बिचार

ओली–मोदी–ट्रम्प ‘कमन क्वालिटी’: नश्लीय अतिवाद

प्रधानमन्त्री ज्यू ! भारतीय नाकाबन्दीलाई ‘मिसअन्डरस्ट्यान्डिङ’ भन्न पाइन्छ ?

आइतबार, २५ चैत २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

ओली–मोदी–ट्रम्प ‘कमन क्वालिटी’: नश्लीय अतिवाद

रोहित ।

 

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबारे धेरैको चासो थियो । बिगतमा भारतविरोधी उनका अभिव्यक्ति सम्झेर कसरी प्रस्तुत होलान् भन्ने धेरैलाई लाग्यो ।

 

पुरानो कुरा कोट्याउँदै केही मिडियाले पनि उनलाई सोधे । ‘पुराना कुरा बिर्सेर अघि बढ्नुपर्ने’ भारतीय पक्षको भनाइ थियो भने ओली आफूहरुबीच ‘केही मिसअन्डरस्ट्यान्डिङ थियो’भन्दै पन्छिए ।

 

रोचक कुरा त के भने, भारतको विकल्पको रुपमा चीनसँग मितेरी गाँसेका ओलीले भारत भ्रमणको बेला ‘चीनसँग नढल्किएको’ दाबी गरे । 

 

ओलीको छलकारी बिगत

प्रधानमन्त्री ओली अघिल्लो पटक प्रधानमन्त्री बन्दा भारतको विरुद्धमा चर्को अभिव्यक्ति दिए । चीनसँग केही सम्झौता पनि गरे उनले । आम जनतामाझ भारतविरोधी ‘अडान’ लिएको भन्दै लोकप्रिय बने । मधेसको विरुद्ध मास भड्काए र भारतविरोधी ‘सेन्टिमेन्ट’ समेटे ।

 

अचानक प्रधानमन्त्री नबन्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई काठमाडौंमै भेटे । स्वराजसँग भेटेपछि नै ओलीको शैली र प्रबृत्तिमाथि आशंका सुरु भयो । स्वराजसँग गैरकुटनीतिक भेट किन गरियो ? भनेर सोध्ने साहश धेरैले गरेनन् ।

 

सोध्नेहरुलाई जवाफ दिइयो कि, ‘भारतसँग रिसइबी साँधेर मात्रै हुँदैन ।’ ओली पहिलो पटक प्रधानमन्त्री बन्दा ‘भारतविरुद्ध अडान लिनसक्ने एक मात्र नेता’ भन्दै प्रचारवाजी गर्ने उनका समर्थकहरु दोस्रो पटक प्रधानमन्त्री बन्दा ‘नयाँ युगको सुरुवात गर्ने नेता’भन्दै अर्को पगरी गुथाउँदै छन् ।

 

मोदी र ओली उस्तै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जस्तो स्वभाव छ, नेपालका प्रम ओलीको उस्तै छ । त्यसो त, भारतको सस्तो नारा ‘सबका साथ सबका विकास’ले जसरी भारतीय जनताको शोषण भइरहेछ, नेपालमा ‘समृद्ध नेपाल सुखी नेपाली’ले शोषण गर्नेवाला छ ।

 

मोदी मध्यमवर्गीय जनताको तत्कालिन सुविधाको लागि निजी कम्पनीको दादागिरी भित्र्याउँदै छन् । त्यस्तै ओलीले नेपालमा गर्दै छन् । पक्कै हो, ‘समृद्धि र विकास’को नाममा सहरका थुप्रै सुकुम्बासीको उठीबास हुनेवाला छ । गरिबको संख्या बढ्नेवाला छ । परनिर्भरता थप बढ्नेछ । अन्ततः यसले सहरी गरिबी बढाउनेछ ।

 

विश्वमा गोप्य सूचना केही हुँदैन भन्ने एउटा मान्यता छ । राजनीतिज्ञहरुको हकमा सत्य सूचना कहिल्यै जनतालाई नभन्नु भन्ने उल्टो विश्वास छ । प्रधानमन्त्री ओलीले अघिल्लो पटक भारतबारे जस्ता अभिव्यक्ति दिए त्यसको हिसाव कसरी मिल्यो ? मधेसबारे जे बोले त्यसको हिसाव कसरी मिल्यो ?

 

भारतलाई तथानाम गाली गर्दा ‘गजबको अडान’ हुने, संवाद सुरु हुना साथ ‘नयाँ मित्रता’ कसरी सम्भव छ ? नेपाल–भारत सम्बन्ध प्रधानमन्त्रीको लहडमा चल्ने कुरा थियो त ?

 

भारतको एक पत्रिकाको लागि उनले अन्तरवार्ता दिँदा ‘हामीबीच मिस अन्डरस्ट्यान्डिङ थियो’ भन्दै कुटनीतिक जवाफ फर्काएर पन्छिए । कस्तो ‘मिसअन्डरस्ट्यान्डिङ’ ? के कुरामा ‘मिसअन्डरस्ट्यान्डिङ’ ? राजनीति वा कुटनीतिमा देखिने भन्दा धेरै नदेखिने कुरा हुन्छन् ।

 

आम जनता चाहिँ नेताको भाषण सुनेरै धारणा बनाउँछन् । यही त हाम्रो दुर्भाग्य भयो । बिगतमा भारतसँग ‘कुस्ती खेल्न’ बोलाए झैँ सस्ता गाली गरेर मधेसविरोधी भावना भड्काउने ओली मधेसलाई पेलेरै आफ्नो स्वार्थ पूर्ति गर्दै छन् ।

 

‘भारतीय पक्षले मधेसलाई उचाल्यो’ भन्दै गाली गर्ने उनै ओली अहिले ‘भारतसँग नमुना सम्बन्ध’देख्दै छन् । कसरी सुहाउँछ यस्तो ? सरकार बनेपछि मधेसलाई पनि समेट्ने, भारतसँग पनि अचानक सम्बन्ध सुध्रने र मधेसका मुद्दा पनि सम्बोधन हुने कसरी सम्भव छ ?

 

यो लामो श्रृंखलामा जनभावनालाई ‘डाइभर्ट’ गर्दै जनता भड्काउने दोषको सबैभन्दा बढी बागीदार ओली नै हुनुपर्छ । उनी आफ्नो व्यक्तित्वलाई व्यवस्थाभित्र देख्न चाँदैनन् । बरु व्यवस्था आफैँ बनाउन खोज्दै छन् । यसैले त हो, लोकतान्त्रिक पद्दतिलाई कमजोर बनाउने ।

 

ट्रम्प, मोदी र ओली

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रम नरेन्द्र मोदी र नेपाली प्रम ओलीका कार्यशैली र प्रबृत्ति नियाल्ने हो भने उस्तै छन् । यी तीनै जना पात्र साम्रपादीयक र असहिष्णु छन् ।

 

अमेरिकामा ‘फस्ट अमेरिकन’को नाममा । भारतमा हिन्दुहरुको नाममा र नेपालमा पहाडी र महेन्द्रीय शासन व्यवस्थाको नाममा तीनै जनाले ‘राष्ट्रवाद’लाई बलियो बनाउँदै छन् । र राष्ट्रवादले व्यक्तिलाई बलियो त बनाउँछ, व्यवस्था र आम जनतालाई कमजोर बनाउँछ ।

 

यसको यात्रा अन्ततः तानाशाही एकतन्त्रीय शासन हो । विकासको नाममा करोडौं जनताको ओलोचनात्मक सोच र मनस्थिति नष्ट गर्ने तरिका यही हो । उनीहरुलाई मेसिन बनाएर आफ्नो एकतन्त्रीय शासन लाद्ध्ने बाटो यही हो ।