अन्तरवार्ता

भिडियो

कभर स्टोरी

अनि दीपेन्द्रले भने, ‘के काे लागि जाँच्ने कोलस्ट्रोल ! यहाँ आफूले भनेको केही हुँदैन, आफ्नो केही ठेगान छैन’ (भिडियो)

मङ्गलबार, ०५ असार २०७५ गते प्रकाशित
- नेपाल आज

अनि दीपेन्द्रले भने, ‘के काे लागि जाँच्ने कोलस्ट्रोल ! यहाँ आफूले भनेको केही हुँदैन, आफ्नो केही ठेगान छैन’  (भिडियो)

डा. खगेन्द्रबहादुर श्रेष्ठका जीवनका बहुआयाम छन् । डा. श्रेष्ठको पेशा चिकित्सा बन्यो तर उनको मनमुटुमा खेलकुदले बास गरेको छ । २५–२६ वर्षको उमेरदेखि चिकित्सा क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ अहिले पनि बिरामी जाँच्छन् । तर उनको रस बसेको क्षेत्र खेलकुद नै हो । डाक्टरी गरेपछि उनी सेनामा प्रवेश गरे । सेनाको डाक्टर भएपछि उनी शाही चिकित्सकका रुपमा काम पनि गरे । सेनाको पोशाक लगाएर दरबार गएर राजपरिवारका सदस्यहरुको उपचार गर्थे । उनले राजा त्रिभुवनकी रानीदेखि श्रुतीका छोरीहरुको समेत स्वास्थ्य जाँच गरे । ८३ वर्षीय डा. श्रेष्ठले इतिहासका कैयन घटनाहरु आफ्नो आँखाले देखेका छन् । दरबार हत्याकाण्डलाई नजिकबाट देख्नेमा यिनी पनि एक हुन् । यिनै डा. श्रेष्ठसँग नेपालआजले केही अन्तरंग भिडियो सम्वाद गरेको छ । प्रस्तुत छ सो सम्वादको सार, उनकै शैलीमाः 
 

राजा वीरेन्द्र त्यो बेला त्यस्तै १३–१४ वर्षका थिए । वर्ष २०२२ साल जस्तो लाग्छ । मैले सेनामा जागिर खाइसकेको थिएँ । भारतबाट फिफ्टी गोर्खा राइफलको एक फुटबल टिम आउने भएछ । सेनाकै फुटबल टिम बनाउँदा म पनि छानिएँ ।

 

म छानिनुको कारण के थियो भने मैले एनआरटीबाट फुटबल खेलेको थिएँ । इन्टर कलेजमा फुटबलको क्याप्टन पनि भएको थिएँ । खेलकुदमा गहिरो अभिरुचि पनि थियो । त्यो बेला सेनापति सुरेन्द्रबहादुर शाह थिए । 


खासमा म त्यो बेला चाहिँ बिलियार्डमा मग्न थिएँ । सेनाको च्याम्पियन नै भएको थिएँ । 

 

सेनापति सुरेन्द्रबहादुर शाहले बोलाए । र, सोधे, ‘डाक्टर, पहाडतिर जाने हो ?’ मैले जवाफ दिएँ, ‘हुन्छ सर ।’ 


उनले फेरि सोधे, ‘आफ्नो भारी आफैले बोक्नु पर्छ । दुःख छ ।’ मैले ‘हुन्छ’ भनेँ । मलाई लाग्यो, विदेशी कोही पाहुना ट्रेकिङका लागि आउने रहेछन् । उनीहरुको साथी भएर जानु पर्ने होला । तर कुरा फुटबलको रहेछ । 

 

सेनाको डाक्टर भएको र ड्युटी दरबारमा पनि भएकोले बेला बेला स्वास्थ्य परीक्षणका लागि जाने गर्थे । अक्सर दरबार जाने काम मेरै हुन्थ्यो । सायद, दरबारबाट पनि ‘खगेन्द्रलाई पठाउनू’ भन्ने कुरा हुन्थ्यो होला । 

दरबारले पत्याएका कारण राजाको ‘स्टेट भिजिट’मा पनि शाही चिकित्सकको हैसियतले विभिन्न देशमा राजाको भ्रमण दलमा पर्थे । धेरै देश घुमेँ । बेलायतको बंकिघम दरबारमा सुत्ने अति कम नेपालीमा म पनि हुँ । 

 

नेपालको शाहवंशीय राजसंस्थाका पाँच पुस्तालाई उपचार गर्ने सम्भवतः म एक्लो चिकित्सक हुँ । त्रिभुवनकी अनौपचारिक पत्नी, उहाँको नाम बिर्सेँ । त्यो बेला उहाँ ८०–८५ वर्षकी हुनुहुन्थ्यो । उहाँको उपचार गरेँ ।

राजा महेन्द्रकी पत्नी पूर्वमुमाबडामहारानी रत्नको पनि उपचार गरेँ । उहाँ जीवीतै हुनुहुन्छ । राजा वीरेन्द्र, युवराज दीपेन्द्र र श्रुतीका छोरीहरुको पनि उपचार गरेको छु । यसरी हेर्दा पाँच पुस्ता भयो । 

 

राजा वीरेन्द्रको परिवारलाई एकैपटक भेट्दा उनीहरुबीच निकटता राम्रै थियो । धेरै पारिवारिक कलह महशुस हुँदैन थियो । 

 

दरबार हत्याकाण्डको एक दुई वर्षअगाडि दीपेन्द्रलाई भेट्दा उनी ‘इरिटेट’ भएको देखिन्थ्यो । उनको कोलस्ट्रोल बढेको थियो । राजालाई त पहिले नै मुटुमा समस्या देखिइसकेको थियो । 

 

मैले दीपेन्द्रलाई भनेको थिएँ, ‘सरकारको कोलस्ट्रोल बढ्यो । जीवन शैली फेर्नुपर्छ । बेला बेला जाँच गर्नु पर्यो । ’ 

 

उनले भने, ‘ के जाँच्नु ! यहाँ आफूले भनेको केही हुँदैन । आफ्नो केही ठेगान छैन ।’ 

 

यो जवाफको अर्थ त्यो बेला बुझिनँ । पछि देवयानीसँग विवाह गर्न ऐश्वर्यले नदिएको आवेग रहेछ भन्ने लाग्यो । 

हत्याकाण्डको आठ–दशदिन अघि पनि युवराज दीपेन्द्रले गुनासो गरेका थिए । श्रुतीसँग पनि दीपेन्द्रको झगडा भएको सुनिएको थियो । 

 

स्वास्थ्यकै कुरा हुँदा रानी ऐश्वर्यले ‘क्राउन प्रिन्स’को पनि जाँच्नु पर्ला नी  ? भनेर मलाई सोधिन् । दीपेन्द्र रिसाएर ‘जाँच्दिन केही पनि । के का लागि जाँच्ने ?’ भन्ने जवाफ दिएका थिए । त्यस्तो जवाफ कहिले पनि सुनेको थिइनँ । 

 

त्यसको केही दिन पनि दरबार हत्याकाण्ड भयो । वंश नै नाश गर्ने हदसम्मको आवेग दीपेन्द्रमा देखेको थिइनँ ।  

 

राजा वीरेन्द्रको वंश नाश हुनुपछाडि दीपेन्द्रको हात रहेको सबैले एक मुखले भन्छन् । आफूले देखेको होइन । देख्नेहरुले उनैले गरेको भन्छन् ।  हत्याकाण्डको दुई चार दिनपछि एक पटक दीपेन्द्र बारे कसैले केही भन्दा पनि शोभा (दीपेन्द्रकी फुपू)ले चिढिँदै भनेकी थिइन्, ‘ भो त्यसको नामै नलिऊ ।’

 

दीपेन्द्रले ड्रग्स सेवन गरेको भन्ने कुरा छ । त्यसको परीक्षण किन गरिएन भन्ने प्रश्न पनि छ । हामी त फिजिसियन हो । परीक्षण उपचार गर्ने काम हाम्रो हो । तर अरु कुराको जाँचबुझमा मेरो भूमिका हुँदैन थियो । शाही सदस्यको पोष्टमार्टम पनि नगर्नू भन्ने आदेश आयो दरबारबाट । 

 

मैले पोष्टमार्टम गर्नु पर्छ भनेर डा. वस्तीलाई भनेँ । तर उहाँले मसँग टर्रो (मेसिनको जस्तो) व्यवहार गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘अहँ, हुँदैन । यो हामीले गर्ने होइन ।’ डा. वस्तीले पोष्टमार्टम गर्ने कुरामा उहाँ सकारात्मक हुनु भएन । मैले ज्ञानेन्द्रलाई पोष्टमार्टम गर्नु राम्रो हुन्छ भनेको थिएँ । तर मान्नु भएन ।

 

दीपेन्द्रको देब्रे कञ्चटबाट पसेको गोली दाहिने कञ्चटबाट निस्केको थियो । उनको ब्रेन डेड जस्तो थियो । युवराज दीपेन्द्रले नरसंहार मच्चाएको होइन भन्ने पक्षबाट हजारौं तर्क दिइन्छ । सरकारी दस्तावेज र घटनामा भएकाहरुले दिएको बयानमा दीपेन्द्र नै हुन खलनायक भन्ने छ । दीपेन्द्रले नरसंहार मच्चाएको अधिकांशले विश्वास गर्दैनन् । मेरै श्रीमतीले पनि गर्दिनन् । 

 

दरबार हत्यकाण्डको एक महिनासम्म घाइतेको उपचारका लागि अस्पतालमा व्यस्त भएँ । जब व्यस्तता सकियो, त्यसपछि म घरमा आएर राजपरिवारका तस्बीहरु हेर्न थालेँ । यति धेरै हेर्न थालेछु कि म डिप्रेसनमा पुगेछु । अनि ती सबै तस्बीरहरुको प्रदर्शन पनि गरेँ । धेरै राम्रो रेस्पोन्स पनि पाएँ ।