समाचार

प्रदेश २

मोदी आउँदा जनकपुरमा मास्क लगाएर हिँड्न नपाइने , घरका झ्याल ढोका पनि बन्द गर्नुपर्ने

भोलि प्रदेश २ मा सार्वजनिक विदा

बिहिबार, २७ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

मोदी आउँदा जनकपुरमा मास्क लगाएर हिँड्न नपाइने ,  घरका झ्याल ढोका पनि बन्द गर्नुपर्ने

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षालार्इ मध्यनजर गर्दै जानकी मन्दिर र बाह्रबिघा क्षेत्रमा माक्स लगाएर हिँड्न पनि नपाइने भएको छ । 

 

जिल्ला प्रहरी कार्यालय धनुषाले सूचना निकाल्दै उक्त क्षेत्रमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र मास्क लगाएर हिँड्न निषेध गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि २८ गते बिहान ६ बजेदेखि बेलुका ३ बजेसम्म ट्रक, टिपर ट्याक्टर, टेम्पो, ई-रिक्सा लगायतमा निषेध गर्ने भएको छ।

 

 बस, चार पाङग्रे सवारी, दुई पाङग्रे सवारी र आकस्मिक सवारीहरु मात्र चलाउन पाइने ट्राफिक प्रहरीले जनाएको छ।

 

ढल्केबरबाट आउने सवारीलाई कभर्ड हल तथा मणिपालको एरिया, जलेश्वर तथा जट्ही तर्फबाट आउनेलाई रत्नसागर तथा बालुवा चौकी एरिया, औरही तर्फबाट आउनेलाई कपिलेश्वर बसपार्क तथा तेतरिया तर्फबाट आउने सवारीलाई पुल्चोक बसपार्कमा पार्किङको व्यवस्था छ।

 

रिङरोड भित्रका सबै रोड तथा शाखा बाटोका छेउछाउ कुनै पनि सवारी पार्क गर्न नपाइने प्रहरीले जनाएको छ। यस्तै मोदीको आवागमन हुने सडकमा पर्ने पसल तथा घरको झ्यालढोका सवारीको एक घन्टाअघि नै बन्द गर्नुपर्ने पनि प्रहरीले जनाएको छ।

 

दुई दिने नेपाल भ्रमणका लागि मोदी शुक्रबार जनकपुर आउँदैछन् । उनले जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले मोदीको सम्मानमा बाह्रविघा मैदानमा नागरिक अभिनन्दन कार्यक्रम राखेको छ ।

 

मोदीकाे सुरक्षाका लागि बिहीबार दिउँसो १२ बजेदेखि नै जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । भाेली प्रदेश २ सरकारले प्रदेशभरी सार्वजनिक विदासमेत दिएको छ ।