समाचार

विदेश

गाजामा ५९ प्रदर्शनकारी मारिए, इजरायलको सबत्र निन्दा

बुधबार, ०२ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

गाजामा ५९ प्रदर्शनकारी मारिए, इजरायलको सबत्र निन्दा

गाजा सिटी । आइतबार गाजाको सीमामा इजरायली सेनाले गरेको कारबाहीका क्रममा ५९ जनाको मृत्यु भएको छ ।
त्यस क्षेत्रमा मंगलबार पनि पुनःप्रदर्शनको अनुमान गरिएको छ । त्यहाँ विगतका केही दिनदेखि विरोध प्रदर्शन जारी रहेका छन् । इजरायली सेनाले आत्मरक्षाको लागि गरिएको कारबाही भन्दै गाजा र प्यालेस्टाइनको सीमामा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गरेको कारबाहीमा ५९ जनाको ज्यान गएको हो । अमेरिकी राजदूतावास जेरुसेलममा राख्ने विषयमा इजरायल र प्यालेस्टाइनबीच केही वर्षयता द्वन्द्व जारी रहेको छ । सोमबारको विरोध प्रदर्शन अमेरिकाले आफ्नो दूतावास जेरुसेलममा सारेको विरोधका साथै इजरायलद्वारा सीमाक्षेत्रमा गरेको हस्तक्षेपविरुद्ध भएको बताइएको छ ।

 

प्रदर्शनमा सहभागी सयौं प्यालेस्टाइनीमध्ये करिब २ हजार ७ सय घाइते भएका छन् । सोमबारको कारबाहीलाई रक्तपातपूर्ण भनिएको छ । गत मार्च ३० देखि निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीमाथि इजरायली सेनाले गरेको सैन्य कारबाहीको क्रममा १ सय १३ भन्दा बढीको मृत्यु भएको छ । इजराली सेनाको यो कारबाहीको अन्तर्राष्ट्रियस्तरमा व्यापक निन्दा भएको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले घटनालाई एउटा नरसंहारको संज्ञा दिएका छन् । फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँले उक्त घटनाको भर्त्सना गरेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायललले आतंक र नरसंहार गरेको आरोप लगाएका छन् ।

 

इजरायली सशस्त्र फौजबाट प्रदर्शनकारीमाथि गरेको यस कारबाहीको सर्वत्र निन्दा भएको छ । दुई राज्यले वार्ताबाट नै समस्याको हल गर्नुपर्ने अन्तर्राष्ट्रिय जगतको भनाइ रहेको छ । बेलायतले भने आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरायलको अधिकार भएको तर्क अघि सारेको छ । जेरुसलेममा अमेरिकी दूतावास खोलिएको विरोधमा प्यास्लेस्टाइनीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा आफ्नो देशले सुरक्षा कदम स्वरूप उक्त कारबाही गर्नुपरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन् । त्यस क्षेत्रमा मंगलबार पनि प्रदर्शनको त्रास कायमै रहेको भन्दै ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।


संयमता अपनाउन चीनको आग्रह

यसैबीच चीनले इजरायललाई संयमता अपनाउन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लुछाङले उक्त आग्रह गरेका हुन् । इजरायली सेनाको कारबाहीमा ५९ जना प्यालेस्टाइनीको ज्यान गएपछि चीनले यस्तो आग्रह गरेको हो । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उनले दुःखद घटनाप्रति चीन गम्भीर रहेको भन्दै इजरायलका सामु संयमता अपनाउनु बाहेकको अर्को विकल्प नरहेको बताएका हुन् ।
एएफपी