राजनीति

प्रचण्डले राखे धेरै पार्टीको नेतृत्व सम्हाल्ने रेकर्ड, मशालदेखि नेकपासम्म (बंशावलीसहित)

बिहिबार, ०३ जेठ २०७५ गते प्रकाशित
- प्रताव ओली

प्रचण्डले राखे धेरै पार्टीको नेतृत्व सम्हाल्ने रेकर्ड, मशालदेखि नेकपासम्म (बंशावलीसहित)

काठमाडौं । भूमिगत जीवनबाट सार्वजनिक भएका पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वदायी भूमिकाका एक कुशल पात्र मानिन्छन् । राजनीतिक क्षेत्रमा अाएदेखि निरन्तर अध्यक्ष बनेर पार्टी हाँक्ने अवसरबाट प्रचण्ड कहिल्यै बाहिर भएनन् ।  

 

प्रचण्डका सकरात्मक पाटा

आजीवन अध्यक्ष पदमा रमाउन खोज्ने व्यक्ति भन्दै  प्रचण्डलार्इ अाराेप नलागेकाे पनि हाेइन । तर यथार्थ प्रचण्ड राजनीतिमा अाउने हरेक माेडहरू सजिलै पार गर्न सक्ने एक सुहाउँदा ड्रार्इभर हुन भन्दा फरक नपर्ला। दाहालको व्यक्तित्व, वाकपटुता एवं परिस्थितिअनुसार लचक हुन सक्ने क्षमता उनका सकारात्मक पक्षहरु हुन् ।

 

उनी जड छैनन् । तुरुन्तै नयाँ निर्णय गर्ने र जोखिम मोल्ने क्षमता उनीसँग छ । उनी विपक्षीप्रति दीर्घकालीन ‘इगो’ राख्दैनन् र जोसुकैसँग पनि मिलेर अघि बढ्न उनलार्इ गाह्राे पर्दैन । कमजोरी र गल्तीलाई सहजै आत्मसाथ गर्छन् ।

 

जनयुद्धमा जाने घोषणा गर्दा होस् वा सशस्त्र विद्रोहलाई शान्ति सम्झौतामा टुङ्याउने विषयमा नै किन नहोस्, प्रचण्डले जोखिमपूर्ण निर्णय गरेकै हुन् । भनिन्छ, राजनेता हुनका लागि भिजन र ह्याउ दुबै चाहिन्छ ।

 

शान्ति सम्झौता गर्दा तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग हस्ताक्षर गर्नेमध्ये एक जीवित नेता हुनुको नाताले उनले आफूलाई गिरिजाकै स्तरमा राखेर हेर्ने गरेका छन् । साथै भारत, चीनलगायत अन्तरराष्ट्रिय समुदायले पनि प्रचण्डलाई नेपालका एक प्रखर नेताका रुपमा मान्यता दिने गरेको सौभाग्य छ उनीसँग ।

 

विद्रोहबाट पार्टी हाँकेर आएको अनुभवका कारण प्रचण्डमा पार्टी सञ्चालन गर्ने कूटिलता पनि देखिन्छ । भलै यतिबेला उनको पार्टी खिइएर सानो भएको अवस्था छ । तर, उनी महत्वाकांक्षी नेता हुन् । प्रचण्डको महत्वाकांक्षा, उनले हासिल गरेको उचाइ, जोखिमपूर्ण निर्णय गर्ने क्षमता र विद्रोहको पृष्ठभूमिलाई एकीकृत अभ्यासमा ढाल्न सके भने प्रचण्ड एक सम्भावना बोकेका नेता हुन् ।


अध्यक्ष पदकाे माेह त्याग्नु पर्थ्याे 

नेपाली राजनीतिमा पद तथा नेतृत्व हस्तान्तरण गर्न नसक्नु ठूलाे कमजाेरीका रूपमा लिइन्छ । प्रचण्ड नेतृत्वकाे तत्कालिन नेकपा माअाेवादी पनि यही अाराेप प्रत्याराेप फुटेर पाँच टुक्रा भएकाे बुझिन्छ । प्रचण्डले अाजीवन पार्टी अध्यक्ष भएर बस्न खाेजेपछि बाबुराम भट्टरार्इ लगायतले नयाँ पार्टी स्थापना गर्नु परेकाे एक गतिलाे उदाहरणका रूपमा लिर्इन्छ ।  

 

यसरी देशकाे एक विशाल पार्टीकाे अध्यक्ष पदमा अरू कसैलार्इ पनि नेतृत्व हस्तान्तरण गर्न नसक्नु प्रचण्डकाे ठुलाे गलत पनि भन्ने गरिन्छ । यही माेहले पार्टी फुटे्र विशाल माअाेवादीबाट माअाेवादी केन्द्रकाे अध्यक्षमा झरे । अहिले त्यही विशाल माअाेवादीमा एकता भएकाे भए प्रचण्ड सायद नेकपा एमालेसँग पार्टी एकता गर्न पुग्दैनथे हाेला । एकता भए पनि याे भन्दा शक्तिशाली कम्युनिष्ट एकता हुन्थ्याे । 

 

अहिले एमालेसँग मिलन हुने संघारमा छन्, तर पनि अध्यक्ष वा सो सरहको पद पहिले नै सुरक्षित गरिसकेका छन् । तत्कालीन एकीकृत नेकपा माओवादीसँग नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादीलगायतको एकता भएर नेकपा माओवादी केन्द्र गठन भयो । 

नेकपा मशालदेखि केन्द्रसम्मको मुख्य नेतृत्वमा प्रचण्ड नै रहदै आए । अहिले पनि उनी नै केन्द्रमा रहने भएका छन् । लामाे समय र यति धेरै पार्टीको नेतृत्व अन्य नेताले गर्ने अवसर पाएका छैनन् । माओवादी केन्द्रकोे वंशावली यस्तो छ ।

१) नेकपा (चौथो महाधिवेशन)
२) नेकपा (मशाल)
३) नेकपा (एकता–केन्द्र)
४) नेकपा (माओवादी)
 ५) एकीकृत नेकपा (माओवादी) 
६)  नेकपा (माओवादी–केन्द्र)
७) नेपाल कम्युनिष्ट पार्टी (दुई अध्यक्ष हुने)