खेल

रोनाल्डो भएपछि पोर्चुगलका लागि यो विश्वकपमा सबै सम्भव : प्रशिक्षक मोउरिन्हो

मङ्गलबार, २५ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

रोनाल्डो भएपछि पोर्चुगलका लागि यो विश्वकपमा सबै सम्भव : प्रशिक्षक मोउरिन्हो

काठमाठाैं । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक होजे मोउरिन्होले क्रिस्टियानो रोनाल्डो टिममा भएकोले २०१८ को विश्वकपमा पोर्चुगललाई कुनै पनि कुरा असम्भव नहुने बताएका छन् ।  


यसअघि चेल्सी, रियल मड्रिड, इन्टर मिलान तथा पोर्टोका प्रशिक्षक रहिसकेका मोउरिन्होले पोर्चुगलको राष्टिय टोलीलाई अहिलेसम्म प्रशिक्षण भने दिएका छैनन् । उनी रुसमा हुने प्रतियोगिताको केही भागमा भने उपस्थित रहने बताइएको छ ।

 

पोर्चुगलका नागरिकसमेत रहेका मोउरिन्होका अनुसार यसपाला ब्राजिल, अर्जेन्टिना र स्पेन दाबेदार हुन् तर टिममा रोनाल्डो रहेकाले उनको मातृभूमि पोर्चुगललाई पनि बाहिर राख्न नमिल्ने बताए । 

 

‘पोर्चुगलको टोली रोचक छ । क्रिस्टियानो नभएको भए यो असम्भव थियो । तर उनी टिममा भएकोले कुनै कुरा असम्भव छैन’, ईएसपीएनसँगको कुराकानीमा उनले भने ।

 

मोउरिन्होले ब्राजिल र स्पेन आउँदो विश्वकपअगाडि निकै नै सम्हालिएका टिमका रुपमा रहेको व्याख्या गरे ।आफूलाई ब्राजिलको चातुर्य र मानसिकतासहितको आधारभूत संरचना साह्रै मन पर्छ भन्दै उनले भने, ‘ब्राजिलको प्राकृतिक क्षमता, गाम्भीर्य, शारीरिक तथा चातुर्यको मिश्रण छ ।’

 

उनको विचारमा ब्राजिलको रक्षापंक्ति राम्रो छ, कम गोलमात्र खान्छ, र अग्रपंक्तिमा विलियम, नेइमार, कोउटिन्हो तथा जीजसजस्ता हस्तीहरु छन् ।उनले युरोपका परम्परागत टिमहरुमध्ये स्पेन बलियो टिम भएको विचार व्यक्त गरे ।

 

‘स्पेन अन्य प्रतिस्पर्धी युरोपेली टिमभन्दा राम्रो स्थितिमा छ । तर हेर्दै जाउँ...यो मेरालागि रोमाञ्चक हुनेछ । म खेल हेर्न एक हप्ताको लागि रुसमा हुनेछु र त्यसपछि पारिवारिक छुट्टीमा’, उनले भने  ।