पर्यटन

मुख्य समाचार

मुक्तिनाथमा भारतीय पर्यटक बढी

शनिबार, ०५ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

मुक्तिनाथमा भारतीय पर्यटक बढी

बागलुङ ।  प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । 

 

मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्छन् । भारतीयहरु मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । मुक्तिनाथ मन्दिरको दर्शन गरेमा ‘मोक्ष’ प्राप्त हुने जनविश्वास पनि छ । बौद्ध धर्मावलम्बी भने करुणाका अवतार अवलोकितेश्वरका रुपमा मान्छन् । 

 

सन् २०१८ जनवरीदेखि गत अप्रिलसम्म आठ हजार ५५६ भारतीय पर्यटक मुक्तिनाथ पुगेका छन् जुन सोही अवधिमा मुक्तिनाथ घुम्ने विदेशी पर्यटकको आधा बढी संख्या हो । गत पाँच महिनामा १६ हजार ९८४ विदेशी पर्यटकले मुक्तिनाथ भ्रमण गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित सूचना केन्द्रका अनुसार गत अप्रिल महिनामा मात्र नौ हजार १०५ विदेशी पर्यटक मुक्तिनाथ पुगेका थिए । 

 

तीमध्ये भारतीय पर्यटकको संख्या चार हजार ५३७ रहेको छ । एक्यापको आँकडानुसार मुक्तिनाथ घुम्ने भारतीय पर्यटकको संख्या वर्षेनी बढेको देखिन्छ । सन् २०१७ मा मुस्ताङ भित्रने भारतीय पर्यटकको संख्या २४ हजार ८८८ थियो । पछिल्लो सात वर्षमा करीब सवा लाख भारतीय तीर्थयात्रीले मुक्तिनाथ दर्शन गरेको पाइएको छ । भूकम्प गएको वर्ष सन् २०१५ मा भने सबैभन्दा थोरै आठ हजार ४५९ भारतीय पर्यटकले मुक्तिनाथको भ्रमण गरेका थिए । 

 

एक्याप इलाका संरक्षण कार्यालयका प्रमुख तुलसीप्रसाद दाहालले मुस्ताङ घुम्नेमा नेपालीपछि भारतीय पर्यटक बढी रहेको बताउनुभयो । अधिकांश भारतीय पर्यटक तीर्थयात्राको उद्देश्यले मुक्तिनाथ आउने गरेको उहाँको भनाइ छ । “पर्यटकीय याममा दैनिक सयौँ भारतीय पर्यटक मुस्ताङ प्रवेश गर्छन्”, उनले भने । 

 

पोखरादेखि हवाई र सडकमार्ग हुँदै भारतीय पर्यटक मुक्तिनाथ पुग्ने गर्छन् । वर्षका मुख्य दुई पर्यटकीय याममा पर्यटकको चाप बढ्ने गरेको मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङले बताए । असोजदेखि मंसिरसम्म र चैतदेखि जेठसम्म मुक्तिनाथमा पर्यटकीय चहलपहल बढी हुने उनको भनार्इ छ । अन्य समयमा मुस्ताङका गन्तव्यमा छिटफुट रुपमा पर्यटक देखिने गर्छन् ।


 

मुक्तिनाथ मन्दिरको दर्शनसँगै मुस्ताङको प्राकृतिक सुन्दरताले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्ने भएकाले पनि मुक्तिनाथको प्रसिद्धि चुलिएको हो । मुस्ताङ र मनाङ जोड्ने चर्चित ‘थोरङ्ला पास’ जाने पर्यटक पनि मुक्तिनाथ भएर जाने गर्छन् । 

 

मुक्तिनाथ हिन्दू मात्र नभएर बौद्ध धर्मावलम्बीको पनि तीर्थस्थलका रुपमा परिचित छ । मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र र बौद्धमार्गीले तिब्बती भाषामा (छुमिङ ग्यास्ता) अर्थात् सय पानीका रुपमा लिने गर्छन् । समुद्री सतहदेखि तीन हजार ८०० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर शालिग्राम भगवान्का कारण पनि प्रसिद्ध छ । 

 

मुक्तिक्षेत्र भएर बहने कालीगण्डकी नदीमा मात्र पाइने पवित्र शिला शालिग्रामलाई विष्णु भगवान्को प्रतीकका रुपमा पुज्ने चलन छ । मनोकांक्षा पूरा हुनाका साथै पितृ उद्धारको विश्वासमा तीर्थयात्री मुक्तिनाथ आउने गरेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए ।