खेल

मुख्य समाचार

फुटबलको मणि-युगलाई अलबिदा

मङ्गलबार, ०१ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

फुटबलको मणि-युगलाई अलबिदा

काठमाडौं । सन् १९८० को दशकमा अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोना चर्चाको शिखरमा थिए। ठीक त्यही बेला नेपालमा म्याराडोनाजस्तै युवा फुटबल खेलाडी मणिविक्रम शाहको उदय भयो। मणिको उचाइ, कपालको स्टाइल, देब्रे खुट्टाले बल प्रहार गर्ने शैली र जर्सी नम्बर १० समेत सबै म्याराडोनासँग मिल्दोजुल्दो थियो। मैदानमा उनै मणिको प्रदर्शनलाई लिएर सबैले उनलाई ‘नेपाली म्याराडोना’को उपमा दिए।

 

 यथार्थमा नेपाली फुटबलका ‘मणि’का रूपमा एक दशक राष्ट्रिय टोलीमा सनसनी मच्चाएका उनले सन् १९८५ मा आयोजित दोस्रो दक्षिण एसियाली खेलकुद (साग गेम्स) बाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। त्यतिबेला उनी भर्खर १७ वर्षका थिए। मणि नेपाली फुटबलले पाएको अहिलेसम्मकै उत्कृष्ट एट्याकिङ मिडफिल्डर थिए। उनले सन् १९८५ देखि १९९८ सम्म राष्ट्रिय टोलीबाट खेले।

 

सन् १९९३ मा बंगलादेशको ढाकामा आयोजित दक्षिण एसियाली खेलकुदमा नेपालले एक मात्र स्वर्ण जित्दा प्ले मेकरका रूपमा मणिको भूमिका उल्लेखनीय थियो। उनले राष्ट्रिय टोलीबाट खेलेका ४८ खेलमा ६ गोल गरे। त्यसबीच उनले दुई वर्ष राष्ट्रिय टोलीको कप्तानी पनि सम्हाले। सागमा गरेको एउटा गोलले उनलाई सर्वाधिक चर्चित मात्र बनाएर नेपालीबीच लोकप्रिय पनि बनायो। मणिले प्रहार गरेको जादुमय फ्रिकिक दर्शनीय गोलमा परिणत भएपछि नेपालले सन् १९९३ को साग गेम्समा स्वर्ण जितेको थियो। यो नेपाली फुटबल इतिहासको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण थियो। याे खबर अाजकाे अन्नपूर्ण दैनिकमा छ ।