प्रवास

प्रवासी नेपालीहरुका लागि छिट्टै, बेग्लै कानुन बन्छः मन्त्री अधिकारी  

शनिबार, ०२ असार २०७५ गते प्रकाशित
- नेपाल आज

प्रवासी नेपालीहरुका लागि छिट्टै, बेग्लै कानुन बन्छः मन्त्री अधिकारी  

क्यानडा (टोरोन्टो) ।  संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रबीन्द्र अधिकारीले गैरआवसीय नेपालीहरुको अधिकार सुनिश्चित गर्न कानुन ल्याउने तयारी भएको जानकारी दिएका छन् । 

 

प्रवासी नेपालीहरुका लागि जारी हुने नयाँ कानुनमा राजनीतिकबाहेक अन्य अधिकारको रक्षा गरिने मन्त्री अधिकारीले आश्वासन दिए । एनआरएन क्यानडा र एनसीसीले टोरन्टोमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले यस्तो जानकारी दिएका हुन् । 

 


नेपालमा विदेशी  लगानीकर्ताले राम्रो मुनाफा आर्जन गरिरहेले गैरआवसीय नेपालीहरुले पनि त्यस्तो अवसरलाई सदुपयोग गर्न मन्त्री अधिकारीले आग्रह गरे ।  लगानीको सुरक्षा र मुनाफाको प्रत्याभूत नेपाल सरकारले गर्ने भएकोले ढूक्क भएर लगानी गर्न मन्त्री अधिकारीले अनुरोध गरे । 

क्यानडा सरकारको निमन्त्रणमा टोरोन्टो आइपुगेका उनले गैरआवसीय नेपालीहरुका लागि सोही बमोजिमको नागरिकता दिने तयारी भइरहेको उल्लेख गरे । उनले ‘गैरआवसीय नागरिकता’को अवधारणाबारे पनि टोरोन्टोमा रहेका नेपालीहरुलाई जानकारी दिए । 

 

एनआरएन क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले र महासचिव चिरिञ्जीवी घिमिरेले नेपालमा रहेको सम्पत्ति किनबेच गर्न, लगानी गर्न, नागरिकता सम्बन्धि अधिकार सम्बोधन गर्न माग गर्दै मन्त्री रवीन्द्र अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका थिए । 

 

कार्यक्रममा अध्यक्ष काफ्लेले प्रवासी नेपालीहरुले नेपालका लागि पुर्याएको योगदानको कदर हुनुपर्ने विचार राखे । क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेल, एनआरएन क्यानडाका महासचिव चिरिन्जीवी घिमिरे, रमेश थापा, एनसीसी अध्यक्ष बिदुर केसीले नेपालीहरु प्रगतिकै लागि विदेशिएको धारणा राखे । 

पछिल्लो समय टोरोन्टोका नेपालीहरुमा लोकप्रिय रहेको मादलको तालले कार्यक्रमलाई रोमाञ्चक बनाएको थियो ।