अन्तरवार्ता

स्ट्रेट फरवार्ड

ब्वाँसो जस्तो छिमेकी भएकोले ओली चतुर हुनुपर्छ (भिडियो)

शनिबार, ०५ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

ब्वाँसो जस्तो छिमेकी भएकोले ओली चतुर हुनुपर्छ (भिडियो)

काठमाडौं । तिखो र स्पष्ट बिचार राख्ने नेपाली सेनाका सेवा निवृत्त जनरल प्रेमसिंह बस्न्यातले फेरि तरंग उत्पन्न हुने अभिव्यक्ति दिएका छन् । नेपालआजसँगको कुराकानीका क्रममा बस्न्यातले बाबुराम भट्टराईले भारतको माटोको आदेश पालना गरेर जीवन सार्थक बनाउनु भएको टिप्पणी गरेका छन् । भट्टराइको निधनपछि पनि उनको वास काशी गयामा हुने बताएका छन् । नेपालको सार्वभौमसत्ता भारतका कारण खतरामा नरहेको उनले दावी गरे । तर भारतले नेपाललाई भुटान बनाउन खोजेको उल्लेख गरे । भारतलाई बस्न्यातले ब्वाँसोको संज्ञा दिएका छन् । उनको धारणाको सार निम्नानुसार छः 

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिको मियो नै हिन्दु धर्म हो । हिन्दु धर्मकै आधारमा भारतीय जनता पार्टी जीवन्त भइरहेको छ । यसपटक भारतका प्रधानमन्त्रीले नेपालको तेस्रो पटक भ्रमण गरे । हेर्दा धार्मिक यात्रा जस्तो देखिए पनि खासमा यो राजनीतिक नै हो । मोदीले नेपाल भ्रमणको आसपास कर्नाटकमा चुनाव थियो ।

 

त्यहाँ भाजपालाई सफलता पनि मिल्यो । भारतका हिन्दुवालाहरुले नेपाललाई शीर मान्छन् । पशुपतिनाथ, मुक्तिनाथ, कैलास सरोवर आदिलाई पुण्यभूमिहरुको शीर मानिएका कारण उनीहरु नेपालमा धार्मिक यात्रामा आउँदा पनि राजनीतिक अभिष्ट लुकेकै हुन्छ । 


अब नेपालले चीन तिर गएर विभिन्न सम्झौता, समझदारीमा फटाफट हस्ताक्षर गरिदियो भने भारतलाई ठूलो तोड पर्छ । चोट पर्छ । प्रधानमन्त्री भएपछि पहिलो प्राथमिकतामा छिमेकी भन्ने नीति मोदीले लिए । तर अहिले भारतको सम्बन्ध सबै छिमेकीसँग बिग्रेको छ । अर्कोतिर चीनले सबैतिर गएर फूल फूलाइदिँदैछ । भुटानलाई नै हेर्नुहोस् त । 

 

भुटानीहरुलाई कसरी भारतको पञ्जाबाट फुत्कौं भन्ने जपतप नै छ । भारतको पञ्जाबाट भुटान फुत्कियो भने ढल्किने भनेको चीन तिरै हो । नेपालका प्रधानमन्त्रीलाई भारतले बोआओ सम्मेलन छल्ने गरी भारत भ्रमणको निम्तो गर्यो । 

अब चीनको सन्दर्भ के हो भने उसले पैसा र व्यापारलाई पहिलो रोजाइमा राख्छ । नेपालमा चीनको चासो तिब्बत मामिलाबाहेक अरु छैन । तिब्बत मामिला नचर्किने हो भने नेपालतिरको टाउको दुखाई चीनलाई छैन । अहिले आएको विषय भनेको ओबिओआर हो । मोदीले चार पटक चीनको भ्रमण गरिसकेका छन् । व्यापार र दुई देशको हितको कुरा पनि भइसकेको छ । दोक्लाममा भएको विवादपछि दुई मुलुकले सम्वादबाट केही विषय छिनोफानो पक्कै गरेका छन् । यसमा पनि भारतले चीनसँग नेपाल, भुटान, बंगलादेश, मालिदिभ्स र श्रीलंकामा धेरै चासो नराख भनेको हुनुपर्छ । किनभने दक्षिण एसियामा भारत हैकम जमाउन चाहन्छ । त्यसो गरेमा हामी पनि अमेरिका तिर जाँदैनौ भनेर भारतले भनेको हुनुपर्छ 

। 
हामीले अर्बौं रुपैयाँ खर्च गरेर पनि नेपालका धार्मिक स्थलहरुको यति प्रचार हुँदैन थियो, जुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा भयो । तर एउटा मुलुकको विषयमा यति मात्रै हुँदैन । नेपाल–भारतबीच कैयन विवाद छन् । त्यो विषयमा पनि त केही गर्नु पर्छ । 

 

यसपटक मोदीको भ्रमणमा क्रमभंग भएको छ । म पनि सैनिक हो देशको । नेपालीहरुको इज्जतमाथि प्रश्नचिन्ह खडा भएको छ । जंगबहादुरको शासन पछि नेपालमा ठूला ठूला ब्रिटिस पदाधिकारीहरुले नेपाल भ्रमण गरे । जसरी अहिले नेपाल आर्मीको क्षमता हुँदा हुँदै भारतको सेना नेपाल आयो । के नेपालले सुरक्षा दिन नसक्ने अवस्थामा थियो ?  सुनिन्छ कि नेपाल आउँदा धेरै सेना आए । धेरै त कवर्टमा थिए । धेरै आर्मीहरु नेपाल आएका थिए । यसबारेमा नेपालका जिम्मेवारहरु कोही पनि बोल्दैनन् ।
 

हामीसँग सुरक्षा दिन सक्ने सामथ्र्य हुँदा हुँदै नेपालमा भारतीयहरुको प्रभाव बढ्यो । 

 

नेपालमा रहेको भारतीय दूतावासले आफ्ना प्रधानमन्त्रीको थ्रेट एसेस्मेन्ट पठाउँछन् । मोदीकै कारण २०१५ पछि नेपालमा एन्टी इन्डियन सेन्टिमेन्ट छ भन्ने बुझेका छन् । त्यो सेन्टिमेन्टका कारण कालो झन्डा देखाउला कि ढुंगा हिर्काउला कि भन्ने थियो होला । 

 

नेपालका पूर्वमन्त्रीकै पछाडि सुरक्षाकर्मी छन् । भनेपछि नेपालमा असुरक्षा भएको जस्तो देखिन्छ । खासमा सुरक्षा थ्रेट भएर होइन काजी साहेब बन्नका लागि नेपालमा पूर्वमन्त्रीहरुले सुरक्षा लिएका हुन् । त्यसैलाई सुरक्षा राम्रो छैन भन्ने देखाएर भारतीय प्रभाव बढाउने गरिएको छ । 


नेपालमा त के छ भने नेपाली नै भएर भारतको बढी माया गर्नेहरु पनि छन् । पेटमा विदेशीको जुठो भात नपरेसम्म विदेशीको भक्ति कसैले पनि गाउँदैन ।  गिरिजाप्रसाद कोइरालाले नेपालमा थाइ जहाज दुर्घटना हुँदा सोझै भारतलाई फोन गरे । भारतबाट उद्धार टोली आयो । उद्धार नेपाली सेनाले गर्यो । भारतबाट आएकाहरुले सोल्टी होटलमा बसेर जाँड खाएर गए । पैसा नेपाल आर्मीले तिर्नु पर्यो । 

 

नेपालको सार्वभौकितामा भारतबाट खतरा छैन । युरोपेली युनियनबाट खतरा छ । भारतले नेपालको राजनीतिमा मात्रै कब्जामा लिन खोज्छ तर युरोपेली युनियनले जात–जातबीच 

 

लडाउने काम गर्छ । यिनीहरुले एनजिओ चलाएका छन्, एनजिओले नेपाल चलाइरहेको छ । नेपाल र भारतको सीमामा खान नपाउने बिहारीहरुलाई राखिदिएको छ । तिनीहरुले नेपालको भूमि मिचेका छन् । त्यसमा भारतका सुरक्षाकर्मीले संरक्षण गर्छन् । 

 

युरोपेलीको दानापानी खाने सभामुखले युरोपेली युनियनको प्रतिवेदन बुझेको पनि देखियो । यो अचम्मको विषय छ । 

 

अन्ततः नेपालको भूभागलाई इसाई धर्म फैल्याएर भारतविरुद्ध प्रयोग गर्ने युरोपेली युनियनको योजना हो । मोदीले भारतलाई हिन्दुराष्ट्र बनाउने भनेका थिए । त्यस्तो भयो भने क्रिष्चियनहरुको दाल गल्दैन । अनि त्यसविरुद्ध अहिले नै युरोेपेली युनियनको चाहना धर्मको मार्फत यो उपमहाद्वीपमा हस्तक्षेप बढाउने हो । 

 

प्रदेश २ का मुख्यमन्त्री मोदीका अगाडि विलाप गरे । उनलाई संसारले थुकिसकेको छ । मुख्यमन्त्रीको स्टाटस जानकी मन्दिरको भिखरी जतिको पनि औकात छैन । उनले के जनकपुर बनाउँछन्, जो आफै मुसलमान हुन् । नांगै हिँड्नेहरु छन् । नाकाबन्दीमा पारिको भात खाएर वारि ढुंगा हान्ने अंगीकृतेहरुले देश बिगारेका छन् । तराईका अधिकांश  भूमिपुत्रहरुसमेत यी अंगीकृतेबाट पीडित छन् । 

 

भारतले नेपालको जमिन कब्जा गर्न खोजेको छैन । उसको चाहना भनेको भुटान जस्तो बनाउन खोजेकोछ । परराष्ट्र उसले आफ्नो मुठ्ठीमा राख्न खोजेकोछ । नेपालीहरु भारतको दास बन्न सक्दैन । अहिलेको एक पुस्ता छ, जसले भारतको पैसामा बिकेका छन् । नेपालको भात खाएर भारतको गीत गाउँछन् । 

 

नेपालमा राणाविरोधी आन्दोलन चलिरहेको थियो । मोहन शमशेर प्रधानमन्त्री थिए । उनलाई भारतले भ्रमणमा बोलाए, भव्य स्वागत गरियो । विश्वकै शक्तिशाली नेताजसरी भारतले स्वागत गर्यो । सम्मान गर्यो । फकाई फकाई १९५० को सन्धि गरायो । बलि दिनु अघि बोकाको पूजा गरेजस्तो गरी भारतले सन्धि गरायो । अब चिन्ता यो छ कि मोहन शमशेरको नियति केपी ओलीको नहोस् । जनकपुरमा ओली–मोदीले लगाएको टोपी मिथिलाको होला भनेको त होइन रहेछ । ब्वाँसो जस्तो छिमेकी भएको बेला बढी चतुर हुनुपर्छ, केपी ओलीले ध्यान दिनु पर्छ । 


राजेन्द्र महतो र विमलेन्द्र निधिलाई हेरेर सबै मधेसी यिनीहरु जस्तै हुन्छन् भन्ने ठान्नु गलत हो । सीमा मिचिँदा गोली खाने, भारतीय एसएसबीको ज्यादती सहने देशभक्त मधेसी धेरै छन् । अंगीकृत नागरिकता मधेसीले बाँडेको हो र, यिनै पहाडीया बिकाउ कर्मचारीले बाँडेका त हुन् । पाँच सय घूस लिएर नागरिकता बाँडने पहाडीय कर्मचारी नै हुन् । प्रदेश २ बनाउँदा पहाड जाड्नु पर्दैन थियो ? हिमाल जोड्नु पर्दैन थियो ? त्यस्तो अर्थ न बर्थको प्रदेश बनाएर के अब त्यहाँको विकास हुन्छ ? 

 

यस्तै बेथितिको बिउ रोपेर बाबुराम भट्टराईले जीवन सार्थक बनाइसक्नु भएको छ । उहाँ मर्नुभयो भने पनि अब सोझै काशी गयामा उहाँको आत्माको बास हुन्छ । बाचुञ्जेल पनि भारतको मरेपछि पनि उतैको हुने गरी पुण्य काम उहाँले गरिसक्नु भयो । नेपालको माटोले भने उहाँलाई कहिले पनि आशीर्वाद दिने छैन । भारतको माटोको त उहाँले आदेश पालना गरेर जीवन सार्थक बनाएको महशुस गर्नुभएको छ । 

 

केही कुपात्रले गर्दा यस्तो भएको हो ।