बिचार

सर्वहारा दलबाट मन्त्री बनेकाहरुले दिए 'गोरे'लार्इ चुनौती !

राज्यका संवेदनशील निकाय राम्रा हैन, हाम्रा मान्छे भर्न प्रतिस्पर्धा बढ्याे

बिहिबार, १७ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

सर्वहारा दलबाट मन्त्री बनेकाहरुले दिए 'गोरे'लार्इ चुनौती !

काठमाडाैं । कुनै एक मन्त्री खुसी हुँदै मिठाई बाँडिरहेका थिए । यो दृश्य देखेर मन्त्रीका एक साथीले सोधे– ‘तिम्रो छोरो त जाँचमा फेल भयो र पनि तिमी कुन खुशीमा मिठाई बाँडिरहेका छौ ?’ प्रश्न झर्न नपाउँदै मन्त्रीले उत्तर दिए– ‘मेरो छोरो फेल भो त के बिग्रियो ? कक्षाका सम्पूर्ण ५० विद्यार्थी मध्ये २० जनाले मात्र पास हुने मौका पाए । ३० जना फेल भए । यस अवस्थामा आखिर बहुमत त मेरो छोराकै पक्षमा छ । म यही खुसी बाँड्न मिठाइ ख्वाइरहेको छु ।’ 

 

यो कुनै आरोप, पूर्वाग्रह र व्यंग्य होइन । राजनीतिलाई समावेशी बनाउने नाममा यत्र, तत्र, सर्वत्र अयोग्य मानिसको भीड बढाइएपछि देखिएको परिणाम हो । संघीय राजनीतिक संरचनाका नाममा जनअनुमोदित भेडीगोठमा भएका कुकर्म संझदा पनि कुरीकुरी लाग्ने अवस्था छ । राजनीतिक परिवर्तन आफ्ना हुक्के, ढोके, चम्चे, चण्डमुण्डलाई राजपाट सुम्पनु होइन भन्ने चेत नेताहरुमा कहिल्यै आएन ।

 

राज्यका संवेदनशील निकाय राम्रा हैन, हाम्रा मान्छेले भरिने प्रतिस्पर्धा बढेको छ । अयोग्य मानिसलाई आँक्न नसक्ने अवसर दिइयो भने अवसर दिने र पाउने दुवैको हित हुँदैन । नेपालका दुई ठूला पार्टी एकढिक्कापछि जम्बो जहाज त बन्यो तर टेष्ट फ्लाईटमै लालजोडी, तिनका आसेपासे, नातागोताले जहाज भरियो । गाडीको सिण्डिकेट हटाउन कम्मर कसेको सरकारका क्याप्टेन ओली र पार्टीका पाइलट दाहालले प्राईभेट जहाज लिएर उडान भरे । जहाज नयाँ पाइलट पुरानै भएपछि आशा गर्ने ठाउँ साँघुरिदै जान्छ ।

 

पेन्टियम वान कम्प्युटरको प्रशिक्षकले पेन्टियम नाइन पुस्तालाई गाईड गर्ने सामथ्र्य कमै राख्छ । राजनीतिमा कागजी चिर्कटोको नभएर इमानको मूल्य हुन्छ । पद्मशमशेरले आफूलाई राष्ट्रको नोकर भनेर शुद्धीकरणको छनक त दिएकै थिए, तर उनी कति नोकर प्रमाणित भए ? इतिहास साक्षी छँदैछ । केपी ओली नेपाली राजनीतिका बाचाल प्रतिभा हुन् । उनले किताव थोरै बाटो, माटो, लाठो र जीवनको घुम्ती धेरै पढेका छन् ।

 

घडी किन्दा समय किन्न सकिदैन भन्ने सत्यसँग उनी अपरिचित हुने कुरै भएन । देश र परिवारको व्यवस्थापन उस्तै हो । राम्रोसँग परिवारको गाडी चलाएको व्यक्तिलाई देशको कार्यकारी पद सुम्पियो भने उसले कहिँ बाँझो राख्दैन । दशैं, तिहार, तीज, जात्रामा महत्वाकांक्षी मागको सपिङ लिस्ट बुझाउने परिवार सदस्यलाई प्राथमिकताका आधारमा सम्बोधन गरी सबैको चित्त बुझाउनुकै ठूलो आकार देश सञ्चालन र समन्वय हो ।

 

देश व्यवस्थापन जिम्मेवारी लिएको मेनेजरले धेरै सुन्ने, कम बोल्ने गर्नुपर्छ । यो मामलामा ओली गतिविधि उल्टो छ । हाम्रो देशका मुखियाहरुले राखेका सल्लाहकार भनिएका तलबी खजान्ची हुन । जसको औकात गम्छा र छाता बोकेर हिँड्ने माथिको छैन । लोकसेवामा देशको राष्ट्रिय खेल डन्डिबियो उत्तर लेखेर धेरै पुस्ताले पेन्सन पकाए । यो खेल इतिहासमा सीमित भइसक्यो । बरु लगानी विनाको क्रिकेट फिवरले सन्दीपजस्ता उम्दा प्रतिभा जन्माई सक्यो ।

 

नरोपेको बाली यसरी झाँगिएपछि नीति निर्माताहरुले २४ घण्टा एक गरेर सन्दीपहरु जन्माउन हिमाल, पहाड र तराईमा क्रिकेटका भौतिक पूर्वाधार बनाउनुपर्ने हो । स्वयं सरकार प्रमुखको भाषण ‘डल्लो’ प्रहसनबाट माथि उठ्न सकेको छैन् । खाना चाहिने खेती नचाहिने, बाटो घरघर पुग्नुपर्ने, एक चपरी माटो गुमाउन नचाहने, शुद्ध पानी चाहिने, मूल मास्ने, अर्गानिक दूध खोज्ने, गाई नपाल्ने, बुहारी चाहिने तर छोरी नचाहिने, वास्तवमा यस्तै कार्पेटमुनिका समस्या टाउको दुखाई बनेका छन् ।

 

पुलिसका प्राविधिक शब्दसँग के मतलव ? यो उखरमाउलो गर्मीमा सबैको घरका झ्याल खोलेर ढुक्कसँग सुत्ने सुविधा मिलाइदिनुस त शान्तिसुरक्षा सप्रिएको कसैले प्रमाणित गर्नै पर्दैन । निशुल्क ओखती, स्वास्थ्य क्षेत्रमा गरिएका तपसिलका लगानी कटौती गरेर प्रत्येक जनतालाई सस्तो दरमा बोइलर कुखुराको मासु, एकमाना चामल र एक लिटर शुद्ध पिउने पानी हात लगाइदिनुस त त्यो जनशक्तिले बालुवामा हलुवा पकाएर छोड्छ । अबको सम्पत्ति भनेको मानव जनशक्ति हो । यसमा गरिएको लगानी सार्थक हुन्छ । वल्र्डकपको रापले संसार तातिसक्दा हामी भने गोरे गोल्डकपमा झुत्ती खेलिरहेका छौं । विश्वको विकास प्रक्रियाबाट अल्टर हुनुको मुख्य कारण यही हो ।    


माक्र्सवादीको शक्तिशाली सरकार भएको देशमा जनता मास्कवादी छन् । लेनिनले सबै जनताको पहुँचमा चिनी नपुगेसम्म खल्लो चिया खाने प्रण गरे । रोटीमा जनताको अधिकार स्थापित नभएसम्मका लागि केक काट्न बन्देज लगाए । तर गोरे सुन भरियालाई चुनौती दिँदै हाम्रा सर्वहारा दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले तोलाका तोला सुन आफरूसँग रहेको बोधार्थ दिए ।

 

सरकारको अर्धवार्षिक परीक्षामा यो अंक थपघटको कानुनी व्यवस्था त छैन तर नैतिकताको लक्ष्मणरेखा कोर्ने नकोर्ने स्वविवेकीय अधिकार उनीहरुकै हो । कौटील्यको अर्थशास्त्रले मुलुक समृद्धिमा पु¥याएको सफल शासकले  आफू झुप्रीमा बसाईं सरेर टुकीको उज्यालोमा रात व्यतीत गर्नुपर्ने दीक्षा दिएको छ ।

 

अझ भगवान श्रीरामले राज्य गरेको रामराज्यमा कपालको एउटा रौं फुल्नासाथ उत्तराधिकारीलाई सत्ता सुम्पनुपर्ने व्यवस्था थियो । राजा जनकको मिथिला राज्य त लोकतन्त्रको मूल्य मान्यता स्थापित गरेको यस्तो भूमि हो, जहाँकी युवराज्ञीको विवाहसमेत प्रजातान्त्रिक प्रक्रियाबाट भएको थियो । सत्ताको उन्मादले यी सत्य सहजसँग ग्रहण गर्दैन । 

 

बहुमतको दम्भ पाल्नु भनेको ताल्चा व्यापारीले आफ्नो घरमा चोर लाग्दैन भनेर मख्ख पर्नुजस्तै हो । बाहिर बाहिर मोतीमालाको चर्चा भए पनि त्यसको हार मिलाउने सूत्रधारको काम एउटा सामान्य धागोले गरेको हुन्छ । त्यसैले ठूला कुरा गर्दा सानाको भूमिका नजरअन्दाज गर्नुहुन्न । जगको ढुंगा देखिदैन भन्दैमा त्यसलाई कम आँक्नु मूख्याईं हो । नजान्नेको उपचार छ । तर जान्दछु भनेर सपार्नु त परै जाओस् भएको पनि सिध्याउने अतिवादीहरुको उपचार छैन ।

 

नेपाल नै नटेकेको विदेशी उहीँ बसेर रेसम फिरिरि गाउने कुशल गायक बनेका उदाहरण छन् । तर योग्यता, साधनाले नभएर जनयुद्धमा बास बसेको, जेलमा भात बोकेको, नेतालाई विना व्याज ऋण दिएको, विदेश जाँदा आतेजाते टिकट काटिदिएको जस्ता नाताका आधारमा राजनीतिमा प्रवेश पाएकाहरुले राजनीतिलाई कमाउको साधन बनाएका छन् । अर्काथरि छन– आस्था, निष्ठा, इमान्दारी भगवानलाई चढाएर नाफाको व्यापार गर्न पल्किएका सुकिला मुकिलाहरु ।

 

सन्तानलाई युरोप, अमेरिकामा स्थापित गराइसकेपछि बाँकी जीवन पिकनिकमा विताउन स्वदेश बसेका यिनीहरुले ‘जनयुद्धको मनोविज्ञान’ अनुसार नेताहरुलाई काम गर्ने रोडम्याप तयार गरिदिने गरेका छन् । यिनै थिए, जसले राजा ज्ञानेन्द्रलाई उकासेर टिभीमा समाचार पढाउन लगाए ।

 

यस्तैको तोरीलाहुरे गफमा भुल्दा नेताहरु रंग छुट्याउन नसक्ने भएका छन् । राजा त्रिभुवन आसेपासेहरुसँग भन्थे रे– ‘हाम्रा जनता जाबो दूध भात पनि खान पाउँदैनन त ?’ उनी त राजा भए केही हदसम्म यस्तो फन्टुस बुझाई पनि ठिक्कै होला रे ! तर हिजोसम्म कोदाको ढिंडोका भरमा जीवन घिसारेकाहरु कोदो र तोरीको अन्तर छुट्याउन नसक्ने भएपछि चाहिँ राजनीतिको बेथितिले धेरैलाई पोल्न थालेको हो । 


विश्वका प्रख्यात राजनीतिज्ञहरुले शिक्षाको शुरुवात कितावबाट होइन, कोक्रोबाट गरेका छन् । अब्राहम लिंकन स्कुलका प्रिन्सिपललाई चिट्ठी लेखेर आफ्नाे सन्तानलाई व्यावहारिक ज्ञान दिलाउन आग्रह गर्थे । भारत स्वतन्त्रतापछि पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले जेलबाट छोरी ईन्दिरा गान्धीका नाममा पठाएका पत्रको पुस्तक नै छापिएको छ । जुन चिट्ठी ईन्दिरा गान्धीको राजनीतिक शुरुवातीको आधारस्तम्भ नै ठहरियो ।

 

बीपी कोइरालाले पनि जेलबाट नै छोरी चेतनालाई पत्र लेखेका थिए । जुन पत्रमा उनले ज्ञान, विज्ञान, समाज र संस्कृतिका विषयमा जानकारी गराएका थिए । आमा भनेको के हो ? यो प्रश्नको जिज्ञासा मेटाउँदै बीपीले छोरीलाई पठाएको पत्रमा लेखेका छन्– ‘यौटी स्वास्नी मानिस मात्र तिमी आमा हुन, जसको नाउँ छ सुशीला । यदि विज्ञानको कुरा गर्ने हो भने तिमीलाई धेरै खाँचो पर्दैन आमा को हो भन्ने बुझ्न ।

 

तिम्रो मनको मायाको आँखाले सुशीलालाई आमा भनेर देखेको छ । तर विज्ञान अथवा साइन्सले आमा भन्ने को हो भन्ने चिन्न खोज्दा मनको मायाको आँखाले हेर्दैन । त्यसले अर्कै किसिमबाट आमा भन्ने मानिसलाई चिनाउँछ ।’ चिट्ठीमा बीपी थप्छन– ‘९ वर्ष पहिले तिमी थिइनौं । कतै पनि आकाश, पाताल, पृथ्वी कतै पनि थिइनौ । तिमी सबभन्दा पहिले बन्न पुग्यौ सुशीलाको पेटमा आँखाले पनि नभेट्टाउने एकदम थोप्लो जस्तो भएर ।

 

९ महिना जति सुशीलाको अँध्यारो पेटमा टाँसिएर बसिरह्यौ त्यस अँध्यारो कोप्चो ठाउँमा । त्यो सानो थोप्ला ९ महिनासम्म बढ्दा बढ्दा हात, गोडा, टाउको र अरु अंगप्रत्यंग भएकी गुडिया जस्ती यौटी सानी केटी बन्दै गई र ९ महिनापछि त्यो सानी केटी, एक हातभन्दा पनि सानी आमाको पेटबाट निस्की । त्यै केटी त्यत्री ठूली चेतना भएकी छ ।’ 


अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको किस्सा नै अलग छ । उनी प्राथमिक कक्षामा पढ्थे । एकदिन स्कुलले उनीहरुलाई शैक्षिक भ्रमणका लागि अमेरिकी राष्ट्रपति बस्ने भवन ह्वाईट हाउस घुमाउन लगेछ । विद्यार्थीहरुले चाख मानी मानी ह्वाईट हाउसको सम्पूर्ण कक्षको अवलोकन गरेछन् । घुमघाम सकिएपछि ह्वाईट हाउस कस्तो लाग्यो ? भनेर अनुभव लेख्न एउटा पुस्तिका दिइएछ । साना बालबालिकाहरु कसैले के लेखे, कसैले के लेखे । त्यसै मध्येका बालक केनेडीले लेखेछन– ‘भविष्यमा म आएर बस्ने ठाउँ ठिकै रहेछ ।’ भविष्य द्रष्टा तिनै बालक कालान्तरमा अमेरिकाको राष्ट्रपति भए । 

 

कानमा लगाइएको सुनले आफ्नो विज्ञापन गर्दैन । त्यसको सौन्दर्यपान मानिसले बाहिरबाटै हेरेर गर्न सक्छ । हो, साँचो शिक्षा पनि त्यही सुनको गहनाजस्तै हो । नीति नियम, शिक्षा समाजको पिछडिएको व्यक्तिलाई लक्षित गरिन्छ । कक्षाको सवैभन्दा नजान्नेलाई लक्षित गरी पढाइएको शिक्षा सार्थक हुन्छ । कक्षाको उत्कृष्ट छात्रलाई लक्षित गरिएको शिक्षाले शिक्षक पनि सफल होइन । तर अहिले लायक बनाउन सन्तानका लागि गरिएको लगानी आफैँलाई नालायक प्रमाणित गर्ने काममा खर्च हुने गरेको छ । एकप्रकारले शिक्षा नजानिदो धोकाजस्तै भएको छ । 


[email protected]