भिडियो

स्ट्रेट फरवार्ड

पृथ्वीनारायण शाहकी बुहारीको अनैतिक सम्बन्ध सिपाहीसँग रहेको आरोप (भिडियो)

बिहिबार, १७ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (PH)

पृथ्वीनारायण शाहकी बुहारीको अनैतिक सम्बन्ध सिपाहीसँग रहेको आरोप (भिडियो)

काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथि प्रेम सिंह बस्न्यात सैन्य इतिहासका विद्यावारिधि पनि हुनुहुन्छ । नेपालको इतिहास र गोर्खाली सेनाबारे उहाँसँग धेरै ज्ञान छ । मूलतः  पृथ्वीनारायण शाहदेखिको नेपालको इतिहासबारे उहाँले नेपालआजसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उहाँले भिडियो अन्तर्वार्ताका क्रममा व्यक्त गर्नुभएको विचारको सारः 


‘चीनको एक जना धार्मिक यात्री जसले तीन हजार वर्ष अगाडि नेपालको भूगोल कत्रो थियो भन्ने विषयमा स्पष्ट पार्नु भएको थियो । २५ सय देखि ३ हजार वर्ष अगाडि पूर्वमा असामदेखि हरिद्वारसम्म नेपाल रहेको देखिन्छ । कसैले पनि हामीमाथि शासन नगरेको देखिन्छ । 


तर समयकालसँग देश टुक्रा भयो । नेपालभित्र ५४ वटा त राजा भए । 


पूर्वमा आसाम, पश्चिममा सतलज नदीसम्म नेपालको सीमा थियो । मानसरोवर पनि पहिले नेपालको अधिनमा थियो । केरुङ कुतीसम्म हाम्रै थियो  ।

 

उत्तरीसीमा पनि परसम्म थियो । राजा जितारी मल्लको शिलालेख गयामा छ । यी धेरै टाढा छन् । त्यसबाट हाम्रो देशको प्रभाव कति थियो भन्ने बुझिन्छ । 



पूर्व सोभियत संघ कति धेरै ठूलो थियो । पहिले पहिले हामीलाई पढाउँदा जनपति चीन, भूमिपति रुस र धनपति अमेरिका भन्ने गरिन्थ्यो । नेपाल पनि ठूलो थियो । केन्द्र सरकार कमजोर हुँदा कतिपय गुम्यो । 


१८०१ यताको समय आधुनिक काल हो । यो आधुनिक कालमै पृथ्वीनारायण शाहले देश एकीकरण गरे । 


अहिले नेपालमा राजा पृथ्वीनारायण शाहले एकीकरण गरेको होइन, विस्तार गरेको, साम्राज्यवाद थियो भन्ने गरिन्छ । तर खासमा यो एकीकरण नै थियो । पृथ्वीनारायण शाहले तीब्बत र भारतमाथि आक्रमण गरेनन् । यसकारण यो साम्राज्यवाद होइन । यो एकीकरण हो जसरी जर्मनी एकीकरण भयो । 


पृथ्वीनारायण शाहका बुबाले नै कान्तिपुरलाई आफ्नो हातमा लिन चाहन्थे । उनले नुवाकोटमै आक्रमण गरेका थिए । तर सफल भएनन् । नुवाकोट कब्जा गरेपछि तीब्बतसँग व्यापार गर्न सजिलो हुन्थ्यो । नरभूपालको चाहना पूरा हुन नसकेपछि पृथ्वीनारायण शाहले एकीकरणको योजना बनाएका थिए । 


भक्तपुरका राजा रणजित मल्लका छोरा वीरनरसिंहसँग पृथ्वीनारायण शाहले मितेरी साइनो थियो । र त्यो मितेरी नाताले उहाँ भक्तपुरमा पनि बस्नु भयो । त्यहाँको सबै कुरा पृथ्वीनारायण शाहले सबै देखेका थिए । काठमाडौं उपत्यकाको आकर्षण थाहा थियो । त्यही आकर्षणले उहाँलाई राज्य एकीकरणमा मोहित बनायो । 


पछि पृथ्वीनारायण शाहले धेरै भुभागलाई एक गर्नुभयो । 


नुवाकोटमाथिको पहिलो हमलामा पृथ्वीनारायण शाह आफैले नेतृत्व गरेका थिए । पहिले पहिलेको युद्धमा राजा, कमाण्डर आफै युद्धमा जान्थे । उनीहरुका सेना पनि ज्यान फालेर होमिन्थे । 


पृथ्वीनारायण शाहले १८०१ को नुवाकोटमाथिको पहिलो हमलामा आफैले नेतृत्व गरे । तीन तिरबाट आक्रमण गरेका थिए । महामण्डलबाट एक भाई, त्रिशुलीबाट एक भाइ र तीनधारेबाट अर्को भाइले आक्रमण गरेका थिए । काठमाडौं, कीर्तिपुर आदिमा पनि त्यसैगरी आक्रमण गरे ।

 
युद्धका युद्ध गरेर एकीकरण गरे । बनारसबाट हतियार किन्ने, आफै सिपाही भएर एक गरे । खासमा पृथ्वीनारायण शाह राजा थिए । तर उनको कौशल सेना कमाण्डर जस्तो थियो । 


बाइसे, चौबीसेबाहेक अरु राज्य पनि थिए । मकवानपुरका सेन राजाहरु, बुटवालका राजाहरुले अंग्रेज देखेपछि उनीहरुले सेना तयार पारिसकेका थिए । चौदण्डी, विजयपुर आदिमा राइलिम्बु तयार नै थिए । काठमाडौं तिर पनि साना साना समूह थिए सेनाका । धेरै ठूलो फौज थिएन ।


गोर्खामा राज्यको सेना धेरै थिएनन् । सबै जनता नै फौजका रुपमा थिए । राज्यको आह्वानमा आफ्नै सातु, सामल बाकेर हतियार बोकेर युद्ध गर्न जानु पथ्र्यो । आफ्नै घरको हतियार बोकेर जानु पथ्र्यो । १२ देखि माथि, ८० देखि तलका सबैले जानु पथ्र्यो । घरधुरी मानिसहरु जान्थे । पिपुल्स आर्मीको प्रणाली थियो । 


जनतालाई सैन्य तालिम दिनु पर्छ भन्ने मान्यतामा छु म त । सानो आकारमा सेना राख्ने, बाँकी सबैलाई सैन्य तालिम दिने हो भने त्यो युद्धको बेला काम लाग्छ । 



पृथ्वीनारायण शाहलाई जसले जे सुकै भनेर आलोचना गरे पनि उनले त्यो बेलामा जे जे बोले त्यसकै वरिपरि अहिले पनि हामी घुमिरहेका छौं । दुई ढुंगा बीचको तरुल भने उनले । त्यो कुरा कति महत्वपर्ण छ । उनले दक्षिणको छिमेकी चतुर छ भनेका थिए । त्यो भारतलाई भनेको थिएन । अंग्रेजलाई भनेका थिए । आर्थिक नीतिमा उहाँले सेनालाई पैसाको साटो जमिन दिए ताकि उत्पादन हुन सकोस । 


खानी भएको ठाउँमा बस्ती हटाएर भए पनि खानी निकाल्नू भनेका थिए । त्यही कुरा अहिले पनि हामीले गर्ने कोसिस गरिरहेका छौं । 


पृथ्वीनारायण शाह धार्मिक यात्रा लिएर बनारस गए । गोत्र परिवर्तन गरे । सगोत्री मार्न नपारोस भनेर गोत्र परिवर्तन गरे । भारद्वाजबाट काश्यप भए । पश्चिमका शाहहरुलाई मार्न उनले गोत्र परिवर्र्तन गरे । 


बनारसबाट हतियार ल्याउँदा डोलीमा राखेर ल्याए । अरुले व्यवधान नगरोस भनेर त्यसो गरेका थिए । हतियार र तालिमप्राप्त सेना नभएका कारण उनले त्यतातिर ध्यान दिए । बेखा सिंह, शेख अन्वरजस्ता हतियार विशेषज्ञ लिएर आएका थिए । उहाँसँग आएका मुसलमानहरुले गोर्खामा हतियार उत्पादन गरिदिए । मुसलमानहरुका कारण  नेपाल एकीकरण सफल भएको हो । तीनै मुसलमानहरुका सन्तान अहिले पनि गोर्खामा बस्छन् ।


पृथ्वीनारायण शाह दहचोकको डाँडोमा २१ वर्ष बसेका थिए । 


चेपेनदीदेखि टिस्टा नदीसम्म सीमा विस्तार भयो । महाभारतको दक्षिणतिर सेन राजाहरु थिए । पूर्वमा मेची कोशी तिर सिक्कीमका राजाका सेना आएर प्रशासन चलाएका पनि थिए । गोर्खाली सेना त्यहाँ जाँदा सिक्कीमे फौजविरुद्ध लडेका थिए । 


इलामको नजिक पुग्दा सिक्कीमेहरुले टिस्टासम्म छाडिदिने बताए । अनि पृथ्वीनारायण शाहले सिक्कीम आक्रमण गरेनन्, छाडिदिए । 

 


पृथ्वीनारायण शाह मान्छे मार्ने भन्दा पनि आत्मसमर्पण गराउने नीतिमा थिए । ताकि कम क्षति होस । कान्तिपुरको लडाईमा एक जना मरे । भक्तपुरमा एक जना पनि मरेनन् । कीर्तिपुरमा गोर्खालीहरु बढी मरे । उतिखेरको कुरालाई अहिले २१ औं शताब्दीमा आधुनिक मानवअधिकारको कसीमा राख्ने मुर्खहरु पनि छन् । 


१८७२ तिर मलाउको युद्धमा कायरतासाथ भाग्नेहरुको नाक काटिएको थियो । १९१४ साल तिर जंगबहादुरले तिब्बतमा आक्रमण गर्दा भारी बोक्ने मानिस भाग्दा धेरेको नाक कान काटियो । ताकि कायरको संज्ञा दिनु भन्ने थियो । यो चलन मुगलहरुमा पनि रहेछ । बेलायतीहरुले लेखेको दस्तावेजमा यस्तो पाइन्छ । कीर्तिपुरको आक्रमणमा सुरप्रताप शाहको आँखा नै फुट्यो । उनी पृथ्वीनारायण शाहका भाइ थिए । युद्ध सकिएपछि एक अर्कालाई हमला नगर्ने सहमति भएपछि गोर्खालीमाथि कीर्तिपुरेहरुले बास बसेको ठाउँमा आक्रमण गरेका छन् । धर्ममा अडिने परम्परा थियो । त्यो मासियो ।

 

कालभैरवमा मल्लकालको न्यायलय थियो त्यो । बदमासी गर्नेलाई कसुर अनुसार दण्ड हुन्थ्यो । पृथ्वीनारायण शाहले त्यो नगरी नाक कान मात्रै काटिदिए । ७० धार्नी भन्ने केही थिएन । नाक कान ७० धानी हुन कति मानिस चाहिन्छ ? त्यो बेला कीर्तिपुरमा त्यति जनसंख्या थियो त ? 


युरोपेली युनियनको पैसा खाएकाहरुले पृथ्वीनारायण शाहको विरोध गर्छन । जनजातिको अधिकारको कुरा जोडेर पृथ्वीनारायण शाहको विरोध गर्छन् । पृथ्वीनारायण शाहको सेनामा मगर गुरुङहरुकै वर्चश्व थियो । दलितहरुसमेत थिए । 


त्यो बेला त जनजातिकै युग थियो ।


 डोल्पाको एउटा गुम्बामा पृथ्वीनारायण शाहको शालिक छ । त्यहाँ गुठी राखिदिएका थिए । त्यो भनेको के हो ? अर्थात उनले कुनै धर्म, जात विशेषका लागि मात्रै त काम गरेका रहेनछन् । सबैका लागि गरेको प्रमाण हो नी त्यो । 


पृथ्वीनारायण शाह आफै लड्न जान्थे । राजा भएर आफै युद्धमा जाने भनेको त्यति सामान्य कुरा होइन । उनमा रिस अत्यन्त उच्च थियो । रिस उठेपछि हतियार झिकी हाल्थे । कीर्तिपुरमा त पृथ्वीनारायण शाहलाई काट्न लागेका थिए  । त्यहाँको सेनाले राजा हुन्, विष्णुका अवतार हुन् भनेर नेवार सिपाहीहरुले काटेनन् । 


बनारसबाट हतियार लिएर फर्किदा सीमामा अवरोध भएछ । पृथ्वीनारायण शाहले अवरोध गर्नेहरु सबैलाई काटेछन् । मकवानपुर ससुराली जाँदा त्यहाँको सिपाहीले जुत्ता नफट्याइ सलाम गरेछ । हेपेर सलामी दिएको देखेपछि उनले त्यहाँ पनि सिपाई काटेछन् । 


तर त्यो जमाना, राजाको स्टाटस आदिले त्यस्तो गरायो । पृथ्वीनारायण शाहले आफ्ना पितापुर्खाले जस्तै लुरे भएर बसेनन् । जसका कारण एकीकरण सम्भव भयो । पृथ्वीनारायण शाहको कमिकमजोरी धेरै हुन सक्छ । तर उनी अद्भूत थिए ।

 
६३ सालभन्दा अगाडिको इतिहासलाई त अब कालो इतिहास मानेर दूष्प्रचार हुन थालेको छ । 


पृथ्वीनारायण शाह ५५ वर्षजतिकै उमेरमा बिते । पृथ्वीनारायण शाहका छोरा प्रताप सिंह शाह थिए । सुयोग्य राजाका लम्फू छोरा हुन प्रतापसिंह शाह । बाबु लडाईका लडाईमा हुने । पृथ्वीनारायण शाहका अर्का छोरा बहादुर शाह पनि उनीसँगै हुने । तर प्र्रताप सिंह दरबारको दरबारमै हुने गर्थे । 


पृथ्वीनारायण शाहको निधन भएपछि प्रतापसिंह शाह राजा भए । 


गोर्खाली सेनासँग पराजित भएका पाटनका प्रधानमन्त्रीका काठमाडौंका भारदार हुन आइपुगे । ती भारदारका बहिनीहरुसँग प्रतापसिंह शाहको भेटघाट हुन्छ  । उनीहरुसँग लागेर उनी तान्त्रिक हुन खोज्छन् । मांस, मदिरा, मैथुनमा उनी लिप्त हुन थाल्छन् । दुई अढाई वर्ष राजा भएर उनी मरे । 


सुकर्मबाट प्रतापसिंहको इतिहास लेखिएको छैन । रक्सी खाएरै उनी मरे भन्दा पनि हुन्छ । उनीपछि रणबहादुर शाह अढाई वर्षको उमेरमै राजा भए ।

 

बहादुर शाह त युद्धका युद्धमा हुन्थे । त्यसका कारण बहादुर शाह लोकप्रिय पनि थिए । प्रतापसिंहको निधन अघि नै भारदारहरुले बहादुर शाहले सत्ता पल्टाउन सक्छ भन्ने सुनाइदिए । पृथ्वीनारायण शाहका एक भाई पनि थिए दलजित शाह । उनले बहादुर शाहलाई माया गर्थे । 


बहादुर शाह नुवाकोटमा बाबुको किरियामा बसेको बेला प्रतापसिंह शाहले थुनिदिए । नजरबन्दमा राखिदिए । भाई राजा होला भन्ने डरले प्रतापसिंहले त्यस्तो गरिदिए । 


किरिया सकिएपछि पनि जेलमा राखे । उनी राजा भए । दरबारभित्रको षडयन्त्रको त्यस्तो खेल भयो । गजराज मिश्रहरुले दलजित र बहादुर शाहको जिम्मेवारी आफूहरु लिन्छौ भने । राजासँग आग्रह गरेपछि ती दुईलाई प्रतापसिंह शाहले मुक्त गरे र चितवनपारि पठाउन तयार भए । 


यता प्रतापसिंहको निधनभएपछि उनकी पत्नी राजेन्द्रलक्ष्मीले नायबी भएर शासन चलाउन थालिन् । उनले केटीहरुकै सैनिक डफ्फा बनाएकी थिइन् । उनले ससुरा पृथ्वीनारायण शाहको सपना पूरा गर्न थालिन् । बलभद्र शाहलाई सेनापति पद दिइन् । फेरि युद्धमा निस्किने तयारी भयो । तर पृथ्वीनारायण शाहको पूर्वमा सिक्किम नछुनू भन्ने उपदेश थियो ।  त्यसपछि चेपेनदि पश्चिम गोर्खाली सेना लाग्यो । लमजुङ, कास्की, तनहुँतिर गोर्खाले हमला गर्ने सोच बनायो । त्यो बेला ती राज्य हान्न धेरै चुनौतीपूर्ण थियो । काठमाडौंमा राजा पनि नभएको अवस्था थियो । पृथ्वीनारायण शाहले समेत आँट नगरेको तीनै राज्य राजेन्द्रलक्ष्मीले एक गरिन् । 


त्यसबीच बहादुर शाह नेपाल फर्किन्छन् । फर्केपछि भाउजू र देवर मिलेर काम गर्छन् । पछि टसल पनि हुन्छ । सर्वजित रानामगर सेनापति भए । भाउजूसँग अनैतिक सम्बन्ध गर्यो भनेर सर्वजित राना काटिए । राजेन्द्रलक्ष्मी दरबारकै जेलमा थुनिइन् । त्यो काम बहादुर शाहले गरेका थिए । देवर बहादुर शाह कास्की भन्दा पश्चिम पनि एकीकरण गर्न चाहन्थे । राजेन्द्रलक्ष्मी त्यो कामको नायबी अरुलाई दिन चाहन्न थिइन् । राजमाता राजेन्द्रलक्ष्मी र सर्वजित रानामगरबीच अनैतिक सम्बन्ध भएको आरोप बहादुर शाहले लगाए । तर उनी गर्भवती भएको पाइएन ।


बहादुर शाहलाई सेनाले मान्थे । पृथ्वीनारायण शाहको गुण उनमा थियो । पाल्पाबाहेक पश्चिम तर्फ गोर्खाली सेना अगाडि बढ्दै गयो । बहादुर शाह ८ वर्षमा कास्कीदेखि सतलज काटेर पारि पुगे । त्यति कम समयमा यति ठूलो भूभाग लिनु चानचुन थिएन । त्यो बेलाको शक्तिशाली राज्य उनीहरुले जिते । उनको पालामा पाल्पा राज्य गाभिएन । ससुराली राज्य थियो । धनी पनि थियो । लखनउ, ब्रिटिस र तिब्बतसँग पनि राम्रो सम्बन्ध थियो ।


पाल्पा पश्चिम सतलजसम्मको युद्धमा पाल्पा राज्यले गोर्खालाई सहयोग गरेको थियो । ससुराली राज्य भएकोले त्यहाँ आक्रमण गर्ने योजना थिएन । 


पृथ्वीनारायण शाहले राज्य जितेर त्यहाँका राजा खारेज गरिदिन्थे । बहादुर शाहले राज्य जितेर राजालाई आफ्नो बसमा राख्थे । नाम मात्रैको राजाको पगरी राखिदिन्थे । कास्की पश्चिममा त धेरै राजा त महेन्द्रको पालाअगाडिसम्म छँदै त थिए । कोही भिरकोटे राजा, कोही बझाङी राजा, कोही जाजरकोटे राजा त अस्तिसम्म थिए ।