बिचार

प्रधानमन्त्रीज्यू, मठमन्दिर जाँदा गणतन्त्रमा तमासा हुन्छ ? 

मङ्गलबार, १५ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

प्रधानमन्त्रीज्यू, मठमन्दिर जाँदा गणतन्त्रमा तमासा हुन्छ ? 

अस्मिता भण्डारी, महासचिव, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भाषणहरुमा धर्मशास्त्रहरुमा उल्लेख भएका ऋषिमुनीहरुलाई आफ्ना पुर्खा ठानेको पाइन्छ । उहाँले पटक पटक भन्नु भएको छ कि ‘हाम्रा पुर्खाहरु विद्वान थिए । अनुसन्धानकर्ता थिए । यो भूमि भनेको विद्वान ऋषिमुनीहरुको मुलुक हो ।’ 

 

उहाँले आफ्ना मन्तव्यका क्रममा पटक पटक हिन्दुधर्मशास्त्रलाई उद्धृत गरेर विचार राख्नु भएको छ । महाभारत, रामायण, वेददेखि कर्मकाण्डका कुरासमेत उहाँले गरेपछि यो क्षेत्रको पनि उहाँलाई ज्ञान रहेको प्रतित हुन्छ । जेलमा बस्दा केपी ओलीले अंग्रेजी शब्दकोषको ‘टी’सम्म कण्ठ पार्नुभएको थियो भन्ने चर्चा पनि छ । औपचारिक अध्ययन कम भए पनि सबैजसो क्षेत्रबारे उहाँ जानकार हुनुहुन्छ । 

 

पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न मठमन्दिरमा पुजाआजाकालागि देशाटनमा निस्किने गर्नु भएको छ । राष्ट्रप्रमुख मात्रै नभएर शाहवंशीय राजसंस्थाका उत्तराधिकारीले नेपालको गणतान्त्रिक संविधानले नै प्रत्याभूत गरेको अधिकार प्रयोग गरेर तीर्थाटनमा निस्किदा प्रधानमन्त्री ओलीले भन्नु भयो ‘मन्दिर मन्दिर घुमेर तमासा नगरे हुन्छ ।’ 

 

एक हास्य कलाकारले प्रस्तुत गर्नुभएको एक वाक्य अहिले याद आइरहेको छ । उहाँले भन्नुभएको  थियो, ‘बारीको काउली खाए पो बारीको माया लाग्छ, पारिको काउली खाएपछि पारिकै माया लाग्छ ।’ यहाँ पारिको काउली खाएर पारिकै भक्ति गाउने, नेपाली भएर नेपालकै अहित हुने गरी क्रियाकलाप गर्नेहरु आज खुलेआम घुमिरहेका छन् । 

 

नेपाली किसानले फलाएको दाल चामल खाएर नेपाली चेली, नेपाल आमाविरुद्ध बोल्ने सिके राउतका हर्कत ओलीलाई आजसम्म ‘तमासा’ लागेको छैन । तर पूर्वराजाले मठमन्दीर पुगेर नेपाली जनतासँग भेट्दा तमासा लाग्न थालेको छ । 

 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विश्वभरका हिन्दुहरुका दर्जनौ संस्थाले विनाविवाद ‘हिन्दु सम्राट’को उपाधि दिएका छन् भन्ने कुरा केपी ओलीले नबिर्सनु पर्ने हो । हिन्दुका सम्राटले मठमन्दिर जाँदा तामासा कसरी हुन्छ ? के उहाँले पनि दुई चारहजारमा धर्म बेच्ने किन्नेहरुको जस्तै क्रियाकलाप गर्नु पर्ने हो र ? 

 

जन्मले हिन्दु, कर्मले नास्तिक र द्रब्यले इसाई भएका बाबुराम भट्टराई, कृष्णबहादुर महराले जस्तै व्यवहार पूर्वराजाले पनि प्रदर्शन गर्नु पर्ने हो कि ? 
प्रचण्डले भैसी पूजा गर्नुभयो । केपी ओलीलाई तमासा लागेन । ९४ प्रतिशत ओमकार परिवारका मानिस बस्ने देशलाई धर्मनिरपेक्ष बनाइयो । उहाँलाई तमासा लागेन । धर्मनिरपेक्षता भन्ने शब्द संविधानमा नलेखियोस भन्ने बहुसंख्यक जनताको सुझावलाई लत्याएर बाबुराम भट्टराईले धर्मनिरपेक्षता राखेरै छाडे । तर पनि उहाँलाई तमासा लागेन । अहिले हिन्दु सम्राटले तीर्थाटन गर्दा तमासा लाग्छ ।

 

गोबद्र्धनपुरीका शंकराचार्य निश्चलानन्द सरस्वती नेपाल आउँदा उहाँको अभिनन्दन कार्यक्रममा प्रधानमन्त्री ओली आफै उपस्थित भएर धर्मप्रति सम्मान प्रकट गर्नुभयो । प्रधानमन्त्रीको कुर्सीमा बसेपछि यस्तो सम्मान प्रकट गर्नु उहाँको कर्तब्य नै हो । उहाँ गैरहिन्दु हुनुभएको भए पनि आउनु पर्ने उहाँको दायित्व थियो । त्यसका लागि धन्यवाद छ । 

 

माओवादीसँग मिल्नु अघिसम्म केपी ओलीले मानेको मार्गनिर्देश पनि जनताको बहुदलीय जनवाद नै थियोे । मदन भण्डारीबाट प्रतिपादित सो मार्गनिर्देशले राजासहितको लोकतन्त्रको कल्पना गरेको सत्य हो कि होइन ? मदन भण्डारीको जबज मान्ने तर भण्डारीले स्वीकार गरेको राजसंस्था अस्वीकार गर्ने कस्तो बहुरंगी प्रवृति हो बुझ्न गाह्रो भएको छ । 

 

कर्मचारीहरुको कार्यदिन वृद्धि गर्ने नाममा उहाँले सार्वजनिक बिदा कटौती गर्नुभयो । शिवरात्री, रामनवमी, घटस्थापना, कोजाग्रत पूर्णिमामा उहाँले बिदा कटौती गर्दा कसैको चित्त बुझेको छैन । यो देश नबनेको सार्वजनिक बिदा बढी भएर हो र ? बिदा नभएको दिन कसरी काम हुन्छ सरकारी कार्यालयहरुमा भन्ने कुरा सबैलाई थाहा छ । शासन व्यवस्थामा सुधार नगर्ने तर धार्मिक पर्वहरुको बिदा कटाउने अनौठो चलन नेपालमा सुरु भएको छ । 

 

पृथ्वीनारायण शाह भनेका नेपालका शाहवंशीय अन्य राजाहरुजस्तै राजा होइनन् भन्ने कुरा पनि उहाँले बिर्सनु भएको भान परेको छ । नेपालको इतिहासमै आजसम्म र यो घडीसम्म पृथ्वीनारायण शाह जस्तो राजा वा राष्ट्रनिर्माता कोही छ भने मलाई देखाइदिनु भए हुन्छ । उहाँले राष्ट्रिय एकता दिवस ÷पृथ्वीजयन्तीको विदा पनि कटौती गरिदिनु भयो । 

म विनम्रतापूर्वक सोध्न चाहन्छु, प्रधानमन्त्रीज्यू आफ्नो इतिहास बिर्सेर आजसम्म कुन देशले प्रगति गरेका छन् ? 

(विश्वहिन्दु महासंघ अन्तर्राष्ट्रियका महासचिव भण्डारीसँग भएको कुराकानीमा आधारित)