अन्तरवार्ता

स्ट्रेट फरवार्ड

कभर स्टोरी

युद्धमा जितेपछि तिब्बतमा नेपाली सेनाले उत्पात मच्चायो (भिडियोसहित)

बिहिबार, ३१ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

युद्धमा जितेपछि तिब्बतमा नेपाली सेनाले उत्पात मच्चायो (भिडियोसहित)

काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथि डा. प्रेमसिंह बस्न्यातसँग यसपटक हामीले तिब्बतसँगको सम्बन्धबारे कुराकानी गरेका छौं । पहिले तिब्बत स्वतन्त्र देश थियो । तर त्यो देशले नेपाललाई बेलाबेला दुःख दिने गथ्र्यो । नेपालले पनि तिब्बतलाई तह लगाउन पटकपटक आक्रमण गरेको इतिहास छ । त्यो इतिहासबारे डा. बस्न्यातसँग गरिएको कुराकानीको सार निम्नानुसार छः 

 

नेपालले तिब्बतसँग कुति र केरुङको बाटोबाट ल्हासासँग व्यापार गथ्र्यो । पृथ्वीनारायण शाहले काठमाडौं, नुवाकोट जितेपछि उनले त्यो व्यापार कब्जा गरे । मल्लहरुको पालादेखि नै नेपाली पैसा तिब्बतमा चल्थ्यो । त्यो बेला हाम्रा वकिल(राजदूतजस्तो)हरुले तिब्बतमा न्याय दिन्थे । एक किशिमले नेपालको उपनिवेश थियो तिब्बत । काठमाडौंका तुलाधरहरुको ठूलो वर्चश्व थियो । छोरा जन्मे नेपाली, छोरी जन्मे तिब्बती हुने जस्तो प्रचलन थियो । 

 

तिब्बतसँग सुन, नुन र ऊनको व्यापार हुन्थ्यो । सिल्क रोडको एक शाखा नेपाल हुँदै जान्थ्यो । अर्थात नेपालको स्थिति बलियो थियो । त्यहाँ मल्ल राजाहरुले मोहोर पठाएका थिए । चाँदीमा तामा मिसिएका टक पठाए । पृथ्वीनारायण शाह राजा भएपछि मल्लहरुको टकमा विवाद भयो । पृथ्वीनारायण शाहको टक शुद्धा चाँदीको हुन्थ्यो । 


अनि मल्लहरुको दुइ टक बराबर पृथ्वीनारायण शाहको एक टक हुने मानक बनाइयो । तिब्बतीहरुसँग भएका मल्लका टकलाई पृथ्वीनारायण शाहको सरकारले आधा मात्रै मान्यता दिने भयो । तर तिब्बतले मानेन  । टक अर्थात मोहोरमा तामा नेपालले मिसाएकोले त्यो तिब्बतलाई मान्य नहुने बताइयो । 

 

पृथ्वीनारायण शाहको निधनपछि उनका भाइ बहादुर शाह नायबी भएर चलाउन थाले । अनि उनले नेपालको एक मोहोर बराबर तिब्बतीको दुई मोहोर हुने बहादुर शाहले भनिदिए । तर तिब्बतीले मानेनन् । त्यसपछि नेपाल तिब्बतलाई तह लगाउन तयार भयो । 

 

नेपालले हमला गर्दै गयो । हिमाल काटेर तिब्बतलाई हमला गर्दा हिउँले गोर्खाली सेनाको हात खुट्टा कुहिएका पुराना दस्तावेजहरुले देखाउँछ । बास्ने दाउरा कतै हुँदो रहेनछ हिमाल तिर । त्यो गोर्खाली सेनालाई थाहा नै थिएन । चौरीको गोबरका गुइठा बाल्नु पर्ने, हिउँ उमालेर पानी पिउनुपर्ने जस्तो अवस्था हुन्थ्यो । युद्ध भयो, धेरै गोर्खा सैनिक त्यो युद्धमा मारिए । कतिपय त हिउँका कारण मरे । 

 

तिब्बतले हार्दै गयो । नेपाली फौजले तिब्बतमा पूरै लुट मच्चायो । लडाइको बेला धनसम्पत्ति लुट्ने चलन नै थियो । सबै मुलुकका सेनाले त्यसरी लुट्ने पनि युद्धको एक पाटो थियो । नेपाली सेनाले तिब्बतका गुम्बाहरुमा भएका सुनका मूर्तिहरु सबै लुटे । अनि तिब्बतले केरुङमा सन्धि गर्यो । वर्षको ५० हजार चाँदीका मोहोर क्षतिपूर्ति तिर्ने तिब्बत तयार भयो । 

 

तिब्बतबाट लुटेर ल्याएको धेरै सम्पत्ति पनि आयो । सन्धि पनि आफ्नो पक्षमा गयो । त्यो वर्ष त तिब्बतले पैसा तिर्यो । तर अर्को वर्षदेखि तिर्न छाड्यो । 

 

 त्यसपछि फेरि अब तिब्बतलाई तह लगाउनु पर्ने भयो । त्यसपछि चैनपुरबाट, कुतिबाट र केरुङबाट तिब्बत आक्रमण गर्ने योजना बन्यो । शेर्पाहरुले जुत्ता बनाइदिए । मुसलमानहरुले हतियार बनाइदिए । बन्दोबस्तीका सामानहरु पनि जोडियो । युद्ध लड्दै नेपाली सेना अगाडि बढ्यो । 

 

नेपाली सेना ल्हासा पुग्यो । युद्ध जित्यो । तर तिब्बतले सन्धि गर्न आनाकानी गर्न थाल्यो । नेपाली सेना एक महिना ल्हासा बस्यो । सन्धि गर्ने छाँट तिब्बतले देखाएन । उसले त चीनसँग सहयोग मागेर सेना मगाइसकेको रहेछ । 

 

त्यसपछि नेपाली सेना र चिनियँबीच युद्ध भयो । नेपालको हार भयो । अनि नेपालले हारेपछि चीन संरक्षक हुने, नेपाल र तिब्बत दाजुभाई हुने भनेर नेपालको विपक्षमा सन्धि भयो । चीनले नेपालविरुद्ध किन सेना पठायो भन्ने कुराको अर्को कारण रहेछ । नेपाली सेनाले तिब्बतमा ताण्डव मच्चाउँदा त्यहाँका गुम्बाहरु पनि भत्काए । त्यो बेला चीनका बादशाहले दलाल लामाका लागि बनाइदिएको गुम्बा पनि परेछ । 

 

त्यो पोल तिब्बतीहरुले चिनियाँ भए ठाउँ पुर्याएछन् । अनि चिनियाँ फौज सहयोगको लागि आएको रहेछ ।