण पश्चाताप गर्न नपरोस्, उसले नीच तथा क्षुद्र अतीतका लागि भत्भती पोल्ने लाजको अनुभव गर्न नपरोस् । उसले जीवनलाई कसरी बिताउनुपर्छ भने मर्ने बेलामा उसले यसो भन्न सकोस् : संसारमा सबभन्दा उच्च लक्ष रहेको मानवजातिको मुक्तिको लागि मेरो सारा जीवन, मेरो सारा तागत लगाइएको छ ।”

र धन्य हो उसको जीवन, जसले आफ्नो सारा सामथ्र्य र बुद्धि मानव–मुक्तिको महान तथा उच्च लक्षमा लगाएर, आफ्नो सम्पूर्ण जीवन त्यसको हेतु सङ्घर्षमा बिताएर आखिरमा बडो सन्तोषका साथ मृत्युलाई अंगीकार गर्छ । वास्तवमा यस्तो मृत्यु मृत्यु होइन, बरु अमरताको प्राप्ति हो ।