बिचार

योद्धाको आक्रोशः प्रधानमन्त्री ज्यू, गणतन्त्रको उल्लास मनाउँदा आत्मघाती बम पड्किएला !

योद्धाको छातीमा टेकेर गणतन्त्र दिवस !

सोमबार, १४ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (RP)

योद्धाको आक्रोशः प्रधानमन्त्री ज्यू, गणतन्त्रको उल्लास मनाउँदा आत्मघाती बम पड्किएला !

नन्द प्रसाद रुपाखेती


यसअघिका वर्ष झैँ यसपटक पनि सरकारले गणतन्त्र दिवस भव्य रुपमा मनाउँदै छ । प्रधानमन्त्री केपी ओलीले पनि यसको घोषणा गरिसकेका छन् ।

 

सरकारले गणतन्त्र दिवसको उल्लास मनाइरहँदा केही तीता र पीडादायी क्षण भने छुटिरहे । सायद कसैलाई ती पीडाबारे चासो छैन, कसैलाई चासो भएर पनि केही गर्नसक्ने अवस्था छैन ।

 

वास्तविकता के भने राज्यका मुख्य निकायमा बस्नेहरुले नै गणतन्त्र दिवसको आधार र धरातल बिर्सिसकेका छन् भन्नुपर्दा दुख लाग्छ । दशौं हजार नागरिकको संघर्ष र आन्दोलनले नै गणतन्त्र दिवसको दीयो बालेको हो भन्न उनीहरु हिचकिचाउँछन् ।


हो । गणतन्त्र दिवसकै सन्दर्भमा २०६२–०६३ सालको जनआन्दोलनको पृष्ठभुमि र त्यसबेलाका घाइते, अंगभंग भएका, हत्या भएका थुप्रै आन्दोलनकारीहरुलाई हामीले सम्झिएका छौँ त ?

 

सरकारका औपचारिक कार्यक्रममा तिनिहरुबारे २÷४ शब्द त उच्चारण गरिएलान् । शहिदको नाम दिइएला ! तर यथार्थमा उनीहरुको संघर्ष र वलिदानीलाई कसरी सम्बोधन गर्न सकियो ? यो महत्वपूर्ण प्रश्न हो ।

 

अहिलेको गणतान्त्रिक र ‘कम्युनिष्ट सरकार’ समृद्धिको सपना बाँडिरहेको छ । ३ महिनासम्म उपलब्धि हुन नसके पनि सपना सुनिरहेकै छौँ । तर यी सस्ता सपनाले के जनताको हरेक दुख हराएका छन् ?

 

घाइते भएरै, अंगभंग भएरै गणतन्त्र ल्याउने हजारौं नागरिकका आँशु पुछिएका छन् त ? यी सवाल जबसम्म यथोचित सम्बोधन गरिँदैन तबसम्म सरकारले बाँड्ने् सपनाको औचित्य छैन ।

 

युद्ध र आन्दोलनको क्रममा घाइते भएकाहरु पहिले भन्दा आर्थिक रुपमा नाजुक अवस्थामा पुगेका छन् । ०६२–०६३ सालमा सडकमा मशाल बोकेर आउने योद्धाहरु अहिले सडकछेउमा मकै पोलेर बस्न बाध्य छन् । त आफ्ना सन्तानलाई स्कुल पठाउन नसकेर मजदुरीमा लगाउन बाध्य छन् । युद्धमा ज्यानको वास्ता नगरेरै जानेहरु अहिले अपांग ज्यान बोकेर कतारको भुंग्रोमा ज्यामी काम गरिरहेका छन् । तिनिहरु अहिले पनि या त ठेलागाढामा तरकारी बेच्दै साँझ बिहान गुजारा चलाइरहेका छन्, वा कतार जाने ऋण नपाएर भौँतारिरहेका छन् ।


तिनै संघर्षशील र क्रान्तिकारी जनताको आन्दोलनको शक्तिमा उभिएको सरकार विलाशी कुर्सीमा झुलेर सपनाको खेती गरिरहेको छ ।

 

युद्धको ययोग्य लडाकु वा आन्दोलनका घाइतेहरु मन्त्रालयमा गएर गुनासो सुनाउन चाहे भने मन्त्रीहरु तर्किन खोज्छन् । शिहंदरबारमा हामी जस्ता आन्दोलनका घाइते, ययोग्य लडाकु वा युद्धका घाइतेहरुलाई अघोशित रुपमा प्रवेश निशेध छ । तर कर छलेर अकुत सम्पत्ति कमाएकाहरु छाती खोलेर मन्त्रालयमा छिर्छन् र मन्त्रीलाई धाप मार्छन् ।

 

हामीले गरेको आन्दोलनको उद्देश्य यही थियो त ? शहिदहरुले ज्यान फालेको यही अपमानको लागि हो ? सरकार मूलतः धनाढ्य र दलालहरुकै लागि काम गरिरहेको छ । भुईँमा थिचिएका जनताबाट टाढै रहन चाहन्छ । जब यो कम्युनिष्ट सरकार गणतन्त्र ल्याउने योद्धाहरुबाटै टाढिन खोज्दै छ भने नी त्यो प्रष्ट संकेत हो कि, यो सरकार पनि त्यस्तै जनआन्दोलनबाट ढल्दैछ ।

 

जीवनको स्वर्णिम समय युद्धमा रतग बगाएर अंगभंग भएकाहरु यो सरकारसँग के माग्दैछन् ? ती गुनासो सुन्नु पर्छ कि पर्दैन ? हामी अहिले पनि भन्दैछौँ, सरकारले हाम्रो आँशु पुछिदिओस् अन्यथा फेरि अर्को आन्दोलन यही सरकारको विरुद्ध उठ्नेछ जरुर । हिजो जसरी राजसंस्था ढालियो अब राज्यसत्ता ढाल्ने छौँ हामीले नै ।

 

यस्तो अवस्थामा पनि सरकारले गणतन्त्र दिवस मनाउनुको कुनै औचित्य छैन । देखावटी कार्यक्रम गरेर मन्द मुस्कानसँगै परेवा उडाउँदै गणतन्त्र दिवस मनाउने सरकारका मन्त्रीहरुले आन्दोलनका घाइतेहरुको छातिमै कुल्चिएका छन् । हामी अझै भन्छौँ, सरकार खुसीयाली मनाइरहँदा हामी सधैँ आँशु पिएर पीडा चपाइरहन सक्दैनौँ । सचेत हुनुस् ! कुनै पनि बेला सम्माननीयहरुको हर्षोल्लासकै बीचमा अयोग्य लडाकु वा आन्दोलनका घाइतेहरुले आत्मघाती बम हमला गरिदिन सक्छन् !