कला साहित्य

भिडियो

कभर स्टोरी

मोमिलाको स्विकारोक्तिः कसैलाई खुसी पार्न सकिन होला तर भूल गरेकाे छैन (भिडियो)

शनिबार, २९ बैशाख २०७५ गते प्रकाशित
- समर्पण श्री

मोमिलाको स्विकारोक्तिः कसैलाई खुसी पार्न सकिन होला तर भूल गरेकाे छैन (भिडियो)

‘उहिल्यै इतिहासमा
बेमौसमी हुरीबतास र बर्सातको एक दिन
आफ्नै देशभित्र निर्वासित सुदूर गाउँमा कतै
भित्तामा ससम्मान झुन्ड्याइएको
बर्षौँ पुरानो देशभक्त अमर सिंहको तस्बिरबाट
अचानक आँखा झरेछन्
हुन सक्छ—
ठीक त्यही बेलादेखि यो देशका मार्गदर्शकहरूले 
दृष्टि गुमाएको हुनुपर्दछ’ (भिमसेन थापाको सुसाइट नोट)

 

विलय हुँदै गएको नेपालको पहिचानप्रति गाम्भिर्यता प्रकट गर्ने चर्चित कविता हो– भिमसेन थापाको सुसाइट नोट । यो कविता असल पाठकहरूको हृदय र मस्तिष्कमा बसेको छ । पछिल्लो समय देशमा आएको राजनैतिक विचलनका कारण उतिकै सान्दर्भिक पनि बन्दै गएको भिमसेन थापाको सुसाइट नोट नेपाली साहित्यको सर्वोत्कृष्ट रचना हो । 

 

यस्तै सशक्त सृजनाहरूबाट नेपाली साहित्यमा आफ्नो उपस्थितिलाई बलियो बनाएकी छन् मोमिलाले । सुमाजका सुक्ष्म पक्षहरूलाई केलाउँदै जीवनका मरभूमीहरूमा फूल रोप्न उनी आफ्नो कलमलाई तिखार्छिन् ।  सपनाका हरियाली पर्वत टेक्नका निम्ति  विपनाका अफ्ठेरा बाटोहरू हिँड्नपनि उनी अभ्यस्त छिन् ।


‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ निबन्धसंग्रहबाट शसक्त निबन्धकारको रुपमा आफुलाई उभ्याइसकेकी मोमिला कवि र निबन्धकार दुबै सम्बोधनबाट परिचित छिन् । पछिल्लो समय नयाँ निबन्धसंग्रहको तयारीमा जुटेकी मोमिला  आफ्नो साहित्यिक पत्रिका कला श्री को सम्पादनमा व्यस्त रहने गर्छिन् । 


सवेंदनशिल मस्तिष्कमा घटनाको बिम्व
 

बाल्यकालको स्मरण गर्दै उनी भन्छिन् ‘स्कुलमा कहिल्यै दोस्रो भइन । रिजल्टमा सोचेभन्दा कम नम्बर आउँदा दुख लाग्दथ्यो । साहित्यिक कार्यक्रमहरूमा पनि सधैँ प्रथम हुन्थेँ । बुबा गीत संगीतको पारखी हुनुहुन्थ्यो । पाँच वर्षको हुँदा बुबाले नै रच्नुभएको गीत गाएर जिल्ला स्तरीय कार्यक्रममा प्रथम भएँ । तर आफैँले कविता लेख्न भने ९ वर्षदेखि सुरु गरेँ ।’
 

मोमिलाको कविता लेखनको सुरुवातमा पनि फरक किसिमको अनुभूती छ । उनी ९ वर्षको हुँदा दिदीसँग काठमाडौ गइन् । उनले त्यहाँ रानीपोखरीको छेउमा लाइनै भिखारीहरू भिख मागिरहेको देखिन् । त्यही समय कपाल सेतो भएको, जिङ्ग्रीङ्ग परेको, काँपिरहेको र आँखाबाट आँसु चुहाइरहेको एकजना भिखारी देख्दा उनलाई आफ्नो बुबाको याद आयो । तत्काल आफुसँग भएको दश पैसामध्ये पाँच पैसा भिखारीलाई दिइन् । तर उनले त्यो अनुहार पछिसम्म पनि बिर्सन सकिनन् । कवि हृदय भएको सवेंदनशील मस्तिष्कमा त्यस घटनाका बिम्व लामो समयसम्म खेलिरहे । यही घटनाबाट प्रेरित भएर उनले पहिलो कविता लेखिन् ।
 

जब कविता लेखनको यात्रा अघि बढाइन् तबदेखि धेरै दुखहरुसँग सामना गर्नुपरेको क्षणहरू उनीको मस्तिष्कमा ताजगी नै छ । 


समयसान्दर्भिक कविता
 

समय परिवर्तन भएपनि कविता जीवन्त रहने उनको धारणा छ । उनी भन्छिन्‘कविताको विषयजस्तु मर्लान् तर  कविताभित्रको काब्यिक चिन्तन भने कहिल्यै मर्दैन ।  कवितालाई कुनै भुगोल, सीमा र जातले बाँध्न सक्दैन । त्यसैले कविता मानिसभन्दा माथि छ ।’ कविता कविता जस्तो मात्र भएमा त्यसको कुनै अर्थ नहुने भाव राख्दै उनी भन्छिन्‘ फूल फूलजस्तो मात्र भयो भने के हुन्छ ?, मान्छे मान्छेजस्तो मात्र भयो भने के हुन्छ ?, नेता नेताजस्तोमात्र भयो भने के हुन्छ ?  एउटा लेखक लेखकजस्तो मात्र भयो भने के हुन्छ  ? जस्तोमात्रको माहोलमा गुणवक्ता हराउँदै गइरहेको परिप्रेक्षमा हामी पलायन हुँदै गइरहेका छौँ ।’ मुर्खहरूको भिडमा विद्धताको पहिचान हुन नसक्ने हुनाले समयसान्दर्भिक कविता लेख्नुपर्ने उनको मनशाय छ । 


कमजोरी सहितको मानिस
 

उनको विचारमा मानिस कमजोरी सहितले बनेको हुन्छ । ‘मानव जीवनमा नजानेर अन्जानमा केही गल्तीहरू हुन्छन् ।’ उनी भावुक हुँदै भन्छिन् ‘जीवन बाँच्दै जाँदा पूर्ण जस्तो कहिल्यै लाग्दैन । मानिस हुनुको कारण केही गल्तीहरू अवश्य छन् । कहीँ न कहीँ त्रुटिहरू अवश्य छन् । मानिस कहिलेकाहीँ देवता हुन्छ त कहिले राक्षसजस्तो । जीवनमा केही गल्तीहरू गरेहुँला, तर त्यसलाई सच्याएर अघि बढेको छु । संसारमा एकैचोटी घाम लाग्दैन । त्यसैले मैले एकैचोटी कसैलाई खुसी पार्न सकिन हुँला, कसैलाई दुखाँए पनि हुँला । तर जानेर कुनै भूल भने गरेकी छैन ।’ 


संसारलाई संसार बनाउने सुन्दर चिज 
 

मोमिलाको प्रेमप्रतिको धारणा निकै सुन्दर छ । उनी प्रेमलाई संसारको सबैभन्दा सुन्दर आँखिझ्यालबाट चियाउन चाहन्छिन् । उनको मनस्चक्षुले भन्छ‘ संसारलाई संसार बनाउने सुन्दर चिज हो प्रेम, मानवीय सवेंदनाहरूमा विशिष्ट संवेदना हो प्रेम ।’ यदि प्रेम घृणाको रुपमा पोखिन्छ भने उनको लागि त्यसको कुनै अर्थ छैन ।

 

उनी प्रस्ट भन्छिन् ‘विपरीत लिंगी प्रतिको आकर्षणमात्र प्रेम होइन । जागतिक सत्ताको प्रेममा घृणा पनि हुन्छ । हाम्रो समाजले प्रेमलाई गलत रुपमा बुझेको छ । यदि हरेक सम्बन्धमा एउटा प्रेम छैन भने त्यो प्रेम प्रेम रहँदैन । पती र पत्निविचको सम्बन्धमा प्रेम छैन भने त्यो सम्बन्ध दिगो रहँदैन । प्रेम आँसु हैन प्रेम प्रेम नै हो । कतिपय ठाउँमा आफ्नो प्रेमीका वा श्रीमती कसैसँग बोल्दैमा शारिरिक यातना दिइन्छ भने त्यो अतिशय आशक्ति मात्र हो । प्रेम यस्तो किसिमको पदचाप हो जुन टाढै बसेर पनि महशुस गर्न सकिन्छ ।’


आत्महत्याको प्रयास
 

कुनै एक समय जुनवेला जीवनलाई बुझ्न निकै कठिन थियो । जीवनमा कुनै बाटाहरू थिएनन्, दोस्रो विकल्प थिएन । त्यसवेलामा मोमिलाले एउटा निर्णय गरिन् यो भारी जीवन नै सदाको लागि बिसाइदिने ! उनले प्रयास गरिन् आत्महत्याको तर बाँचिन् ।
 

त्यो समय सम्झदैँ उनी भन्छिन् ‘मैले जीवनलाई बुझेकै रहेनछु । यो मेरो कमजोरी थियो । त्यतिवेला मर्ने प्रयास गरेँ । तर असफल भए ।’ त्यतिवेला आफु पुनः बाँचेकोमा उनी अहिले बाँच्नु अहोभाग्य ठान्छिन् । ‘मृत्यु महाविसंगती हो, त्यसपछि महाशुन्य हो । यदि मरेको भए यतिधेरै देशको परिवर्तन कहाँ देख्न सक्दथेँ, कहाँ अनुभूती गर्न सक्थेँ ?’

 

जीवन र मृत्यु प्रतिको अहिले उनको स्पष्ट धारणा छ ‘विसंगती भनेको बक्र रेखामा हिँडेको जिन्दगी हो । अस्तित्वको खोजी गर्दै हिँड्दा विसँगतीमा ठक्कर लाग्दछ ।  ठक्कर लाग्नुभनेको एक अर्थमा सगिंत हो । सरल रेखामा खुरुखुरु हिँडेको जीवन के जीवन ? विराम त्यहाँ छ जब हामी मर्छौँ ।’ 

 

उनी अहिले निकै उत्साहित छिन् । हरेक दिनको नयाँ विहानसँगै नयाँ क्रियसन गर्नु उनको दैनिकी हो । जीवनमा विकल्प नदेख्नु मानिसको कमजोरी लाग्छ उनलाई । उसो त जीवनको स्वर्णिम पक्षलाई कर्मको हातहरूले सजाउने प्रण गर्छिन् । बाँच्नुलाई नै ठुलो अवसर ठानेकी मोमिलाले आँखामा उत्साहको तेज भर्दै हृदयको भित्री कुनाबाट बोल्छिन्‘ तपाई क्षितिजलाई नियाल्नुस, त्यही नै अन्तिम जस्तो लाग्छ । तर डाँडामा पुगेपछि क्षितिज पर पर  भाग्छ । हाम्रो गन्तब्य पनि त्यस्तै हो । जति हिँड्यो उति नै लामो लामो हुन्छ । त्यसैले जीवन बाँच्नुजतिको सुन्दर कुरा अरू के होला ?’ 
 

प्रस्तुतीः समर्पण श्री