राजनीति

भिडियो

कुरा: युवाको

माक्र्सवादका युवा अध्येता भन्छन्ः नेपाली खुट्टा अनुसार 'माक्र्सवादी जुत्ता' चाहिन्छ (भिडियोसहित)

शुक्रबार, २१ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (RP)

माक्र्सवादका युवा अध्येता भन्छन्ः नेपाली खुट्टा अनुसार 'माक्र्सवादी जुत्ता' चाहिन्छ (भिडियोसहित)

काठमाडौं । विश्वभरका मानवलाई उन्नत र आदर्श समाजको बाटो देखाउँदै त्यसको पद्धत्तिबारे सांगोपांगो ब्याख्या गरेका कार्ल माक्र्सको मे ५ मा २ सयौं वर्ष पुगेको छ । अघिल्ला वर्ष झैँ यस वर्ष पनि माक्र्सको जन्मजयन्ति मनाउन माक्र्सवादी पार्टी तथा समूहहरुले विभिन्न कार्यक्रम गर्दै छन् ।
 

 

बिडम्वना, नेपालका माक्र्सवादी तथा कम्युनिष्ट पार्टीहरु कार्ल माक्र्सले देखाएको समतामुलक बाटो छोडेर अन्तै मोडिएका छन् । संविधानमै ‘समाजवादको यात्रा’ त भनिएको छ । तर व्यवहारमा ठीक उल्टो शिक्षा, स्वास्थ्य जस्ता जनताका आधारभुत हकका कुरालाई निजीकरण गर्दै जनताको पहुँचबाट टाढा बनाइएको छ । त्यसो त, माक्र्सवादी पार्टीहरुकै नेतृत्वमा छ सरकार । 

 

यस्तो अवस्थामा माक्र्सवादलाई ‘साईत’ पारेर मनाउने परिपाटीले तात्विक रुपमा कति उपलब्धि मिल्ला ? नेपाली माक्र्सवादीहरु किन माक्र्सवादको बाटोमा छैनन् ? कार्ल माक्र्सले देखाएको बाटो कस्तो हो ? माक्र्सवादकै अध्ययनमा पछिल्लो केही वर्षयता नियमित लागेका युवा अध्येता तथा विश्लेषक हरिराम रिमालसँग हामीले यसपटकको बहस गरेका छौँ ।


रिमालले माक्र्सवादको सन्दर्भ, यसको बुझाइ र व्यवहारको पक्षबारे ब्याख्या गरेका छन् । नेपालको सन्दर्भमा भने माक्र्सवादीहरुमाथि नै शंका उत्पन्न भएको उनले बताएका छन् । वाम पार्टीहरुको एकताको समेत सन्दर्भमा रिमालले सैद्धान्तिक अस्पष्टता भएको बताए । एकतामा अन्योल अवस्था आउनुको पछाडि सैद्धान्तिक अस्पष्टता मुख्य कारण रहेको उनको भनाइ छ ।

 

माक्र्सवादको गति र यसलाई नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले नै व्यवहारिक रुपमा बुझ्न नचाहेको उनको टिप्पणी छ । साथै उनीहरुले माक्र्सवादलाई अनुभुत गर्ने भन्दा पनि पार्टीमा ‘भजाउनको लागि’मात्रै सिद्धान्त अंगालेको रिमालको टिप्पणी छ । यसबाहेक माक्र्सवादलाई कर्मकाण्डको रुपमा मात्रै मनाउनु आफैँमा विरोधाभाषपूर्ण अवस्था रहेको उनले बताए । रिमाल भन्छन्, ‘बरु यसलाई त बदलिँदो समाजको अवस्थासँगै बुझ्नुपर्छ । अनुभुत गर्नुपर्छ । तब मात्र माक्र्सवाद सफल भएको मानिन्छ ।’

 

चीनका नेता माओ त्सेतुङले ‘खुट्टा अनुसार जुत्ता’ भने झैँ नेपालमा पनि यहाँको विशिष्ट अवस्थाससँग जोडेर माक्र्सवाद प्रयोग गर्नुपर्ने उनको सुझाव छ । त्यसो त, रुसमा समेत माक्र्सवादको प्रयोग गर्ने बेला लेनिनले मौलिक अवस्थासँग जोडेर प्रयोग गरेको सन्दर्भ रिमालले जोडे । सोही अनुरुप नेपालमा पनि नेपालको मौलिकता मिल्दो नेपाली खुट्टा अनुसार माक्र्सवादी जुत्ता आवस्यक रहेको बताएका छन् ।