भिडियो

कभर स्टोरी

१० महिनाअघि देवकोटाले भनेका थिए, ‘हामी कसैलाई जीवन दिन सक्दैनौं भने खोस्ने अधिकार पनि छैन’ (भिडियोसहित)

बुधबार, ०२ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

१० महिनाअघि देवकोटाले भनेका थिए, ‘हामी कसैलाई जीवन दिन सक्दैनौं भने खोस्ने अधिकार पनि छैन’ (भिडियोसहित)

काठमाडौं । दश महिना अघि नेपालआज डटकमका लागि डा. उपेन्द्र देवकोटाले जीवन र दर्शनबारे धेरै गहन विषय बोलेका थिए । त्यो बेलासम्म उनलाई आफ्नो शरिरमा क्यान्सर वृद्धि भइरहेको कुनै जानकारी थिएन । सायद कुनै लक्षण देखिएको पनि थिएन होला ।

 

नेपालका चर्चित न्युरो सर्जन देवकोटालाई हामीले सोधका थियौं,  के भगवान हुन्छन् ? उनको जवाफ थियो, ‘विज्ञानले भगवान हुन्छन् भन्न सक्दैन । तर भगवान छैनन् भनेर पनि भन्न सकेको छैन ।’ 

 

मान्छे शारिरीक रुपमा स्वस्थ हुनु र अध्यात्मिक ढंगले स्वस्थ हुनु फरक कुरा हो भन्ने मत देवकोटाको छ । उनी भन्छन्, ‘अध्यात्मिक ढंगले स्वस्थ हुन कुनै आस्था र विचार बनाउनु पर्छ । बनाउन सकिदैन भने अरुले बनाएको पथमा हिँड्दा पनि हुन्छ ।’

 

अरुको जीवन लिने पनि छन् । जीवन जीउँन सहज बनाइदिने डाक्टरहरु पनि हुन्छन् । डा. देवकोटा भन्छन्, ‘हामी कसैलाई पनि जीवन दिन सक्दैनौं । यसकारण अरुको जीवन खोस्ने अधिकार पनि कसैलाई हुँदैन । हामी डाक्टरहरुले त कसैको जीवन अलिकति जोगाइदिने र जीवन सहज बनाइदिने मात्रै हो ।’ 


बिरामीलाई डाक्टरले कति हदसम्म गएर जोगाउन सक्छ त ? देवकोटाको तर्क छ, ‘बिरामी शरिरले आफ्नो उपचार आफै गर्छ । त्यसमा डाक्टरले अलिकति सहज पारिदिने हो । जब शरिरले आफ्नो उपचार आफै गर्ने प्रयत्न गर्न छाड्छ, त्यसपछि संसारको कुनै पनि डाक्टर, अस्पताल, प्रविधिले उसको उपचार गर्न सक्दैन ।’ 

 

डा. देवकोटालाई हामीले सोधेका थियौं, ‘डा. बाबुराम भट्टराई र तपाई सहपाठी हुनुहुन्थ्यो । तपाई डाक्टर, उहाँ इञ्जिनियर । तपाईले धेरैको ज्यान जोगाउनु भयो, उहाँको आन्दोलनले १७ हजारको ज्यान लियो । गुरु एउटै, विद्यालय एउटै तर ज्ञान कसरी फरक पर्यो ?’ यो प्रश्नमा डा. देवकोटाले भनेका थिए, ‘त्यता तिर जाँदै नजाऔं । तपाईहरु नै विश्लेषण गर्नुहोला । उहाँसँग अझै १०–२० वर्ष समय छ । केही गर्नुहोला ।  म पनि १०–२० वर्ष बाँचुला । म चाहिँ जीवन संघर्ष हो भन्ने ठान्छु । 

 

मैले मेडिकल कलेजमा ५० वटा जति परीक्षा दिएँ होला । तर त्यो खास कुनै परीक्षा नै रहेनछ । अहिले मेरा हरेक बिरामी मेरो लागि परीक्षा हुन् । म आफैंसँग प्रतिस्पर्धा गर्छु । म कुनै पनि अर्थमा बाबुराम भट्टराईसँग तुलना गर्दिनँ । किनभने ती कुराहरु केटाकेटी बेलाको हो ।’