समाचार

राजनीति

प्रदेश ५

मोदी भ्रमणका विषयमा नकारात्मक टिप्पणी नगर्न मुख्यमन्त्री पोख्रेलको आग्रह

शुक्रबार, २८ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

मोदी भ्रमणका विषयमा नकारात्मक टिप्पणी नगर्न मुख्यमन्त्री पोख्रेलको आग्रह

दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताएका छन्।

 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई द्विपक्षीय हित, सहयोग र सद्भावका रुपमा लिनुपर्दछ।’ 

 

मुख्यमन्त्री पोख्रेलले राष्ट्रिय हितमा उभिन वर्तमान सरकारलाई कसैले सिकाउनु नपर्ने उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका विषयमा कसैले पनि नकारात्मक टिप्पणी गर्न नहुने बताए। उनले भारत र नेपालको सम्बन्धलाई थप उचाइमा पुर्याउन भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण कोसेढुंगा सावित हुने बताए ।

 

उनले विगतमा भारतले गरेका अमानवीय नाकाबन्दीको विषयमा जनस्तरबाट सरकारलाई ध्यानाकर्षण गराउने सन्दर्भमा आएका टीकाटिप्पणीलाई सल्लाह र सुझावका रुपमा लिइ भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सफल बनाउने सन्दर्भमा सरकारको ध्यान केन्द्रीत भएको धारणा व्यक्त गरे।

 

मुख्यमन्त्री पोख्रेलले जिल्लाको स्वास्थ्य, शिक्षालगायत सबै क्षेत्रको चौतर्फी विकासका लागि प्रदेश सरकारले केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताउँदै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच अगामी जेठभित्रै एकताको टुंगो लाग्ने दावी गरे। रासस