बिचार

खुसी ल्याउन सक्ने शिक्षा

प्रस्तुतिः नरेन्द्रकुमार नगरकोटी

शनिबार, ०२ असार २०७५ गते प्रकाशित
- नेपाल आज

खुसी ल्याउन सक्ने शिक्षा

 

म शिक्षाविद् होइन । शिक्षाकर्मी पनि परिनँ । म एक कलाकार हुँ । हुँ एक कलाकर्मी, एक सिर्जनशील व्यक्ति । त्यसैले शिक्षाका बारेमा मभन्दा धेरै जानकार यस क्षेत्रमा लागेकाहरू नै हुनुहुन्छ । यसमा म विश्वस्त छु । वर्षौंदेखि शिक्षाको गाडी हाँकिरहनु भएका व्यक्तित्वहरू हाम्रा माझमा हुनुहुन्छ । त्यसैले शिक्षाको बारेमा बोल्नु धृष्टता हुनसक्छ । तर, पनि पछिल्लो केही वर्षयता मलाई अनुभूति भएको कुरा सुनाउन चाहेको छु ।

 

मैले शैक्षिक ‘इस्यू’ मा फिल्मकर्म गरेका कारण पनि यस विषयमा म केही बोल्न सक्ने भएको छु । मैले काम गरेको एउटा फिल्म थियो, ‘तारे जमिन पर’ र अर्को ‘थ्री इडियट्स्’ । यी दुबै फिल्म शैक्षिक विषयमा बनेका हुन् । यसै सिलसिलामा मैले गहिरो रिसर्च गरेँ । शिक्षासम्बन्धी विषयमा । शैक्षिक विषयका केही निष्कर्ष मेरा आँखाअगाडि आए । अभिभावक, शिक्षक, शिक्षाकर्मी, शिक्षाविद्, बालबालिका सबैसामु मेरा विचार सुनाउन चाहन्छु । मेरा निष्कर्ष सेयर गर्न चाहन्छु । मेरा कुरा सही नलाग्न सक्छन् । असहमतिका स्वर निस्कन पनि सक्छन् । यद्यपि म आफ्ना कुरा बताउछु । किनभने, मेरा कुराहरूको नजिकको सम्बन्ध शिक्षासँग छ ।

 

पहिलो कुरा, हरेक बालक आफैंमा विशेष हुन्छ । बालकको वैयक्तिक स्वभाव हुन्छ । रुचि हुन्छ । क्षमता हुन्छ । यो कुरा मैले होइन मेरो रिसर्चले पुष्टि गरेको हो । हामीसँग नि क्षमता छ । केही न केही कमजोरी छ । मेरै पनि केही कमजोरी छन् । हरेक बालकको पनि प्रतिभा हुन्छ । कमजोरी हुन्छ । यो प्राकृतिक गुण हो । हामी शिक्षा सरोकारवालाले बालकको प्रतिभा पहिचान गर्न सक्नुपर्ने हो । शिक्षक, शिक्षाकर्मी, नीतिनिर्माता, अभिभावक, अग्रज सबैले सघाउनुपर्ने हो । उसलाई मद्दत गर्नुपर्ने हो । बालकको हृदयले के चाहन्छ ? उसलाई कुन कुराले खुसी मिल्छ ? यो कुराको पहिचान हामीले गर्नुपर्ने हो । कमजोरी भएमा त्यसबाट उम्किन टेवा दिनुपर्ने हो । त्यसो हुन सकिरहेको छ त ?

 

अक्सर शैक्षिक संस्थाहरूमा भन्ने गरिन्छ, हाम्रा विद्यार्थी सबै उत्तीर्ण भए । हामी शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल । यति जनाले यो ग्रेड ल्याए । यति अंक ल्याए । यस्तैयस्तै । स्कूलहरूले त यसैलाई आधार बनाएर विज्ञापन पनि गर्छन् । यहाँनेर मेरो प्रश्न यो हो कि, उत्तीर्ण भएका हाम्रा कति बालबालिका खुसी छन् ? मेरो महत्वपूर्ण सवाल यही हो । पढ्ने लेख्ने काम त सिकिहालिन्छ । यो त्यति ठूलो पहाड पनि होइन जसलाई उक्लिन त्यस्तो कठिनाइ परोस् । केही कुरा सिक्नु जरुरी भयो भने कुनै न कुनै उपाय लगाएर मानिसले सिकिछाड्छ । म पनि त्यस्तै गर्छु । खुसी हुने कुरा छ, ‘अब म खुसी हुन्छु’ भनेर हुन सकिन्न । 

 

‘थ्री इडियट्स्’ को परीक्षण प्रदर्शन गरेका थियौं । कारखानामा काम गर्ने २५–३० जना मजदुर आएका थिए । उनीहरूले मलाई प्रश्न गरे, ‘थ्री इडियट्स्’ फिल्म हेर्नुभयो ? भनेर । एक जनाले एउटा यस्तो कमालको प्रश्न गरे, ‘फिल्मको अन्त्यमा तपाईं ¥यान्चो त हुनुहुन्थेन नै, प्रमाणपत्र त मिलेन नै, त्यो त जावेदलाई मिल्यो । तर, त्यस्तो ठूलो वैज्ञानिक चाहिँ कसरी बन्नुभयो ? त्यत्ति धेरै पेटेन्ट, झन्डै चार सय । जापानीहरू तपाईंको पछि लागेका छन् । बिनाप्रमाणपत्र कसरी त्यस्तो चर्चित वैज्ञानिक बन्न सक्नुभयो ?’ यो हो एक अहं सवाल । हृदय छुने विषय । मैले ती प्रश्नकर्ता मजदुरलाई दुई वटा प्रश्न सोधेर जवाफ दिएँ । एक, ‘तपाईंलाई के लाग्छ म राम्रो कलाकार हुँ ?’ उनले भने, ‘हो । देशभर तपाईंलाई सबैले राम्रो कलाकार मान्छन् ।’ मैले उनलाई भनेँ, ‘मसँग कुनै प्रमाणपत्र छैन जसले म राम्रो कलाकार भनेर पुष्टि गरोस् । मसँग त्यस्तो कुनै कागज नै छैन ।’ अनि अर्को प्रश्न गरेँ, ‘मैले सुनेको छु कि तपाईं एक कुशल ‘कटर’ हुनुहुन्छ । तपाईंको खुब इज्जत पनि छ । तपाईंसँग कुनै प्रमाणपत्र वा केही कागज छ जसले यस कुरालाई प्रष्ट पारोस् ?’ उनले भने ‘छैन ।’ यसरी उनले जवाफ पाए । 

 

जब म परीक्षामा सामेल हुन्छु, रटेका उत्तर लेखेर परीक्षामा उत्तीर्ण हुन्छु । अनि एउटा कागज हासिल गर्छु, मार्कसिट या ग्रेडसिट । अनि त्यो कागजले भन्छ कि म पढालेखा हुँ । भलै स्वयंलाई नै थाहा नहोस् कि आफू के जान्दछु, पढालेखा हुँ कि होइन । मैले प्राप्त गरेको ज्ञान र कागजको सम्बन्ध प्रस्ट बुझिन्न । सबैलाई थाहै छ यो कुरा ।

 

शिक्षा अंकले मापन हुन्न । प्रमाणपत्रको दायराभन्दा धेरै फराकिलो छ शिक्षाको आयाम । ग्रेडभन्दा धेरै पर छ यसको मूल्य । शिक्षाको सार्थकता जीवनसँग छ । शिक्षा त्यही हो जुन हामी सिक्छौं । जे हामी हरेक क्षण सिकिरहेका हुन्छौं । जीवनमा उपयोग हुन नसक्ने कुरा पढेर समय बर्बाद गर्नु शिक्षा होइन । मेरो यो इच्छा छ कि शिक्षालाई हामी अब फराकिलो नजरले हेर्न सकौं । बालकबालिकालाई यस्तो शिक्षा दिन सकौं जुन जीवनका लागि काम लागोस् । र हामी खुसीसाथ शिक्षाका काम गर्न सकौं ।

 

शिक्षामा ज्ञानको मात्र कुरा हुँदैन । शिक्षामा अर्को कुरा हुन्छ त्यो हो यसले मानव बन्ने मार्गमा डो¥याउँछ । बालबालिकाको शारीरिक, मानसिक, सामाजिक संवेगात्मक र बौद्धिक विकासका लागि शिक्षा नै मूल हो । जिन्दगीमा अघि बढ्दै गर्दा एउटा असल नागरिक, एउटा असल मानव बन्न शिक्षाले भूमिका खेल्छ । शिक्षाको भूमिका हुन्छ, ऊ आत्मनिर्भर बन्न सकोस् । इज्जतको जिन्दगी बाँच्न सकोस् र दोस्रोको बारेमा ध्यान दिन सकोस् । अरु कसैको मुहारमा आउने मुस्कानको कारण बन्न सकोस् । सहयोगी भावनाले ओतप्रोत हुन सकोस् । यही नै हो बालबालिकामा हामीले गराउनुपर्ने विकास । मेरो अनुभूति यही हो । 

 

म जहाँ पनि देख्छु (म सानो छँदाको मेरो अनुभूति नि त्यस्तै हो), जब बालक स्कुलबाट घर फर्किन्छ हामीले राख्ने चासो हुन्छ कति अंक ल्याइस् भन्ने । हामी सोध्छौं, जाँचमा के भयो ? कुन ग्रेड आयो ? अझ भन्ने गरिन्छ, फस्र्ट भइस् कि सेकेन्ड ? फस्र्ट भए त ठीकै छ, केही गरी सेकेन्ड भयो भने हामी कराइहाल्छौं । फस्र्ट हुनुपर्छ नि भनेर । सबैजना फस्र्ट हुन त मिल्दैन । यदि दसौं भयो भने त हालत खराब हुने भइहाल्यो । 

 

हामीलाई हाम्रा छोराछोरी फस्र्ट बनाउनु छ । स्कुलमा हुने चम्चा दौडमा पनि हामी चिच्याइरहेका हुन्छौं, ‘छोरा दौड, अझ दौड, फस्र्ट हुनुपर्छ ।’ अभिभावकले जहिल्यै चासो राख्ने हुँदा बालकलाई नि लाग्न थाल्छ कि यो फस्र्ट हुनु एकदम जरुरी छ । प्रतिस्पर्धामा भाग लिनु, अब्बल ठहरिनु, जित्नु, अरूभन्दा अगाडि दौडनु जीवनको अपरिहार्य पक्ष हो भन्ने कुरा बालकले आत्मसात् गर्दैजान्छ । शिक्षकले पनि यही सवाल उठाउँछन् कि जित्नू अरूलाई । अनि अन्ततः हुन्छ के भने जब कोही जवान हुन्छ, ऊ स्वार्थी स्वभावको हुन्छ । ऊ सोच्छ त केवल आफ्नै बारेमा । अरूका बारेमा जिम्मेवार बनेर सोच्न हामीले कहिल्यै सिकाएनौं । उसलाई स्वार्थी बनाएको हामीले नै हो । हाम्रो पद्धतिले हो । बचपनदेखि हामीले पोख्त बनाएका हुन्छौं कि ‘तिमी पहिलो हुनू, बाँकी अरुलाई सम्झिनु जरुरी छैन ।’ यसरी एक जवान सिर्फ सफल बन्न चाहन्छ जसरी पनि । उसलाई अरूको कुनै चासो हुन्न । 
मेरो आत्मा चाहन्छ कि आम अभिभावक, अग्रज र भोलिका अभिभावकले पनि बालबालिकालाई हरेक दिन यस्तो प्रश्न गरुन् कि ‘बाबु–नानी तिमीले  ।

 

आज कसलाई के सहयोग ग¥यौं ?’ ‘कसलाई खुसी बनायांै ?’ ‘कसरी अरूको मुहारमा मुस्कान ल्यायौं ?’ यो नसोधौं कि ‘पढाइ कस्तो भयो ?’ ‘शिक्षक आए कि आएनन् ?’ ‘कुन ग्रेड आयो ?’ यस्ता प्रश्न नसोधौं । अनि उसलाई लाग्नेछ कि जरुरी त अरूलाई सहयोग गर्नु रहेछ । अरुको मुहारमा मुस्कान ल्याउनु रहेछ । अभिभावकलाई महत्वपूर्ण लागेको विषयले मनोवैज्ञानिक रूपमा प्रभाव पारेकै हुन्छ । जुन कुरा सोच्दै ऊ हुर्किन्छ त्यसले दृष्टिकोण र व्यवहार निर्माणमा भूमिका निर्वाह गर्छ । सकारात्मक सोचसहितको हुर्काइ हुँदा सारा बालक नौजवान भएको दिन हाम्रो समाज नै बदलिन्छ किनकि ती नौजवान अरूको खुसीका लागि पनि सकारात्मक हुनेछन् । 

 

मैले मेरो स्कुल जीवनमा पनि नदेखेको र अनुभूति गर्न नपाएको यस्तो शैक्षिक पद्धति म देख्न चाहन्छु कि बालबालिकाको सिकाइमा खुसीखुसी सहजीकरण गरौं । खुसी हुने र अरूको मुहारमा खुसी ल्याउने कर्ममा अघि बढौं । बालबालिकाको जिन्दगीसँगै हाम्रो देश पनि बदलिनेछ । 
                                                                       