समाचार

देश

प्रदेश २

प्रदेश ३

सडक दुर्घटनामा तीनको मृत्यु

शनिबार, २४ चैत २०७४ गते प्रकाशित
- नेपाल आज (LB)

सडक दुर्घटनामा तीनको मृत्यु

काडमाडाैं । सप्तरी र चितवनमा भएका सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहामा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।

 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख ६०२ नं. को बसको टायर पञ्चर भई अनियन्त्रित भएर स.७प ७१५० नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–८ निवासी ४० वर्षीय शम्भु स्वर्णकार र सोही ठाउँका ३५ वर्षीय सन्दीप स्वर्णकारको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

मोटरसाइकल चालक स्वर्णकारको उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको र सन्दीपको उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ। 

 

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रण लिएको छ। यसैबीच चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार साँझ बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

 

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख २५५५ नं.को बसले ठक्कर दिँदा स्थानीय ६० वर्षीय शंकर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयवासीले बसमा तोडफोड गरेका छन् । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।