समाचार

प्रदेश २

नदीमा डुबेर दुई बालिकाको मृत्यु

मङ्गलबार, २५ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

नदीमा डुबेर दुई बालिकाको मृत्यु

रौतहट । रौतहटको राजपुर नगरपालिका- ६ अरुवा खोलामा नुहाउने क्रममा डुबेर दुई बालिकाको ज्यान गएको छ। राजपुर कुडिया टोलकी सात वर्षीया अनिजा खातुन र छ वर्षीया सुनैया खातुनको नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।  

 

सोमबार दिउँसो गाउँ नजिकैको खोलामा यी बालिका नुहाउन गएका थिए। दिउँसै घरबाट खोलामा गएका बालिकाहरू बेलुकीसम्म घर नफर्किंदा खोज्न खोलामा जाँदा नदीमा दुवैकाे शव भेटिएको प्रहरीले जनाएको छ।

 

दुवै बालिकाको शव पोस्टमार्टमका लागि मंगलबार जिल्ला अस्पताल गौरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए।

 

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  रौतहटमा गर्मीको समयमा पोखरी वा नहरमा नुहाउन दैनिक स्थानीय बालबालिकाहरूको भीड लाग्ने गरेको छ। गर्मी बढेसँगै पानी जमेको पोखरीमा बालबालिका नुहाउने क्रममा बालबालिकाको ज्यानसमेत जाने गरेको छ।