व्यापार

अर्थ

मुख्य समाचार

चालू आर्थिक वर्षकाे प्रतिव्यक्ति ऋण हालसम्मकै उच्च, एक जनाको थाप्लोमा २९ हजार

आइतबार, १३ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

चालू आर्थिक वर्षकाे प्रतिव्यक्ति ऋण हालसम्मकै उच्च, एक जनाको थाप्लोमा २९ हजार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार संसदमा सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको प्रतिव्यक्ति ऋण झण्डै २९ हजार रुपैयाँ पुगेको छ । 

 

चालू आर्थिक वर्षको प्रथम ८ महिनासम्मको भुक्तानी गर्न बाँकी कुल ऋणलाई आधार मान्दा प्रतिव्यक्ति ऋण २८ हजार ९ सय ६३ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

 

गत आवमा प्रतिव्यक्ति ऋण २४ हजार २ सय ७० रुपैयाँ रहेकामा उक्त ऋण चार हजार ६ सय ९४ रुपैयाँले बढेर २८ हजार ९ सय ६३ पुगेको हो । यो ऋण गत वर्षको भन्दा १९ दशमलव ३ प्रतिशतले बढी हो ।

 

आन्तरिक ऋण परिचालनमा उल्लेख्य वृद्धि भएका कारण पनि प्रतिव्यक्ति ऋण गत वर्षको भन्दा बढेर गएको हो । चालू आवको पहिलो आठ महिनासम्मको अवधिमा भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण आठ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।

 

जसमा आन्तरिक ऋणको अनुपात ४६ दशमलव १ र बाहृय ऋणको अनुपात ५३ दशमलव ९ प्रतिशत छ । अर्थ मन्त्रालयका अनुसार चालू  आवमा देखिएको प्रतिव्यक्ति ऋण हालसम्मकै उच्च हो ।

 

गत आवमा २४ हजार दुई सय ७० रहेको यस्तो ऋण त्यसभन्दा अघिल्लो वर्ष आव २०७२/७३ मा २१ हजार नौ सय ५८ रुपैयाँ थियो । त्यस्तै, आव २०७१/७२ मा १९ हजार तीन सय १९ तथा आव २०७०/७१ मा १९ हजार आठ सय ९१ र आव २०६९/७० मा १९ हजार आठ सय ५९ रुपैयाँ थियो ।