फोटो

म्याग्दीमा मन लाेभ्याउने करबाकेली पदमार्ग (फाेटाे फिचर)

शनिबार, ०५ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

म्याग्दीमा मन लाेभ्याउने करबाकेली पदमार्ग (फाेटाे फिचर)

म्याग्दी । म्याग्दीमा नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’को निर्माण गरिएको छ । करबाकेली पर्यटन व्यवश्थापन समितिले आज प्रेस विज्ञप्ती जारी गर्दै पदमार्ग अबधारणा अघि बढाएको जानकारी गराएको हो ।

करबाकेली क्षेत्र प्राकृतिक, साँस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण थलो भएता पनि समितिले पर्यटनबाट खासै फाइदा लिन सकेको थिएन । स्थानीयलाई पर्यटनमा सहभागी गराएर मुलुकभित्रै रोजगारीको वातावरण सृजना गर्ने उद्धेश्यले करबाकेली पदमार्ग अवधारणा अगाडि बढाएको समितिले जनाएकाे छ । 


वैशाखको पहिलो साता काठमाडौंको कन्सेप्ट नेपाल नामक संस्थाको विज्ञ टोली झिकाएर पदमार्ग एक्सप्लोर गरिएको हो । उक्त मार्गबाट कास्कीको वीरेठाँटी, तिखेढुँगा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानीबाट पुनहिल, फूलबारी र करबाकेली थान भएर बेनी बजार निस्कन सकिनेछ । 


यस क्षेत्रमा पुन समुदायको बसोबास छ । पुनहरुका कुल देवता करबाकेली बाबा हुन् । काफलडाँडामा करबाकेली बाबाको राष्ट्रियस्तरको थान (मन्दिर)निर्माण भइसकेको छ ।

 

थानभित्र करबाकेली बाबा, उनका दुई श्रीमती हिमला र फिमला एवं दुई छोरा रामचन र कुलचनका मूर्ति राखिएको छ ।तिनै करबाकेली बाबाको नाउँमा पदमार्गको नामाकरण गरिएको हो ।

समितिले करबाकेली क्षेत्रमा पुन समुदायको संस्कार र संस्कृति झल्काउने संग्रहालय बनाउने तयारी गरेको छ ।  ३ हजार २ सय १० मिटर उचाई रहेकाे पदमार्गमा बालकदेखि बृद्धसम्म भ्रमण गर्न सक्ने समितिको अनुमान छ ।