समाचार

खेल

थाहा पाउनुस् विश्वकपका २० रोचक तथ्य

बिहिबार, ३१ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

थाहा पाउनुस् विश्वकपका २० रोचक तथ्य

  काठमाडाैं । आजबाट विश्वभर सर्वाधिक रुचाइएको फुटबलको महाकुम्भ रसियामा सुरु हुँदैछ । नेपाली समयअनुसार राती ८ बजेर ४५ मिनेट जाँदा मस्कोको लुझिन्कीमा आयोजक रसिया र साउदी अरेबियाबीचको खेलबाट २१ औं संस्करणको विश्वकप सुरु हुँदैछ । 

 

यस्ता छन् विश्वकपका २० रोचक तथ्य

१. सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप प्रतियोगिता रुसमा पुगेर २१ औँ संस्करणमा आइपुगेको छ । 

 

२. यो विश्वकपमा पानामा र आइसल्यान्ड नवप्रवेशी देश हुन् भने स्लोभाकिया सन् २०१० पछिको पछिल्लो प्रवेश गर्ने देश हो । 

 

३. विश्वकपका प्रतियोगिता रसियाका ११ सहरमा आयोजना गरी १२ वटा रंगशालामा खेलाइने छ । जसमध्ये मस्कोमा मात्र दुईटा रंगशाला छन् । ती हुन लुझिन्की र स्पार्कटक ।

 

४. सन् १९८६ देखि विश्व विजेता राष्ट्र समूहको पहिलो स्थानमा परेका छन् । 

 

५. सन् २०१० मा विश्वकप आयोजना गरेका दक्षिण अफ्रिकी मुलुकबाहेक सबै आयोजक राष्ट्र दोस्रो चरणमा प्रवेश गरेका छन् । ३० प्रतिशत आयोजक भने विजेता बन्न सफल छन् । सन् १९९८ मा फ्रान्समा भएको प्रतियोगितामा स्वंय आयोजक विजेता भएको अन्तिम पटक हो । 

 

६. सम्पूर्ण विश्वकपको रेकर्डमा अहिलेसम्म युरोपियन मुलुकहरूले ११ पटक र दक्षिण अमेरिकी मुलुकहरूले ९ पटक विश्वकपको उपाधि उचालेका छन् ।

 

७. अरू मुलुकको तुलनामा ब्राजिलले सर्वाधिक विश्वकपको उपाधि चुमेको छ । ब्राजिल ५ पटक उपाधि जित्ने एक मात्र टीम हो । उसले अहिलेसम्म भएका सबै विश्वकप संस्करणमा आफूलाई उभ्याएको छ ।

 

८. अहिलेसम्मको विश्वकपमा चार पटक मात्र एक टोलीले एक खेल पनि पराजित नभई उपाधि चुमेको छ । जसमा उरुग्वेले सन् १९३० मा आफ्नो चार खेलमा विजयी भएको थियो । त्यस्तै इटाली पनि सन् १९३८ मा चार खेल र ब्राजिलले सन् १९७० मा छ र २००२ मा सात खेलमा विजयी हुँदै उपाधि आफ्नो कब्जामा गरेको थियो ।

 

९. इटालीले सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट हुन असफल रह्यो । रसियामा छनोट हुन असफल राष्ट्रमध्ये इटाली एक मात्र विश्वकप विजेता राष्ट्र हो ।

 

१०. समूह चरणको उपाधि विजेतासमेत हुन नसकेको मेक्सिकोे १६ पटक विश्वकपमा छनोट भएको छ ।

 

११. प्रतियोगितामा सबैभन्दा धेरै रातो कार्ड पाउने राष्ट्रमा ब्राजिल अगाडि छ । ब्राजिलले ११ रेडकार्ड पाएको थियो भने अर्जेन्टिना १० र उरुग्वेले ९ रेडकार्ड पाएको छ । 

 

१२. पहिलो विश्वकप संस्करणमा समावेश भएको पेरु सन् १९८२ पछि ८ संस्करण गुमाए पनि रसियाको यात्र गर्न भने सफल भएको छ ।

 

१३. सन् १९९८ र २०१४ को विश्वकपमा सबै राष्ट्रको मिलाएर १ सय ७१ गोल भएको थियो भने ६४ खेलमा सबैभन्दा कम गोल १ सय ४५ सन् २०१० को विश्वकपमा भएको थियो ।

 

१४. जर्मनीले अन्तिम तीन विश्वकप संस्करणमा सबैभन्दा बढी गोल गर्न सफल राष्ट्र हो । जर्मनीले सन् २००६ मा १४, २०१० मा १६ र २०१४ मा १८ गोल गरेको थियो ।

 

१५. विश्वकपको एक खेलमा सबैभन्दा बढी गोल सन् १९५४, जुन २६ मा अस्ट्रिया र स्विट्जरल्यान्डबीचको खेलमा भएको थियो । सो खेलमा अस्ट्रियाले स्विट्जरल्यान्डलाई ७–५ ले पराजित गरेको थियो ।

 

१६. हरेक विश्वकप संस्करणमा आफ्नै राष्ट्रका प्रशिक्षकबाट खेलेका राष्ट्र विजयी भएको छ ।

 

१७. विश्वकप खेल्नेमध्ये सबैभन्दा थोरै जनसंख्या रहेको राष्ट्र आइसल्यान्ड रहेको छ । आइसल्यान्डमा ३३४००० मात्र जनसंख्या छ ।

 

१८. अफ्रिकी राष्ट्रमध्ये नाइजेरिया मात्र अहिलेसम्म सबैभन्दा बढी विश्वकप खेल्ने राष्ट्र हो । २०१८ को संस्करण नाइजेरियाको छैटौं उपस्थिति हो । 

 

१९. विश्वकपमा डेनमार्कले गरेका सबै २७ गोल डिबक्स एरिया भित्रबाट गरिएको छ । 

 

२०. एक विश्वकप संस्करणमा १० गोल गर्ने खेलाडी गेर्ड मुलर हुन् । उनले १९७० को विश्वकपमा १० गोल गरेका थिए । त्यसपश्चात् सन् २००२ मा रोनाल्डोले गरेका ८ गोल सर्वाधिक रहेको छ ।