खेल

मेस्सी, रोनाल्डो र मुलर रेकर्ड तोड्ने होडबाजीमा

मङ्गलबार, २९ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

मेस्सी, रोनाल्डो र मुलर रेकर्ड तोड्ने होडबाजीमा

काठमाडाैं । विश्वकप फुटबल २०१८ को संस्करण सुरु हुन अब दुई दिन मात्र बाँकी छ । विश्वभरबाट छनोट चरण पार गर्दै ३२ देशले रसियामा हुन लागेको विश्व कपमा प्रतिस्पर्धाका लागि अन्तिम तयारीमा छन् । 

 

यसका साथै २०१८ को संस्करणमा केही रेकर्डहरू भने तोडिने सम्भावना बढेको छ । केही रेकर्डहरू यस्ता छन् जुन रसियामा तोडिने प्रवल सम्भावना छ । 


– वर्ल्ड  कपमा कप्तानको रूपमा ६ गोल गर्दै डिएगो माराडोनाले रेकर्ड आफ्नो नाममा राखेका छन् । यता अर्जेन्टिनाका कप्तान लिअाेनल मेस्सीलाई भने सो रेकर्ड तोड्न ३ गोलको आवश्यकता छ । 


– इजिप्टका खेलाडी एस्साम हाडारी उरुग्वेविरुद्धको खेलमा ४५ वर्ष ५ महिना पुग्ने छन् । उनले रसिया वर्ल्ड कपमा खेल्ने अवसर पाएको खण्डमा कोलम्बियाका फारिड मोड्रागन (४३ वर्ष ३ दिन) को रेकर्ड तोड्दै विश्व कपका सबैभन्दा बढी उमेरका खेलाडी बन्ने छन् ।


– तीन वर्ल्ड कपमा लगातार ५ गोल गर्ने पहिलो खेलाडी बन्ने होडमा छन् जर्मनीका थोमस मुलर । उनले २०१० र २०१४ को संस्करणमा पनि ५ गोल गरेका थिए । 


– जर्मनीका मिरोस्लाभ क्लोसले विश्वकपमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड कायम राखेका छन् । उनले अहिलेसम्म १६ गोल गरेका छन् । त्यससँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो १५ गोलका साथ दोस्रो स्थानमा र जर्मनीका गेर्ड मुलर १४ गोलका साथै तेस्रो स्थानमा छन् । 


– उरुग्वे र पोर्चुगलले दोस्रो चरणमा प्रवेश गरेर प्रतिस्पर्धा गरे दुई राष्ट्रको प्रशिक्षक ओस्कार ताबारेज र फर्नान्डो सान्तोस सबैभन्दा धेरै उमेरको प्रशिक्षक बन्ने छन् । दुई प्रशिक्षकको उमेर मिलाएर १ सय ३५ वर्ष ३ महिनाको प्रशिक्षण बन्ने छ । 

 

अहिले ग्रिसका ओट्टो रेहागेल र नाइजेरियाका लार्स लागेरब्याकको रेकर्ड १ सय ३३ वर्ष ९ महिनाको छ, जो सन् २०१० को संस्करण दक्षिण अफ्रिकामा रचिएको थियो । 


– ब्राजिल १३ विश्व कपका खेलहरूमा अपराजित रहँदै आफूलाई बलियो साबित गरेको छ । ब्राजिल यसअघि १९५४ मा हंगेरीसँग ४–२ ले पराजय भएको थियो । त्यसपश्चात् १९६६ मा हंगेरीसँगै ३–१ ले पराजित भएको थियो । 

 

यता जर्मनीको अन्तिम हार २०१० को सेमिफाइनलमा स्पेनसँग भएको थियो । जसमा जर्मनी १–० ले पराजित भएको थियो । जर्मनीले रसिया २०१८ मा आफ्नो आठौँ अपराजित खेलबाट प्रतियोगिता सुरु गर्दैछ ।