कला साहित्य

भिडियो

कभर स्टोरी

टुहुरा बालबालिकाको लागि १६ वर्षे किशोरीको ‘पेन्टिङ क्रेज’ (भिडियोसहित)

शनिबार, ०२ असार २०७५ गते प्रकाशित
- समर्पण श्री

टुहुरा बालबालिकाको लागि १६ वर्षे किशोरीको ‘पेन्टिङ क्रेज’ (भिडियोसहित)

समर्पण श्री

मानिसलाई अमर बनाउने भनेको पृथक् कलाले नै हो । प्रतिभाले मानिसलाई मानिसकै माझ लोकप्रिय बनाउन सक्छ । उसो त प्रतिभाशाली मानिस इतिहासकै अमूल्य गहना पनि हो । त्यही गहना इतिहासमा सजिनु पहिले कस्तो हुन्छ ? सायद एउटा भूगोलमा साँघुरिएको हुन्छ । आफ्नै सिमानाबाट नयाँ बाटोहरूको खोजीमा हिँडेको हुन्छ । वा आफूलाई बलियो धरातलमा उभ्याउन खोजिरहेको हुन्छ ।

 

त्यही बीचमा उसले अनेकौँ व्यवधानहरू खेप्नुपर्छ । अनेकौँ संघर्षहरू भोग्नुपर्छ । यस्तै व्यवधान र  संघर्षहरूबीच आफूलाई उभ्याउन खोजिरहेकी छन् १६ वर्षे किशोरी ज्वाला ढकालले ।  आमा र दिदीसँग काठमाडौं मैतीदेवी बस्दै आएकी ज्वालाको बुवाभने विदेशी भूमिका छन् । भर्खरै एसइर्ईको परीक्षा दिएर बसेकी उनी निकै व्यस्त छन् ।


फुर्सदमा पनि बेफुर्सदी हुदैँ उनी नयाँ आर्टहरूको कल्पनामा विभिन्न स्केच कोर्दै गरेकी हुन्छिन् । पंक्तिकार जाँदा उनी आफ्नै आर्ट ग्यालरीमा थिइन् ।  जहाँ अनेकन आर्टहरूमाझ उनी रमाउँदै बसिरहेझैँ देखिन्थिन् । त्यहाँ अनौठो समाज थियो, प्रकृति थियो, ईश्वर थियो, प्रेम थियो र संवेदना थियो । यी सबैको बीचमा थिइन् ज्वाला, जो नयाँ स्केच कोर्नमा लिप्त थिइन् । यही बखत उनीसँग अनौपचारिक कुराकानी भए ।  कुराकानीबाट  बुझ्न सकिन्थ्यो कि सानै उमेरमा उनको सोचाइ भने परिपक्व छ । 

 


आँखा उस्तै, तर पृथक् दृष्टि
 

ज्वाला तिमीमा यतिको परिपक्वता कसरी आयो ? जवाफमा  हाँसोसँगै उनले भनिन्, ‘खोई मलाई थाहा छैन । सायद परिस्थितिले होला म परिपक्व भएको ।’ उनी सानैदेखि परिवारको समस्याबारे बुझ्थिन् । अभावमा पनि कहिल्यै आमाबुवालाई गुनासो नगर्ने उनको स्वभाव थियो । आफूमा आएको व्यावहारिक परिवर्तनलाई आत्मसात् गर्दै उनी भन्छिन्, ‘सायद म यस्तो हुने थिइँन् होला । तर, एउटा वातावरण हुन्छ जसले मानिसलाई सानै उमेरमा व्यावहारिक बनाउँछ ।

 

सानैमा  परिवारमा आएका चुनौतीहरूले मलाई ती समस्याहरूसँग जुध्न अभ्यस्त बनाइदियो ।’ उसो त चित्रप्रतिको मोहले समाज र प्रकृति बुझ्न उनलाई खासै कठिन भएन । अझ समाजलाई हेर्ने उनको दृष्टिकोण फरक थियो । समाज र प्रकृति नै उनको कलाको स्रोत हो । चित्रमा स्वाभाविकै यी पक्षहरू आइदिन्छन् नै । यसमा उनी थप्दै भन्छिन्, ‘हामीलाई समाजले धेरै कुराहरू सिकाएको हुन्छ ।

 

मैले बनाएका चित्रहरूमा समाजको वास्तविक र लुकेको अनुहार देखिएको हुन्छ । मेरो कलाको स्रोत भनेको नै समाज र प्रकृति हो । यहीभित्र म डुब्ने गर्छु, हराउने गर्छु ।’ उनले प्रकृतिमा त्यस्ता कुराहरू नियाल्छिन् कि जुन अरूको आँखाले नियाल्न सकेका हुन्नन् । प्रसंगलाई जोड्दै उनी भन्छिन्, ‘समाज र प्रकृतिमा अरूले जे देख्छन्, म त्योभन्दा बढी नै देख्छु । लाग्छ कि म मा त्यस्तो कल्पना शक्ति धेरै छ ।’ उनले भने झैँ यो उनको मौलिक गुण नै हो । सायद यही गुणले गर्दा नै हुनसक्छ ज्वालालाई सानै उमेरमा परिपक्व बनाएको । 


समाज सेवाको भावनाले एकल प्रदर्शनी

गत वैशाख २२ गतेदेखि २९ गतेसम्म नेपाल कला परिषद्मा एकल चित्र प्रदर्शनी भयो ।  यति छिट्टै चित्र प्रदर्शनी गर्ने उनको पहिला कुनै योजना थिएन । कसरी बन्यो योजना भन्ने प्रश्नमा उनले कारण खोलिन् ‘म फुर्सदको समयमा प्रयास नेपालमा जान्थे । जहाँ अनाथ तथा टुहुरा बालबालिका छन् । त्यहाँ म चित्र बनाउन सिकाउँथे । एकदम रमाइलो हुन्थ्यो ।

 

तर, त्यहाँ बालबालिकाको लागि कम्प्युटर थिएन । अहिलेको सूचना प्रविधिको समयमा कम्प्युटरबाट वञ्चित हुनु भनेको दुःखको कुरा हो । त्यसपछि मलाई लाग्यो यहाँको भाइ बहिनीहरूका लागि केही सहयोग गर्नुपर्छ । सहयोग गर्न मसँग त्यस्तो केही थिएन । त्यसैले मसँग भएको कलाबाट नै सहयोग गर्न सक्छु भन्ने भावना जाग्यो । मैले एउटा सपना देखँे कि आर्ट प्रदर्शन गरेर बेच्छु र बालबालिकाका लागि ८–९ वटा ल्यापटप किनेर सहयोग गर्छु ।’ यही सपनालाई साकार गर्न उनले आर्ट प्रदर्शनी आयोजना गरिन् ।  

 

प्रदर्शनीमा १ सय १० वटा चित्र राखिएका थिए । प्रकृति र समाजका अनेकन विम्बहरूले चित्रलाई सजीव तुल्याएका थिए । चित्रमा देखिएको सजीवपना नै चित्रकारको खुवी थियो । यही खुवीलाई कला पारखीहरूले पनि निकै तारिफ गरे । एसइई भन्दाअघि उनीसँग राम्रा चित्रहरू त थिए । जब परीक्षा सकिएर बिदा भयो तब उनले ७० वटा चित्रहरू बनाइन् ।

 

 कार्यक्रम भव्य रूपमा आयोजना भयो, उनले सोचेजस्तो चित्र भने बिक्री हुन सकेन । डेढ लाख जतिको मात्र बिक्री भयो । उनले निराश हुँदै भनिन्, ‘सोचेजस्तो आर्ट बिक्री हुन सकेन । सायद जो–जो जानुभयो किन्ने उद्देश्यले कमै जानुभयो ।’ तर, पनि उनको उत्साहमा भने कमी आएको छैन । कमैले किने पनि चित्र बुझ्नेहरूले प्रोत्साहन गरेकोमा उनी हर्षित छन् । 

 

उनी अब नयाँ योजनामा छन् । बालबालिकाका लागि ल्यापटप किन्ने सपना अझै मरेको छैन । यसकै लागि उनले चित्र बिक्री गर्ने अर्को उपाय निकालिन् । आफ्नो उपायबारे उत्साहित हुँदै भनिन्, ‘एक्जिबिसनपछि धेरै जनाहरूबाट मैले विभिन्न आइडियाहरू बटुलेँ । प्रदर्शनीमा सोचेजस्तो चित्र बिक्री नभए पनि म निराश भएकी छैन । सपना पनि मरेको छैन । नयाँ योजनाको साथ अगाडि बढ्ने सोचाइमा छु । मैले सामाजिक कामका लागि नै यो कार्य गरेकी हुँ । अब स्कुल स्कुलमा गएर आर्टहरू बिक्री गर्ने सोचमा छु ।’



 

प्रेरणाको स्रोत दिदी  
ज्वालाले कक्षा १ मा हुँदा चित्रसम्बन्धी तालिम लिएकी थिइन् । उनको बुवा पनि राम्रा स्केच बनाउँथे । तर, आर्टिस्ट भने थिएनन् । दिदी क्रान्ति पनि राम्रा चित्र बनाउन माहिर थिइन् । दिदीले बनाएको चित्र देख्दा उनलाई चित्र बनाउन खुबै रहर लाग्थ्यो । त्यसपछि ४÷५ वर्षको उमेरदेखि नै उनी कलम र कुचीसँग खेल्न थालिन् । ‘दिदीकै कारण मैले चित्र बनाउन सकेँ’, उनले भनिन्, ‘त्यसैले मलाई लाग्छ दिदीभन्दा ठूलो म कहिल्यै हुन सक्दिनँ ।’
 

ज्वालाको दिदी क्रान्ति पनि उत्तिकै प्रतिभाशाली । बाँसुरी बजाउन, कविता लेख्न र स्केचहरू कोर्न  उनी निकै माहिर छन् । ज्वाला भन्छिन्, ‘दिदीको अघि त म अझै अधुरो छु झैँ लाग्छ ।’ दुवै दिदीबहिनीसँग कलाकोे सौन्दर्य लुकेको छ । क्रान्तिले चित्र प्रकृतिमा देखेका कुरा जस्ताको त्यस्तै उतार्न सक्छिन् । तर, ज्वालाको चित्रभने कल्पनाको असीम गहिराइमा पुगेपछि मात्र तयार हुन्छन् । 


साहित्यमा रुचि

ज्वालाको सानैदेखि अध्ययनमा निकै रुचि थियो । उनले थुप्रै स्वदेशी र विदेशी पुस्तकहरू पढिसकेकी छन् । अध्ययनको प्रसंग जोडेपछि भाबुक हुँदै ज्वालाले भनिन्, ‘म कक्षा ५ मा हुँदा दिदी होस्टल जानुभयो, त्यसपछि एक्लो हुन थालेँ । एक्लो महसुस भएपछि पढ्ने बानी बस्यो ।’

 

उनी अहिले पनि नयाँ नयाँ पुस्तकहरू पढिरहेकी हुन्छिन् । त्यसैले उनले स्कुल पढ्दा चित्र मात्र बनाइनन् पुस्तक पनि लेखिन् । ‘द नेचर’ नामको अंग्रेजी पुस्तक ज्वालाले कक्षा ३ मै हुँदा लेखेकी हुन् । अहिले उनी उपन्यास पनि लेखिरहेकी छन् । त्यसका लागि उनी उपयुक्त पात्रको खोजीमा पनि छन् । निकट भविष्यमै आफ्नो उपन्यास पनि तयार गर्ने योजना उनले सुनाइन् । 


डाक्टर बन्ने सपना
‘मेरो डाक्टर बन्ने ठूलो सपना छ ।’ उनको यो सपना सुन्दा सबैलाई अचम्म लाग्नसक्छ । दुवै क्षेत्रलाई कसरी एकसाथ लैजान्छिन् भनेर ? तर, यो कुरामा उनी स्पष्ट छन् ‘इच्छा शक्ति भयो भने अवश्य सकिन्छ ।’ उनी दुविधामा छैनन । चित्रकलाबाट आम्दानी गर्ने उनको मनसाय छ्रैन । बरु समाजसेवा गर्ने उनको अभीष्ट छ ।

 

डाक्टर बनेर मानिसको सेवा गर्ने रहर पनि छ । यी दुवैलाई सँगै अघि बढाउन उनी प्रयत्नशील छन् । एसइई को रिजल्ट नजिक आउँदै छ । रिजल्टमा ए प्लस आउने कुरामा उनी ढुक्क छन् । रिजल्ट आएपछि साइन्स पढ्ने उनको योजना छ । साथै आर्टसम्बन्धी नयाँ पुस्तकहरू पढ्दै पनि छन् । 

 

यो विचारले उनलाई कहिल्यैपछि पारेको छैन । उनको आत्मविश्वासले आजसम्म उनलाई सफल बनाएको छ । कतिपयलाई भविष्यमा के बन्ने भन्ने कुराले अल्मल्याएको हुनसक्छ । वा त कतिलाई के बन्छु बन्ने थाह नै नहुन सक्छ । तर, उनी भने कतिपनि बिचलित छैनन ।  यही कारण नै भन्न सकिन्छ कि उनको भविष्य साँच्चै नै उज्यालो छ ।