भिडियो

इतिहास र अनुभुति

उत्तरकोरिया भ्रमणः राजधानी भव्य छ, जनता खुसी छैनन् (भिडियोसहित) 

सोमबार, २४ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज

उत्तरकोरिया भ्रमणः राजधानी भव्य छ, जनता खुसी छैनन् (भिडियोसहित) 

डा. सुरेन्द्र केसी, इतिहासविद् 

सातौं शताब्दीदेखि नेपाल र चीनबीच आवागमन भइरहेको छ । म इतिहासको विद्यार्थी भएको नाताले पनि मलाई चीनसँगको ऐतिहासिक सम्बन्ध थाहा छ । उत्तर कोरिया जाँदा मलाई केरुङको बाटो भएर जान मन लागेको थियो । लिच्छवीकालका राजा नरेन्द्रदेव नेपालबाट विस्थापित भएर तिब्बतमा २० वर्ष निर्वासित जीवन बिताएका थिए । २० वर्षपछि पुनस्र्थापित भए । 

 

त्यसको केही समयसम्म नेपाल–तीब्बत सम्बन्ध खास भएन । पछि सौगात प्रणाली चल्यो । पाँच पाँच वर्षमा केही सौगात बोकेर नेपाली शासकले चिनियाँ बादशाह भए ठाउँ जानु पथ्र्यो । नेपालबाट हिँडेको टोली खासा हुँदै बेइजिङ पुग्दा १८ महिना लाग्थ्यो । यस्तो परम्परा थियो । 

 


मेरो दिमागमा ती कुरा खेल्थे । इतिहासको यो क्रमभंग भएको विषय जोड्न चाहन्थेँ । त्रिविमा मैले ३७ वर्ष पढाएँ । तर इतिहासका ति कुरासँग मलाई जोड्ने प्रयास मेरो विश्वविद्यालयले गरेन । आफ्नो, पार्टीका, निकट, दरबार हुँदा दरबारका मान्छे आदिले अवसर पाउँथे । मैले पाइनँ । उत्तरकोरिया जाँदा ल्हासा, छेन्दु, सांघाई हुँदै बेइजिङ पुगेर त्यहाँबाट प्योङयांग पुग्नु पर्ने थियो । बेइजिङबाट डेढ घण्टामा प्योङयांङ पुग्यौं । 


विकासमा चीनभन्दा रसियाको प्रविधि राम्रो रहेछ । चीनको विकास निर्माणको शैली पश्चिमाकै जस्तो लाग्यो । भव्यताको दृष्टिले त रुसकै देखेँ । त्यसपछि उत्तरकोरियाको हो । यद्यपि चीनको  विकास राम्रो लाग्यो । मदन रेग्मीले मलाई चीन भ्रमणको प्रबन्ध गरिदिनु भएको थियो, तर त्यो बेला म जान सकिनँ । अहिले चाइन स्टडी सेन्टरमा नयाँ मानिस आए । म फेरि चीन जान पाइनँ । उत्तरकोरिया जाँदा चीन हुँदै जानु पर्ने भएकोले मैले चीन भ्रमण गरेँ । 

 

 

उत्तरकोरिया तानाशाही मुलुक हो भन्ने गरिएको थियो । उत्तरकोरियामा धेरै खाले सीमा छन् भन्ने सुनेको थिएँ । त्यहाँको दायरालाई कतै उल्लंघन नगरी  फर्केर आउँछु भन्ने सोचेको थिएँ । जबकी म आफू स्वच्छन्द प्रकृतिको छु तर पनि म सचेत थिएँ । प्योङयांगको विमानस्थलमा उत्रियौं । तर त्यहाँ उच्च स्तरको सम्मान हामीलाई दिइयो । हामीलाई लिन एक बस आएको रहेछ । रात परिसकेको थियो । मौसम चिसो थियो । प्रकाश पनि चहकिलो थिएन । पुरै प्योङयांग अन्धकार जस्तो थियो । सहर ठूलो देखियो । अनुशासित भएर बस्यौं ।

 

नेपालबाट अरु टोली पनि पुगिसकेका रहेछन् । दोभाषेको प्रबन्ध गरिएको थियो । ३५ तला जति अग्लो एउटा शानदार पाँच तारे होटलमा लगएर हामीलाई लगियो ।  त्यहाँ भित्रको खानपान र सुविधा अति उच्च स्तरको थियो । किन मधुरो प्रकाश त उत्तरकोरियामा ? यो बुझ्न मन लागिरहेको थियो । हरेक नयाँ पुस्ताले कोरिया युद्धमै छ भन्ने भान पार्न प्रकाश कम चहकिलो पारिएको रहेछ । उत्तरकोरिया अस्तिसम्म पनि युद्धमै थियो । 

 

हामी बसेको होटलमा उत्तरकोरिया सरकारले एक भोज दिएको थियो । कोरिया सरकारको दोस्रो वरियताका व्यक्ति आएका थिए । अहिलेका लिडर किम जोन उन पछिका ८५ वर्षीय व्यक्ति थिए उनी । किमका हजरबुबाका साथी रहेछन् उनी । मेरो जीवनको त्यो अविष्मरणीय क्षण थियो त्यो । त्यहाँ कडा अनुशासन देखेँ । संसारका ४०–५० देशका नागरिक थिए ।  प्योङयाङ निकै भव्य पाएँ । तर त्यहाँ स्वच्छन्दता देखिनँ । एक प्रकारको दमनजस्तो, एक प्रकारको निस्सासिएको जस्तो वातावरण मैले पाएँ । 

 

 

मानवीय अभिव्यक्ति, सोच, चिन्तनको कुनै तह देखिनँ । हामीले प्योङयाङमात्रै देख्यौं, ग्रामिण क्षेत्र देखेनौं । जनताको भावना के छ ? त्यो थाहा पाएनौं । त्यो थाहा नपाउनुमा पनि उत्तरकोरियाली सरकारको परिबन्दले नै सिर्जना गरेको होला । उत्तरकोरियाको वैज्ञानिक प्राप्ति, किम इल सुन र किम जोन उलको समाधिस्थल तेस्रो किम इल सुनको जन्मस्थल हामीलाई देखाइयो । युद्धकालीन सग्रहालय पनि देख्यौं । जहाँ अमेरिकी जहाज, हतियारहरु जस्ताको त्यस्तै राखिएको थियो । त्यो समुद्रको छेउमा थियो । त्यो क्रममा किम परिवारका ठूला ठूला शालिकहरु राखिएको रहेछ । वार मेमोरियल पार्क पनि रहेछन् । किम इल सुनलाई सबैभन्दा बढी मन पर्ने पार्क रहेछ । त्यही त्यहाँ बनाइएको रहेछ । त्यस्तै पार्कहरु हामीलाई रसियामा पनि देखाइएको थियो । किम इल सुनको मेमोरिलाई राम्रोसँग राखिएको रहेछ । 

 


उत्तरकोरियामा शासक र जनताबीच ठूलो दूरी देखेँ मैले । अनुशासनका नाममा मानिसहरु दमित जस्ता थिए । मानिसहरुको परिधान  र व्यक्तित्व कुण्ठीत थियो । उनीहरुले एकोहोरो प्रशंसा मात्रै गरिएको थियो । स्वच्छन्दता र मानवीय परिवेश छैन त्यहाँ । चीन पनि कम्युनिष्ट देश नै हो । तर त्यहाँ अनुशासनको प्रभाव चाहिँ उल्लेख्य छ । तर त्यी भित्रबाट स्वतन्त्रता र उन्मुक्ति पनि छ । कम्युनिष्ट प्रणालीको एक स्वरुप चीनमा छ, कोरियामा फरक छ । उत्तरकोरियाको परम्परावादी कम्युनिष्ट प्रणाली छ । खासमा यो सैनिक शासन जस्तो पनि छ । 

 


सात दिन उत्तरकोरिया बस्यौं । प्योङयाङबाहेक अन्यत्र गएनौं । राजधानी वास्तवमै भव्य छ । तर अनौठो त के भने सात दिन बस्दा मैले सडकमा एउटा पनि मोटरसाइकल चलेको देखिनँ । त्यहाँ अन्डरग्राउन्ड बस्ती पनि रहेछ । जनसंख्याको ठूलो हिस्सा अन्डरग्राउन्ड नै बसोबास गर्दो रहेछ । केही दिन अगाडि म जापान पनि गएँ । जापान क्षेत्रफलमा सानो छ । तर त्यहाँ १३ करोड जनता बस्छन् । त्यति धेरै आवादी भएको मुलुकमा पनि कतै पनि असन जस्तो गल्लि र भिडभाड देखिनँ  । कारण के रहेछ भने धेरै मानिसहरु अन्डरग्राउन्डमा हुँदा रहेछन् । त्यसबाट के लाग्यो भने हाम्रो देशलाई पनि तुरुन्तै अन्डरग्राउन्ड सिस्टममा लैजानु पर्ने रहेछ । 

 


२० वर्ष अगाडि असनमा जस्तो भिड हुन्थ्यो, त्यस्तै भिड अहिले मेरो निवास रहेको घट्टेकुलोमा देख्छु । यसकारण काठमाडौंलाई  तुरुन्तै अन्डरग्राउन्ड प्रणालीमा लैजानु पर्छ । प्योङयाङको विशालतालाई मानवीय रङले लिप्नु पर्ने थियो । त्यस्तो देखिएन । जनता खुसी भएको महसुस गरिनँ । जबकी म दक्षिण कोरिया पनि गएको छु । त्यहाँका जनता खुसी छन् । उत्तरमा मैले त्यस्तो पाइनँ । सनराइज डे भनिँदो रहेछ उत्तरकोरियामा । त्यो भनेको किम उल सुनको १०५ औं जन्मजयन्ती रहेछ । त्यो जन्मजयन्तीसमेट जोडिने गरी कार्यक्रम तय गरिएको रहेछ ।

 

ग्रामीण क्षेत्रबाट समेत राजधानीमा जनता उपस्थित थिए । त्यहाँ भेला भएका मानिस र नेपालमा दलहरुले गाउँबाट राजधानीमा मान्छे ओसारेर गर्ने कार्यक्रम मिल्दो जुल्दो लाग्यो । त्यहाँ पनि विभिन्न गाउँबाट मानिस आएका थिए । त्यहाँका मानिसको आर्थिक र मनोवैज्ञानिक पाटो मैले देखेँ । पञ्चायतकालको नेपालको सामाजिक अवस्था र उत्तरकोरियाको सामाजिक अवस्था उस्तै लाग्यो । 

 


हाम्रो पनि काठमाडौंमा मानिसहरु खुसी देखिदैनन् । निचोरिएको गाला, उदास मनस्थिति, बिग्रिएको कपडा लगाएका तनावमा रहेका मानिसहरु नै बढी देख्छु । कहिँ पनि समृद्धिको सूचना देखिँदैन । यहि राजधानीमा कति धेरै महंगा गाडी, उच्चस्तरका नेता  छन् । ७० जना सुरक्षाकर्मी लिएर प्रचण्ड हिँड्छन् । क्यानडाका प्रधानमन्त्री सुरक्षा बिना नै मेट्रोमा हिँड्दा रहेछन् । 

 

 

उत्तरकोरियामा त्यहाँको राष्ट्रिय पोशाक तलदेखि माथिसम्मको घाँग्रीजस्तो हुँदो रहेछ । मिनिस्कर्ट पनि लगाउन थालेछन् महिलाहरुले । दक्षिणको रियामा त कट्टु लगाएर महिलाहरु हिँडछन् । नेपालमै पनि कट्टु लगाएका केटीहरु देख्न थालेको छु । उत्तरकोरियामा चिनियाँ करेन्सी बढी प्रचलनमा रहेछ । सडकमा जाम भन्ने केही पनि थिएन । साइकल त देख्दै देखिनँ । पसलहरु पनि देखिएनन् । 

 

 

एक दिन हामीलाई बजार घुमाउन लगियो । एउटा भेस्ट किन्न खोजेको अति महंगो लाग्यो । भेस्टलाई नै ८० डलर भन्यो । मैले किनिनँ । कि डलर कि चिनियाँ युआन चल्तीमा रहेछ । हाउजिङ सिस्टम प्रचलन रहेछ । तडकभडक भन्ने केही पनि थिएन । बिहान हरेक दिन एक धुन बज्दोरहेछ । कम्युनिष्ट शासन भए पनि श्रमजीवी वर्गको खास उत्थान भएको लागेन ।

 

 

किसान मजदुर पीडित नै रहेको मलाई लाग्यो । गाउँका किसानको अवस्था थाहा भएन । किनभने हामी त्यहाँ पुग्दै पुगेनौं । उत्तरकोरिया र दक्षिण कोरियामा कुनै तुलना नै हुँदैन । दक्षिणको सोल राजधानी संसारकै उत्कष्ट मध्येको एक हो । त्यहाँको स्वतन्त्रता र स्वच्छन्दता उन्नत छ । नाच्ने खाने रमाउने वातावरण दक्षिणमा छ । तर उत्तरमा भव्यता मात्रै छ, जीवन  छैन । दक्षिणकोरियामा मजदुर किसानको अवस्था राम्रो छ । नेपाली कामदारले नै डेढ लाख कमाउँछन् भने अरुले कति कमाउलान् ?

 


प्योङयाङ एड्स र वेश्यावृत्तिमुक्त छ । तर दक्षिण कोरियामा देहव्यापार खुला छ ।  २४ सै घण्टा अश्लिल फिल्म देखाउने पनि टिभी छन् । उत्तरकोरियामा एउटा मात्रै सरकारी टेलिभिजन छ । कम्युनिज्म हेर्न अमेरिका जानु पर्छ भन्ने गरिन्छ । व्यवस्थित तरिकाले कसैले भोग्छ, रमाइलो गर्छ भने दक्षिण कोरियाको शैली नराम्रो होइन । 
  


हाम्रो देशका कर्मचारी र नेतालाई सबैभन्दा बढी मनपर्ने नै विदेश भ्रमण हो । युरोपका देशहरु, जापान, कोरिया अमेरिका घुमेर आउँदा पनि उनीहरुको दिमाग किन फेरिँदैन म छक्क परेको छु । जबकी ती मुलुकहका भव्यताले किन यिनीहरुलाई कहिले प्रभावित पारेन होला ? यो अचम्म लाग्छ । यसपटक पनि ब्यरोक्रेसीले ठूलो रकम विदेश भ्रमणमा खर्च गरेको छ । 

 

जापान लन्डन मात्रै नभएर अहिले भारतको दिल्लीमा पनि सडक सजाउने चलन आएको छ । बिरुवा रोपेर कति हरियाली बनाइएको छ दिल्लीलाई अचम्ममा परेको छु । तर नेपालमा सडक किनारमा फूल फूल्यो भने टिप्न मान्छे पुगिहाल्छन् । घरको फोहोर सडकमा फाल्छन् । नागरिक चेतना कहिले हाउने होला देशमा ? 

(प्रा.डा. केसीसँग भएको भिडियो अन्तर्वार्ताका आधारमा)