मुख्य समाचार

राजनीति

भाजपाका सांसद आजादको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

नेपालको स्वाभिमानमाथि ठाडो प्रहार

सोमबार, ३१ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

भाजपाका सांसद आजादको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं । भारतीय सांसद कीर्ति आजादको अभिव्यक्ति आपत्तिजनक र दुराशयपूर्ण भएको भन्दै नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ। 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भाजपा सांसदले गरेको ट्विटले दुई देशबीचको सम्बन्धमा खलल पुग्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

 

सांसद आजादले गत बिहीबार सामाजिक सञ्जाल ट्विटरमा मोदीलाई सम्बोधन गर्दै जनकपुरलाई मिथिला राज्य अन्तर्गत भारतमा फिर्ता लिन माग गरेका थिए। 

 

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहदाँ भारतीय जनता पार्टीका सांसद आजादले नेपालको सम्बन्धमा आफ्नो ट्विट मार्फत गरेको अभिव्यक्ति आपत्तिजनक छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, 'दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुर्‍याउने अभिप्रायबाट यस्तो कार्य भएको देखिन्छ।’ 

 

भारतीय सांसदको अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ। 

 

‘भारतीय सांसद आजादको यो आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्तिको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ।  

 

कांग्रेसले यस सम्बन्धमा नेपाल सरकारले तत्कालै भारत सरकारसँग कूटनीतिक पहल गर्न समेत माग गरेको छ।