बिचार

खेल

विश्वकप २०१८ का बलिया १० टिम

अमृत अधिकारी

बुधबार, ३० जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

विश्वकप २०१८ का बलिया १० टिम

एक्काइसौँ संस्करणको विश्वकप फुटबल सन् २०१८ जुन १४ देखि रुसमा हुँदैछ । उक्त फुटबल महाकुम्भमा सहभागी हुन आयोजक रुस र अन्य ३१ गरी कुल ३२ देशले प्रतिस्पर्धाको टिकट पाइसकेका छन् । जसमा अस्ट्रेलियासहित ५ एसियाली मुलुक, ५ अफ्रिकी मुलुक, उत्तर अमेरिकी ३ देश, दक्षिण अमेरिकी ५ देश र युरोपका १४ देश छनोट भएका छन् । यीमध्ये २० देशले अघिल्लो २० औँ संस्करणमा सहभागिता जनाएका थिए भने पनामा र आइसल्यान्ड पहिलो पटक विश्वकप खेल्दैछन् । 

 

यसपटक चारपटकको विश्वविजेता इटली सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट हुन सकेन । सधैँ अभागी टिमको टाइटल पाएको २०१० को फाइनलिस्ट र २०१४ को तेस्रो स्थानमा रहेको नेदरल्यान्ड यस पटक पनि छनोट चरणबाटै बाहिरिनु परेपछि अभागी साबित भयो । सन् २०१७ को अफ्रिकी विजेता क्यामरुन, दुई पटकको कोपा अमेरिका कप विजेता चिली पनि यो विश्वकपमा छनोट हुन सकेनन् । ओसिनिया फुटबल कन्फेडेरेसन कप विजेता न्युजिल्यान्ड पनि प्लेअफमा पेरुसँग पराजित हुँदै बाहिरियो । २०१७ को उत्तर अमेरिकी विजेता अमेरिका तथा स्टार खेलाडीले भरिएका अफ्रिकी मुलुक घाना र आइभोरिकोस्ट पनि भाग्यमानी रहेनन् ।

 

कुल ६४ खेल हुने उक्त प्रतियोगिता सञ्चालन गर्न ११ सहरका १२ वटा रंगशालाको तयार रुसले गरिसकेको छ । विजेताको छिनोफानो जुलाइ १५ मा मस्कोस्थित लुजनेनिक स्टेडियममा हुनेछ ।

 

यसपटकको विश्वकप खेल्न छनोट भएकामध्ये बलिया मानिएका १० टिमबारे यहाँ संक्षेपमा चर्चा गरिएको छ ।

 


१. जर्मनी
साबिक विजेता जर्मनी यसपटकको प्रबल दाबेदार हो । १८ औँ पटक विश्वकपमा सहभागी जनाएको उसले ४ पटक कप आफ्नो पोल्टामा पारिसकेको छ । युभेन्ट्सका मिडफिल्डर सामी खडिरा, पिएसजीका मिडफिल्डर जुलियन ड्रेक्सलर, मारियो गोमेज, टर स्टेजिनलगायत खेलाडी उत्कृष्ट लयमा छन् । आर्सनलबाट खेल्ने मेसुट ओजिल, बार्यन म्युनिख स्ट्राइकर थोमस मुलर, रियल म्याड्रिडबाट खेल्दै आएका टोनी क्रुस भरपर्दा खेलाडी हुन् । यतिखेर विश्व बरीयताको १ नम्बरमा रहेको जर्मनीलाई पाँचौँ पटक उपाधि चुम्नबाट रोक्न कुनै पनि टिमलाई कठिन रहेको बताइन्छ ।

 


२. ब्राजिल
पाँच पटकको विश्वविजेता ब्राजिल २१ औँ पटकसम्म लगातार विश्वकप खेल्ने एकमात्र मुलुक हो । कलात्मक फुटबल खेल्ने ब्राजिल फुटबल खेलाडीहरूको उर्वरभूमि नै हो । सधैँ दाबेदारको रूपमा हेरिने उसले यसपटक प्रबल दाबेदारी प्रस्तुत गर्नेछ । खेल जीवनकै सर्वाधिक लयमा रहेको नेइमार उक्त टिमका केन्द्रबिन्दुमा रहने छन् । भर्खरै चोटमुक्त भएका नेइमारले आफ्नो उच्च लय समातिसकेका छन् । नेइमारसँगै पिएसजीबाट खेल्ने टियागो सिल्भा, मारक्विनस तथा डानिलो, मार्सेलो, मिरान्डा, पलिपे लुइजलगायत डिफेन्स अन्य टिमको लागि कठिन बन्ने पक्का छ । युवा स्ट्राइकर ग्याब्रियल जेसस, रोबेर्टो फिरमिनो, पिलिपे कोटिन्हो, फर्नान्डिन्हो, क्यासमिरो, पाउलिन्हो, विलियनजस्ता प्रतिभाशाली खेलाडी यस टिमका सबल पक्ष हुन् । 

 


३. अर्जेन्टिना
कलात्मक फुटबल खेलको धनी अर्को दक्षिण अमेरिकी टिम अर्जेन्टिना पनि ठूला स्पर्धामा अभागी टोलीको रूपमा परिचित छ । राम्रो खेलेर पनि पराजित हुने उसको परम्पराजस्तै भएको छ । समकालीन युगका महान् फुटबलर लियोनल मेस्सी उसको लागि प्रमुख गहना हुन् । मेस्सीले जित्न नसकेको एकमात्र प्रतियोगिता विश्वकप हो । मेस्सीको प्रेरणाले भरिएको यस टिममा गोलकिपर सर्जियो रोमेरो तथा अन्य खेलाडीहरूमा एन्जल डि मारिया, पाउलो डिबाला, सर्जियो अग्विरो, निकोलस ओटामेन्डी, जभियर मस्चेरानो, गोञ्जालो हिग्वेइन प्रमुख हुन् । विश्व बरीयताको ५ नम्बरमा रहेको अर्जेन्टिना यसपटक निकै सन्तुलित र बलियो देखिएको छ ।
 


४. स्पेन 
सन् २०१० को विजेता स्पेन पनि यस पटकको प्रमुख दाबेदार मध्येको एक मानिन्छ । १५ औँ पटक विश्वकप खेल्न लागेको उसका जोर्डी अल्बा, जेर्राड पिके, सार्जियो रामोस, नाचोजस्ता डिफेन्डरहरू पर्खालसरी तैनाथ हुनेछन् । यो डिफेन्स छिचोल्न जुनसुकै टिमलाई निकै हम्मेहम्मे पर्न सक्छ । रियल म्याड्रिड र बार्सिलोनाका अधिकांश खेलाडी रहेको टिममा सर्जियो बस्केट्स्, आन्द्रसे इनियस्टा, इस्कोसँगै डेभिड सिल्भा, पेड्रो र डियागो कोस्टा पनि छन् । विश्व बरीयताको छैटौँ नम्बरमा रहेको स्पेन यो विश्वकपको फाइनल पुग्न योग्य टिममध्येको एक हो ।

 


५. फ्रान्स 
पन्ध्रौँ पटक विश्वकपको टिकट काटेको फ्रान्सले सन् १९९८ मा विश्वकप जिते यता उपाधि विमुख छ । युवा स्टार खेलाडीको बाहुल्यता रहेको फ्रान्स यसपटकको निकै सशक्त टिमको रूपमा रहेको छ । एन्टोनियो ग्रिजम्यान, पाउल पोग्बा, ओसुमाने डेम्बेले, किलियन एम्बाप्पे, कान्टेजस्ता खेलाडीहरूबाट फ्रेन्च टिमले निकै आस गर्न सक्ने अवस्था छ । साथै ओलभर गिरुड, सामुयल उम्टिटी, राफेल भारानेजस्ता खेलाडी पनि निकै राम्रो लयमा छन् । विश्व बरीयताको सातौँ नम्बरमा रहेको फ्रान्स दोस्रो पटक विश्वकप जित्ने दाउमा छ ।
 


६. इङ्ग्ल्यान्ड
सन् १९७८ को विजेता इङ्ग्ल्यान्डले त्यस यता उपाधि जितेको छैन । १५ औँ पटक सहभागिता जनाउने क्रममा रहेको इङ्ग्ल्यान्ड यस पटकको विश्वकप आफ्नो घरमा भित्र्याउने दाउमा हुनेछ । यसपटक इङ्ग्ल्यान्ड यस्तो टिमको रूपमा रहेको छ जसका सबै खेलाडी घरेलु लिगका मात्र छन् । लिचेस्टर सिटीका स्ट्राइकर जेमी भर्डी, म्यानचेस्टर सिटीका स्ट्राइकर मार्कस राशफोर्ड र टोटेनह्यामका ह्यारी केनबाट निकै आसा राख्न सकिन्छ । त्यस्तै डायनियर स्टुरेज, वाल्कर, रहिम स्टर्लिङजस्ताले पनि खेललाई आफ्नो पक्षमा पार्ने क्षमता राख्न सक्छन् ।

 


७. उरुग्वे
प्रायः दक्षिण अमेरिकी मुलुक उत्तिकै राम्रा छन् । दक्षिण अमेरिकी छनोटमा देखिएको प्रतिस्पर्धात्मक अवस्थाले पनि उक्त कुरा दर्शाउँछ । ब्राजिल र अर्जेन्टिना जस्तै उरुग्वे पनि दक्षिण अमेरिकाबाट विश्वकपको दाबेदार राष्ट्र हो । दुई पटक विजेताको ट्रफी उचालेको उसले १२ पटकसम्म सहभागी जनाउँदा सन् १९५० यता भने उपाधि विमुख हुनु परेको छ । बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज, पिएसजीका स्ट्राइकर एडिसन काभानी तथा डियगो गोडिनबाट धेरै आस गर्ने ठाउँ छ ।

 


८. पोर्चुगल
युरोपियन कप विजेता पोर्चुगल पनि राम्रा मानिएको टिम मध्येको एक हो । रियल म्याड्रिडका स्ट्राइकर क्रिश्टियानो रोनाल्डोको टिम पोर्चुगलमा पेपे र ब्रुनो आल्भसजस्ता अनुभवी खेलाडीको साथसाथ बेर्नाडो सिल्भाजस्ता युवा खेलाडीको पनि बाहुल्यता छ । सन् १९६६ मा पहिलो पटक सहभागिता जनाउँदा तेस्रो स्थान हासिल गर्न सफल उसले त्यस यता उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । रोनाल्डोको खेल जीवनमा अन्तिम वल्र्डकप हुन सक्ने कारणले पनि उसका लागि यो विश्वकप महत्वपूर्ण छ । 

 


९. बेल्जियम 
सन् १९३० को प्रथम विश्वकप यता सहभागिता जनाउँदै आएको बेल्जियमको लागि यसपटक १३ औँ सहभागिता हुनेछ । यद्यपि उसले सन् १९८७ मा सेमिफाइनल यात्रा तय गर्नुबाहेक अरू सफलता हात पारेको छैन । उसका अधिकांश खेलाडी इङ्ग्लिस प्रिमियर लिग खेल्छन् । उसका लागि म्यानचेस्टर युनाइटेडका खेलाडी रामेलु लुकाकु, चेल्सी मिडफिल्डर तथा क्याप्टेन इडेन हाजार्ड, म्यानचेस्टर सिटीबाट खेल्ने डि ब्रोइनाजस्ता खेलाडीको प्रदर्शन महत्वपूर्ण रहन्छ । विश्व बरीयताको ३ नम्बरमा रहेको बेल्जियम फुटबल टिमलाई इतिहासकै स्वर्णिम टिम मानिन्छ ।
 


१०. कोलम्बिया 
विश्व बरीयताको १६ औँ स्थानमा रहेको कोलम्बियाले अहिलेसम्म ६ पटक विश्वकपमा सहभागिता जनाइसकेको छ । अघिल्लो विश्वकपमा क्वाटर फाइनलसम्मको यात्रा तय गरेको कोलम्बियाले यसपटक पनि बलियो दाबेदारी प्रस्तुत गर्नेछ । उसका धेरै खेलाडी युरोपियन देशहरूमा लिग खेलिरहेका छन् । मोनाकोबाट खेल्ने राडमेल फाल्काओले चोटका कारण अघिल्लो विश्वकप गुमाए पनि यसपटक उत्कृष्ट लयमा देखिएका छन् । बायर्न म्युनिखबाट खेल्ने जेम्स रोड्रिग्वेज अघिल्लो विश्वकपका गोल्डेन बुँट विजेता हुन् । स्टार खेलाडीसहितको कोलम्बिया पनि यसपटक बलियो देखिन्छ ।
                                                                            