बिचार

फूलमा बारूद भरेर आउँदैछन् मोदी !

बिहिबार, २७ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज

फूलमा बारूद भरेर आउँदैछन्  मोदी !

राजेश मिश्र

नरेन्द्र मोदी क्रूर छन्। ओली कुटील। दुवैले आआफ्नो मुलुकको चुनावमा परम्परावादी कांग्रेसको पत्तासाफ गरे। मोदी र ओलीको ईतिहास र सैध्दान्तिक धरातल फरक छ। तर दुवै हठी छन्। मोदीको राजनीतिक जीवनको शुरुवात हिन्दुवादी राष्ट्रीय स्वयंसेवक संघका नेताहरुलाई चिया बेच्ने चायवालाका रुपमा भयो। ओली किशोरवयमै धर्मलाई अफीम मान्ने मार्क्सवादी चिन्तनको उग्र प्रवाहमा बगेर जमिनदारहरुको टाउको काट्ने रोमाञ्चक क्रान्तिकारी अभियानमा सहभागी भए। 

 

नरेन्द्र मोदी सन् १९७५ मा ईन्दिरा गान्धीले भारतमा लगाएको आपतकालमा भूमिगत हुने बाहेक कहिल्यै जेल परेनन्। उनले राज्यको यातना खप्नुपरेन। ओलीले आफ्नो जीवनको डेढ दशक कारावासमा बिताए। यातना सहे।

 

मोदी सन् २००१ मा गुजरातको मुख्यमन्त्री हुनुभन्दा सात बर्ष अघिनै सन् १९९४ मा ओली नेपालका गृह मन्त्री भैसकेका थिए। उमेरले ओली मोदी भन्दा दुई बर्ष कान्छा छन्। 

 

ओलीको राजनीतिक जीवनको आरम्भ हिंसाबाट भयो। नरेन्द्र मोदीले सन् २००२ मा मुख्यमन्त्रीका रुपमा गुजरात दंगामा आफ्ना बिरोधी मुसलमान र पारसीहरुको निर्मम सफाया गरे। सिध्दान्त मिलोस् नमिलोस्, दुवैको अभिष्ट मिल्छ। दुवै अधिनायकवादी चरित्रका छन्। तर खोल प्रजातन्त्रवादीको ओढेका छन्। 

 

दुवैजना वाकपटु छन्। अवसर हेरेर कुन ठाउँमा के बोल्नुपर्छ, कस्तो नाटक गर्नुपर्छ उनीहरुलाई कसैले सिकाउनुपर्दैन। दुवै राजनीतिका सिद्धहस्त खेलाडी हुन्। अबको एक बर्षपछि नरेन्द्र मोदीलाई चुनावमा आफ्नो पार्टीलाई फेरि जिताउनुपर्ने चुनौती छ। ओली पाँच बर्षका लागि दुई तिहाई बहुमत लिएर सरकार चलाउने तयारी गर्दैछन्। तर ओली ढुक्क हुने अवस्था छैन। संयुक्त चुनावी घोषणापत्रमा माके पार्टीसँग नारिएर चुनाव जितेपनि, माके(एमाले पार्टीबीचको एकताको कुरा बीरबलको खिचडी हुँदैछ। 


विवश ओली 

ओलीलाई थाहा छ, एकताको मिति जति लम्बिदै जान्छ, माके नेता प्रचण्डको मोलामोलाहिजा गर्ने वातावरण, शक्ति र सामर्थ्य झन् बढ्दै जानेछ। यही छेक पारेर नरेन्द्र मोदीको जस्केलाबाट नेपाल प्रवेश हुँदैछ। सबै जानकार छन्, सार्वजनिक रुपमा अभिव्यक्त नगर्नु अर्कै कुरा हो, माके पार्टी भारतको चाबुकमा चल्ने लगाम बाँधिएको एउटा लामो रेसको घोडा हो। नत्र, दुई तिहाई बहुमतको दुहाई दिने ओलीको ट्वीटरमा अचानक 'समीकरण बदलेर आफ्नो दूनो सोझ्याउन पल्केकाहरु' प्रतिको आक्रोश किन प्रकट भयो होला!  प्रचण्ड, पार्टी एकीकरणको मामिलामा अचानक परस्पर बिरोधाभाषी कुरा गर्दै किन हिंडेका होलान!  

 

आवरणमा जति निर्भिक देखिएपनि, ओली चिन्तित छन्। चुनावका सहयात्री प्रचण्डको छेपारो प्रवृत्तिका बारेमा उनी अवगत छन्। मोदीका दूतको एउटा सानो संकेतले ओलीको हस्तिनापुरको साम्राज्य चपरीमुनिको बासमा परिणत हुनसक्छ। प्रचण्डले पहिले नै साबित गरिसके। अहिले त स्वयं मोदीको सवारी हुँदैछ।

 

नेपाली राजनीतिक स्थिरताको हाड–जोर्नी खुस्काउन मोदी सशरीर उपस्थित हुने दरकार छैन। दिल्लीको ‘साउथ ब्लक’ मा रिमोट कन्ट्रोल  लिएर बसेकाहरुको औंला तलमाथि हुँदा नेपाली राजनीतिक समीकरणको  दृश्य परिवर्तन हुन्छ। रणनीतिक रुपले प्रचण्डबाट लज्जास्पद मात खाएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा अझै मुख आँ बाएर बसेका छन्। 

 

भारतीय रिमोट कन्ट्रोलमा सानो कम्प भएको निमेषभरमा मधेशी दलहरुले कोल्टे फेर्नेछन्। पार्टी एकताको मामिलामा बराबरीको हकदावी गरिरहेका प्रचण्डको के कुरा गराई भो र! ओलीले यो जटील परिस्थितिको राम्रै मूल्याङ्कन गरेको हुनुपर्छ। त्यसैले उनी विवश छन्।     


च्यातिएको चिनियाँ कार्ड 

मुलुकमा नयाँ संबिधान जारी भएपछि अहिले दुई नम्बर प्रदेश भनिएको नेपाली भूखण्डका शासकहरुको खुला आमंत्रणमा भारतले नाकाबन्दी लगाउँदा ओलीसँग तथाकथित चिनियाँ कार्ड खेल्ने सुविधा थियो। तर यो बीचमा तिब्बतको साङ्ग्पो नदि हुँदै ब्रह्मपुत्रसम्म करोडौं क्युसेक पानी बगिसक्यो। नेपाल भ्रमणको पूर्व सन्ध्यामा मोदीले चीन भ्रमण गरे। चिनियाँ रास्ट्रपति सी जिन्पिङ्गले उनलाई भनेर पुरै दुई दिन छुट्याए। तिब्बती शरणार्थी मामिलामा भारत खुकुलो हुन थालेको छ। चीनले अरुणाञ्चल प्रदेशमा भारतसँगको विवादलाई नचर्काउने अनौपचारिक संकेत दिईसक्यो। 

 

चीनले भारतको भौतिक संरचना, प्रविधि र उर्जा बजारमा गाडेको आँखाको तुलनामा नेपालको अर्थतन्त्र बदामको गेडा पनि होईन। २०१५ मा नेपालमा भुईंचालो आएपछि उद्दारकार्यमा खटिएका चिनियाँहरुले सिन्धुपाल्चोकको घर घरमा दलाई लामाको तस्वीर पुजा गरिएको देखेपछि, तातोपानी नाका अहिलेसम्म बन्द छ। 

 

केरुंगको बाटो आउने भनिएको चिनियाँ रेल ओलीका लागि जनता भुल्याउने आकर्षक नारा पक्कै हो। तर ओली पदमुक्त हुन्जेलसम्म पनि नेपालीहरुसँग यस सम्बन्धी सम्भाव्यता अध्ययनको समाचार पढेर बस्नुको विकल्प छैन। रेल आएको अवस्थामा पनि, त्यो मार्ग भारत चीन ब्यापार मार्ग बाहेक नेपालका लागि आर्थिक रुपले लाभदायक हुने कुरामा शंका छ। भात खाने खाद्यान्न आयात गर्नुपर्ने नेपालले उत्तर र दक्षिणतिर के के निर्यात गर्ला? 

 

भारतले नेपालमाथि पटक पटक लगाउँदै आएको नाकाबन्दीको पहिलो असर नेपालका पेट्रोल पम्पहरुमा देखिन्छ। के चिनियाँ रेल त्यसको विकल्प हुनसक्छ!  नरेन्द्र मोदीले मीठो हिन्दीमा एकपटक सुमसुम्याईदिंदा नेपाली ‘राजनेता’हरु चीनसँग भएका सन्धी र सम्झौतालाई व्यवहारमा उतार्ने कुरा चटक्कै बिर्सिदिन्छन् भन्ने कुरा उत्तरी छिमेकीलाई राम्रै थाहा छ।    


मोदीको कपट 

मोदीको यो नेपाल भ्रमण उनले भूकम्पले थलिएको नेपालमाथि थपिदिएको प्रताडनाको आत्मालोचना होईन। न त आफ्नो लागि आफ्नो संबिधान जारी गर्ने नेपाली स्वनिर्णयको अधिकारमाथि भारतले बोलेको धावाको प्रायश्चित नै हो। उनको यो भ्रमण नेपालका लागि होईन, नेपाललाई आफ्नो आन्तरिक राजनीतिक स्वार्थका लागि उपयोग गर्न हुँदैछ। भारतमा अबको एक बर्षमा चुनाव हुन्छ। नरेन्द्र मोदीको सरकारले नेपाल लगायत दक्षिण एशियाका छिमेकी मुलुकहरुमाथिको आफ्नो ूपकडू गुमाएको कुरा बिपक्षीहरुले एउटा गतिलो मुद्दाका रुपमा उठाउनेछन्।

 

नेपाल र चीन बीचको सामिप्यता भारतका हरेक राजनीतिक दलका नेताहरुको कानमा बज्ने खतराको घन्टी हो। मोदीलाई चुनावी सभाहरुमा बिपक्षीहरुलाई परास्त गर्न लोक रिझ्याउने मुद्दाको आवश्यकता छ। नेपाल भ्रमण त्यसैको तयारी हो। 

 

मोदीले यसको पृष्ठभूमि ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नु अगावै विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाएर तयार पारिसकेका थिए। स्वराजले तयार पारिदिएको मन्चमा आएर मोदी अहिले नाटक देखाउँदैछन्। मोदीको देखावटी धार्मिक भ्रमणबाट नेपालले कुनै लाभ हासिल गर्नेछैन। तर नेपालप्रति चीनको आँखीभौं भने पक्कै खुम्च्याउनेछ। 


प्रान्तीय भ्रमणको झल्को 

मोदीको नेपाल भ्रमण एउटा बिदेशी सरकार प्रमुखको अर्को छिमेकी मुलुकको भ्रमण भन्दा पनि, आफ्नै सिमानाभित्रको कुनै एउटा प्रान्तको भ्रमण गरेको शैलीमा ूडिजाईनू गरिएको छ। नेपालका प्रधानमन्त्रीले रारा ताल पुगेर राष्ट्रका नाममा सम्बोधन गर्नु र भारतका प्रधानमन्त्रीले पटनाबाट हेलिकप्टरमा उडेर सोझै  जनकपुरमा नेपाली जनतालाई सम्बोधन गर्नु अनि अभिनन्दन ग्रहण गर्नु दुई सर्वथा भिन्न कुरा हुन्। तर ओली सरकार यस मामिलामा लाचार देखियो। 

 

नरेन्द्र मोदी नेपालको राजधानी काठमाण्डौ आएर पनि एउटा होटलमा बास बस्नेछन्। यही होटलको छेउको अर्को होटलमा नेपालका लागि भारतका तीनजना पूर्व राजदूतहरुले दुई साता अघि नेपालका हरेक ज्ञात अज्ञात राजनीतिका खेलाडीहरुसँग मन्त्रणा गरेका थिए। सार्वभौम नेपालको दुई तिहाई स्वाभिमानी मतका धनी राष्ट्रवादी प्रधानमन्त्री केपी ओली उनलाई ूभेट्नू त्यही होटलमा पुग्नेछन्। कूटनीतिक शिष्टाचारको मामिलामा नेपालको स्वाभिमान यति तल शायद कहिल्यै झरेको थिएन।

 

बरु सामन्ती निरंकुश राणा शासकहरु विदेश जाँदा कति तोपको सलामी पाउने भन्ने कुराको टुंगो लगाएपछि मात्र जुतामा खुट्टा हुल्थे। ओलीको धारणा छ, जुत्ताको आकार नमिले बरु खुट्टा ताछ्पर्छ। माके पार्टीसँग एकता गर्ने मामिलामा ओलीले बोलेको कुरा मोदीको सत्कारमा ठ्याक्कै मिल्न जानु के एउटा संयोग मात्र हो? 

 

ओलीलाई भेटेको भोलीपल्ट मोदी बिहानै मुक्तिनाथ जानेछन्। एक घन्टाका लागि। मुक्तिनाथ चीनको सीमा क्षेत्र हो। यसको अभिप्राय फेरि भारतमा हुन लागेको चुनावसँग जोडिन्छ। नेपाल भारतको ूपकड़ू बाट उम्किएर चीनको पोल्टोमा पुगेको छैन। नेपालले मोदीको भ्रमणका लागि यो क्षेत्रमा दुई दिन अघोषित कर्फ्यू नै लगायो। आफ्नो पर्यटन उद्योगको चिन्ता समेत गरेन। यो भारतीयहरुलाई मोदीले दिने अर्को ठोस संदेश हो। 

 

'भाईयों और बहनों, देखा आपने नेपाल अभी भी हमारा प्रभाव क्षेत्रसे बाहर नहीं है। मैं खुद हिमालय पारके नेपाली गावं तक हो के आया।वो पहाडके लोग भारतको ईतना प्यार करते हैं कि उन लोगोंने वहाँ भी मेरा अभिनन्दन किया।'

 मोदीका लागि अर्को चुनावी नारा तयार छ। 


हात लाग्यो शुन्य 

ओली युवा हुँदा आफ्नो नेकपा एमाले पार्टी फुटाएर भारतसँग गरेको महाकाली सन्धी पछि बनाउने भनिएको पंचेश्वर जलबिद्युत आयोजनाको बिस्तृत कागजी खाका समेत तयार हुनसकेको छैन। यसबीचमा ओलीको मृगौलाले काम गर्न छोड्यो। त्यो फेरियो। उनलाई अहिले जोसुकैसँग हात मिलाउँदा पनि संक्रमण हुने खतरा छ। उनी बूढा भैसके। उनले सत्ताको उकाली ओराली धेरै गरे। नेपाल जहाँको त्यहीं छ। 

 

भारतका सरकारी र निजी कम्पनीहरुले जलबिद्युत उत्पादनको नाममा नेपालका खोलाको लाईसेन्स झोलामा हालेर बसेको दशकौं बित्यो। त्यसको कुनै सुरसार छैन। बरु, भारतीय लगानी भन्दा बाहेकका आयोजनाबाट उत्पादित बिजुली उसले नकिन्ने कुरा औपचारिक रुपमा सार्वजनिक भैसक्यो। चीन र भारतबीच उर्जा बिकासमा सहकार्य हुने सम्भावनाले आकार लिंदैछ। यस अवस्थामा भारतले नेपालको बिजुली होईन, पानीमा आँखा गाडेको कुरा बुझ्न ओली जस्ता चतुर प्रधानमन्त्रीलाई कुनै बिशेषज्ञको सल्लाह आवश्यक नहुनुपर्ने हो। तर ओली र मोदी काठमाण्डौंमा अरुण तेश्रो जलबिद्युत आयोजनाको शिलान्यास गर्दैछन्।

 

गिरिजाप्रसाद कोईरालाका पालामा ओलीकै पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपालले भारतीय ईशारामा दाता संस्था विश्व बैंकलाई पत्र लेखेर अरुण तेश्रो आयोजनाको भविष्यलाई रेटिदिएका थिए।

 

ओलीले मोदीको कुर्ताको फेर समातेर नहिंड्ने हो भने उनको दुई तिहाई बहुमतको सरकार तासको घरझैं फू गर्दा ढल्नेछ। ओलीलाई यो कुरा थाहा छ। त्यसैले उनी आफुले रारा तालको भ्रमण गरेको शैलीमा मोदीले गर्ने नेपाल भ्रमण चुपचाप सहन, हेर्न र त्यसलाई सहयोग गर्न पनि बाध्य छन्। 

 

राणाकालमा नेपाल भ्रमणमा आउने बेलायती राजारानीका सम्मानमा चितवनका लोपोन्मुख बन्यजन्तुको शिकार हुन्थ्यो। मोदीको भ्रमणमा नेपालको स्वाभिमानको शिकार हुनेछ। मोदीले ओलीलाई काखमा राखेर फूलको धारले रेट्नेछन्। नेपालको सम्बृध्द हुने सपना लोप हुनेछ। 


मोदी फूलमा बारूद भरेर नेपाल आउँदैछन्।