समाचार

स्वामी शंकराचार्यसँग शिव सेना नेपालका पदाधिकारीको भेट 

बुधबार, ०२ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

स्वामी शंकराचार्यसँग शिव सेना नेपालका पदाधिकारीको भेट 

काठमाडौं । नेपालमा विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुन नेपाल आएका गोबद्र्धन पुरीका पीठाधीश स्वामी शंकराचार्य निश्चलानन्द सरस्वतीसँग शिव सेना नेपालका पदाधिकारीहरुले बुधबार भेट गरेका छन् । 

 

धर्म रक्षा, गौरक्षाका लागि नेपालका हिन्दुहरुका लागि गुरुसँग आशिर्वचन प्राप्त गरेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबाले बताए । उनले भने,  ‘स्वामीजी स्वतन्त्र नेपाल राष्ट्रका शुभचिन्तक हुनुहुन्छ । उहाँले नेपाल स्वतन्त्र रहे नै भारत स्वतन्त्र रहिरहने विश्वास गर्नु हुन्छ । हामी शिवका सेना, राष्ट्रका पहरेदारका लागि उहाँले आशिर्वाद दिनु भएको छ ।’

 

अध्यक्ष बस्नेतका अनुसार स्वामी शंकराचार्यले छिमेकी मुलुकहरुसँगको सम्बन्ध सुमधुर, समानताका आधारमा हुनु पर्ने विचारलाई पनि आफ्नो धर्म मान्ने गरेका छन् । हिन्दु धर्मले सहअस्तित्व, पारस्परिक सम्मानलाई समेत स्वीकार गर्ने गर्छ । 

 

स्वामी शंकाराचार्यले शिव सेनाको टोलीलाई आशिर्वाद प्रदान गरेका थिए । 

 

शंकराचार्य बैशाख ३० गते काठमाडौं आएका हुन् । जेठ १ गते उनको काठमाडौंको टुँडिखेलमा अभिनन्दन गरिएको थियो । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत पुगेका थिए । 

शंकराचार्य जेठ ७ गतेसम्म नेपालमा रहनेछन् । शंकारचार्यसँग पूर्वराजा ज्ञानेन्द्र शाहको बाराको सिमरामा भेट हुने भएको छ । यसअघि पूर्वराजा शाहलाई हिन्दु सम्राटको हैसियतमा शंकराचार्यले गोबद्र्धन पुरीमै अभिनन्दन गरेका थिए । नेपालको राजसंस्था र गोबद्र्धन पुरीबीचको सम्बन्ध प्राचीनकालदेखि रहँदै आएको विश्वास गरिन्छ ।