मुख्य समाचार

प्रदेश ५

रोजगारीका लागि विदेश जाने दिन अन्त्य हुन्छः मन्त्री बस्नेत

आइतबार, २३ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

रोजगारीका लागि विदेश जाने दिन अन्त्य हुन्छः मन्त्री बस्नेत

बर्दिया । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताएका छन्। 

 

बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने बताए। 

 

व्यवस्था परिवर्तन भएजस्तै नेपाली जनतामा पनि परिवर्तन हुनुपर्नेमा जोड दिंदै मन्त्री बस्नेतले नेपालको संविधानमा अधिकारका सम्पूर्ण कुरा समेटिएकाले संविधान कार्यान्वयन गर्नुको कुनै विकल्प नरहेको बताए। 

 

आगामी आर्थिक वर्षका लागि बजेटमा जनताले महसुस गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन लागेको पनि उनले जानकारी दिए। मन्त्री बस्नेतले कृष्णसार संरक्षणका लागि रणनीति तथा कार्ययोजना बनाएर काम गर्न संरक्षणकर्मीलाई सुझाव दिँदै जनतालाई संरक्षणप्रति अपनत्व महसुस गराउनुपर्ने सुझाव दिए। 

 

कार्यक्रममा सहभागी तथा स्थानीयवासीले कृष्णसार संरक्षण क्षेत्रभित्रका बस्ती व्यवस्थापन गरी संरक्षणका लागि बलियो पर्खाल र बाढीमुक्त क्षेत्र बनाउन मागसमेत गरेका छन्। कृष्णसार संरक्षित क्षेत्रमा भाले ५८, पोथी १ सय ३० र बच्चा २० गरी २ सय ८ वटा कृष्णसार छन्। रासस