समाचार

पर्यटन

प्रदेश ६

सुर्खेत–सिमकोट–हिल्सा नाकालाई राष्ट्रिय गौरवको आयोजनामा जोडिने

शुक्रबार, २३ चैत २०७४ गते प्रकाशित
- Dhiraj Devkota

सुर्खेत–सिमकोट–हिल्सा नाकालाई राष्ट्रिय गौरवको आयोजनामा जोडिने

भारतसँग नाका नजोडिएको कर्णाली प्रदेशले सुर्खेत–सिमिकोट–हिल्सा नाकालाई राष्ट्रिय गौरवको आयोजनामा जोड्ने तयारी गरेको छ। 

 

कर्णाली प्रदेश सरकारको वैशाख १ गते प्रधानमन्त्री केपी ओलीसहित रारामा बस्ने मन्त्रिपरिषद्को बैठकमा यसबारेमा निर्णय गरिने तयारी भइरहेको छ।

 

चीनसँग जोड्ने हिल्सा सडकलाई सुर्खेत–हिल्सा प्रधानमन्त्री पर्यटन लोकमार्ग नामाकरण गरेर प्राथमिकतामा राख्न लागेको कर्णाली प्रदेशका कार्यवाहक मुख्यमन्त्री प्रकाश ज्वालाले जानकारी दिए। 

 

कर्णालीका अर्थ मामिलामन्त्रीसमेत रहेका ज्वालाले यो सडकलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओली सहभागी बैठकमा निर्णय गरिने बताए।

 

‘दक्षिणतर्फका नाकासँग नजोडिएको प्रदेश भएकाले पहिलो प्राथमिकतामा हिल्सा सडकलाई राख्छौं’ज्वालाले भने, ‘राष्ट्रिय गौरवको आयोजनामा स्थापित गरेर सडक निर्माणमा तीव्रता पनि दिन्छौँ।’

 

कर्णाली–रारा पर्यटन वर्ष रारा तालमा उद्घाटन गरिए पनि समग्र प्रदेशभरिकै पर्यटन क्षेत्रको विकासका लागि विशेष प्याकेज ल्याउन प्रदेश सरकार जुटेको ज्वालाले जानकारी दिए।