बिचार

जब चुलो असुरक्षित हुन्छ, त्यो बेला भाषण फगतः चिराइतो हुन्छ

कतिञ्जेल अमेरिका, भारत र चीनकाे दलाल हुने

शनिबार, ०२ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

जब चुलो असुरक्षित हुन्छ, त्यो बेला भाषण फगतः चिराइतो हुन्छ

काठमाडाैं । एकपटक को ठूलो भन्ने विषयलाई लिएर मानव अंगबीच हानाथाप चल्यो । आँखा बम्कियो– ‘मेरो दृष्टि विना सृष्टि नै निस्सार छ । संसारका सवै सौन्दर्य मभित्र निहित छन् । म नभए मान्छेले छामेर बाँच्नुको विकल्प थिएन् ।’ नाकलाई असह्य भयो । उ भन्न थाल्यो– ‘म भनेको इज्जत हुँ । इज्जतै नभए उज्यालो र सौन्दर्यको के अर्थ ? अनुहारको बीचमा म त्यसै ठडिएर बसेको छैन् ।

 

त्यसैले मेरो मर्यादा कसैले नाघ्ने प्रश्नै उठ्दैन् ।’ यी दुईको दलील सुनेर कान र दाँतको कन्सिरी तात्यो । उनीहरूले आ-आफ्नो महत्वको दम्भ देखाए । यी सबैको माथापच्ची सुनेर मौन बसेको जीब्रोले भित्रभित्रै निर्णय गर्‍याे– ‘को ठूलो रहेछ अब म देखाइदिन्छु ।’ यो निर्णयसँगै उसले खानापिना त के पानीसम्म निल्न पनि नाकाबन्दी लगाइदियो । एकाध दिन त अरू अंग चुरीफुरी गर्दै थिए । तर खाना नै शरीरमा नपुगेपछि उनीहरू लल्याकलुलुक पर्न थाले । सबैको नौ नारी गल्दै गयो । अन्त्यमा जीब्रोलाई नेता मान्ने सहमतिपछि खेल खत्तम भयो । प्रतिस्पर्धामै भाग नलिएको जीब्रो अंगहरूको नेता छानियो । 


यस्तै हानाथापमा रमाउने हाम्रा नेताहरू अग्निपरीक्षामा भने जीब्रोजस्तै गुमनाम पात्रलाई भेटी चढाएर आफ्नो लाचारीपनको परिचय दिने गरेका छन् । लाटाले बाउ घुक्र्याए जस्तो जनता घुक्र्याउने अनि परेका बेला नकचरो भएर क्रान्तिलाई खरानी बनाउने प्रतिस्पर्धा पुस्तौनी नासो बन्दै आएको छ । उचाई बढाउने भाषणले होइन, कर्मले हो । फूल र काँडा एकैदिन जन्मन्छन् तर तिनीहररूले पाउने मर्यादा फरक-फरक हुन्छ ।

 

आर्थिक समृद्धिको विगुल फुकिरहँदा जनतासँग प्रत्यक्ष जोडिएका उपभोगीय सामानको मूल्यले आकास छोएको छ । मध्य बर्खामा किसानले समयमा मलबीउ पाएका छैनन् । भारतसँगको आर्थिक निर्भरता सतप्रतिशतको लाईनमा पुग्न लागिसक्यो । जब चुलो असुरक्षित हुन्छ , त्यो बेला भाषण फगतः चिराइतो हुन्छ । 

 

भोका नाङ्गा जनतालाई एकसरो लुगा र एकपेट रोटी दिन असफल हाम्रा नेतारू एकाविहानै टीभीमा रामदेवले दैनिक लाउने भुँडी पुराणमा बाल्कोनीको ग्राहक हुन्छन् । जनताको नाङ्गो आङ टाल्ने भन्दा उनीहरूलाई रामदेवको कोर्स छुट्ला कि भन्ने चिन्ताले खग्रास बनाउने गरेको छ । अब त झन् आदेशको विर्कोले विवेकको भाँडो बन्द गर्नेहरूको लाममाथि लाम थपिँदा यस्ता कर्म स्वाभाविक बन्दै गएका छन् ।

 

नेपाली नागरिक भएको भन्दा रासन कार्डसँग भेटघाट गर्न नपाएकोमा छट्पटिनेहरूको संख्या बढ्दो छ । हिन्दी बोल्ने देउता पूजा गर्नु परेपछि बाँकी लक्ष्मणरेखा किन कोर्नु गर्‍याे भन्ने कुतर्क गर्नेदेखि राष्ट्रियताका नाममा भारतलाई गाली गर्न आयोजित कार्यक्रममा त्यहीँ बनेको धूप सल्काएपछि बल्ल उद्देश्य तुहिएको चाल पाउने कथित बुद्धिजीवीहरूको पनि यहाँ खाँचो छैन् ।

 

दलाई लामा भेट्न छाती फुलाएर भारत पुग्ने अनि तिनै लामाको सी ग्रेडका कार्यकर्तामाथि सुराकी गरेर हातमुखको जोहो गर्ने कपुतहरू नेपाल आमाकै सन्तान भनेर छातीको आयतन बढाउँदै आएका छन् । पहिले-पहिले ऋणले पोल्थ्यो तर अहिले ऋणले टुप्पीसम्म छोपिएकाहरू समाज सुधारक भएका छन् । करोडको ऋणीलाई अरब दिन धक नमान्ने, अरब खाएकालाई खरब र खरब पचाएकालाई देशै जिम्मा लगाउने पदचापमा देशका संयन्त्र अघि बढिरहेका छन् । 

 

बीपी कोइरालाको जन्मजयन्ती निकट आउँदैछ । कांग्रेसजनलाई कतिको थाहा छ ? अदालतलाई दिएको बयानमा बीपी लोभ, लालच र त्रास नमानी तात्कालिन परिस्थितिको मूल्यांकन यसरी गर्छन– ‘नेपालमा कस्तो स्थिति छ भने, को देशभक्त नेपाली हो ? त्यहाँ कोही हिन्दुस्तानवादी छन, कोही चीनवादी होलान, कोही अरूवादी । म स्वदेश फर्कने कुरामा चीनवादी खुशी छन् रे । भारतवादी खुशी छैनन् रे । एउटा चीनवादीले त मसित भने– भारतको विरोधमा बोल्छौ भने हामीहरू सहयोग गर्छौं ।

 

भारतको सम्बन्धमा तटस्थ रहन्छौँ भने हामी पनि तटस्थ रहन्छौं । र, भारतको समर्थन गर्छौ भने हामीहरू विरोध गर्छौं । अर्थात, उनीहरू म स्वदेश जाने कुरालाई नेपालको सम्बन्धमा विचार गर्दैनन् । चीन भारतका बीचमा मेरो कस्तो भूमिका हुन्छ, त्यो सोच्छन् । एउटा राजावादीले त के सम्म भनेछ भने भारतलाई गाली गर्छ भने हामी उ स्वदेश आउने कुराको समर्थन गर्छौं, होइन भने विरोध गर्छौं । मानौं, नेपालीहरू अमेरिका वा चीन वा भारतको दलालजस्तो भइरहेका छन् ।’ 


ऋग्वेद सुक्त ७२-२ मा भनिएको छ– ‘असत्यमा सत्य स्थापित छ ।’ कहिल्यै ननासिने शास्त्रीय आत्मालाई विज्ञानले इलेक्ट्रोन, प्रोटोन र न्युट्रनको नाम दिएको छ । इलेक्ट्रोन कहिल्यै नास हुँदैन । आत्माजस्तै इलेक्ट्रोन शाश्वत एवं पुरातन छन् । आत्मा र परमात्माबीच घनिष्ट सम्बन्ध हुनाले इलेक्ट्रोनकै माध्यमबाट वैज्ञानिक जगत पनि परमात्मासम्म पुग्न सक्ने आशा गर्दछ ।

 

मानिसको आहार विहार पनि तीन प्रकारको हुन्छ भन्दै गीताले आहारको प्रभाव मानिसको मनमस्तिष्कमा पर्ने विश्वास प्रकट गरेको छ । आहारलाई सात्विक, राजसिक र तामसिक भनेर तीन श्रेणीमा विभिाजन गरिएको छ । सात्विक आहारबाट मानिसमा सद्गुणको वृद्धि हुने, तामसिक आहारबाट मानिसमा तमोगुण बढेर दुष्कर्म्तिर प्रवृत्त हुने जीव हत्या गरेर पाइने मासुलाई तामस आहार भनिएको छ । यस्तो आहारबाट मानिसमा आसुरी गुण उत्पन्न भई यसले मानिसलाई निर्दयी, निष्ठुर बनाई दुष्कर्मतिर धकेल्छ । 

 

पत्याउनुहुन्छ ? मानिसको शरीरमा पानीबाहेक २२ सय सलाईको काँटी बनाउन पुग्ने फस्फोरस, सल्फर र २५ मिमि नङ तयार पार्न पुग्ने आइरन र ३० ग्राम अन्य धातु हुन्छ । मानिसको फोक्सोमा तीन क्यापिलरिज (अत्यन्तै साना रक्तनली) हुन्छन् , जसलाई फैल्याउँदा त्यसको लम्बाई २४ सय किलोमिटर हुन्छ । तर के गर्नु शरीरमा आगो छ भनेर ताप्न त नमिल्ने रहेछ ।

 

मुलुक अन्धकारको सुररूङमा पसेको छ भनेर त्यसलाई बिजुलीको तार बनाउन नसकिने रहेछ । नीतिले भन्छ– ‘जो राजर्षि बनी देशको सेवा गर्छ उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहररू आफूमा सुरक्षित राख्नु आवश्यक छ ।’ प्रकृतिले मानिसको शरीरलाई यस्तो चमत्कारयुक्त बनाएको छ, जसका अगाडि संसारका सबै वस्तु रंगहीन ठहर्छन् । 

 

चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन्– ‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन् । जब कि युगको अन्त्यमा सुमेरू पर्वतले पनि आफ्नो ठाउँ छोड्छ । कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ । तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन् ।’ 


राजधानीको पानीले कसलाई कहाँ गर्‍यायो थाहा छैन् । तर धरहराभन्दा अग्लो घर नबनेपछि त्यही धरहरा निर्विवाद अग्लो हुने रहेछ । तीनसय वर्षअघि काठमाडौंको मनोविज्ञानलाई अथ्र्याउँदै पृथ्वीनारायण शाहले त्यतिबेलै भनेका थिए– ‘यो तीन सहर भन्याकोचिस्व ढुंगो रहेछ, षेलषाल मात्रै ठूलो रहेछ, कुपको पानी षान्याछेउ बुधि पनि हुदैन । सुरो पनि हुदैन, षेलखाल मात्र रहेछ ।

 

मेरो मनसुबा त दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको गुरू प्रोहित भैयाद भारादार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला र यी तिन सहरमा ता दरबारबाट स्वषसयल्लाई मात्रै जाला भन्या यस्तो अविलाष थियो ।’ नेपालको विकास किन भएन ? धेरैका धेरै तर्क होलान । तर मेरो ब्रम्हले भन्छ– देशको चिन्ता गर्दागर्दै आफ्नो कर्तव्य विर्सिनेहरूको लाभाले देश लाभामा प्रवेश गरेको हो ।

 

आफूबाहेक सबलाई फटाहामा करार गर्नेहरू जमिनमाथिको एक्लो पाहुना बन्दै गएका छन् । सालको पात बेरेर चिलिम तान्नेदेखि भट्टी त के तारे होटलमा पेग लगाउनेको गफमा पनि तात्विक अन्तर पाइँदैन् । अब त हुँदा हुँदा पढे लेखेका मान्छेलाई नागरिक शिक्षा दिनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । उल्टो यात्राको यो भन्दा सकल प्रमाण अरू के हुनसक्छ ?


[email protected]