कला साहित्य

निर्भीकजंग रायमाझीका ३ कविता

शनिबार, १५ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (RP)

निर्भीकजंग रायमाझीका ३ कविता

काठमाडौं । निर्भीकजंग रायमाझी अहिलेका प्रभावशाली युवा कवि हुन् । उनको खास रुची साहित्य र इतिहासमा छ । त्यसो त, उनले आफ्नो अध्ययनको दायरा फराकिलो बनाएका छन् । पत्रकारितालाई पेशा बनाउँदैआएका निर्भीकजंग प्रखर छन् ।

 

समाचार तथा फिचर लेखनमा सक्रिय उनका कविता साँच्चिकै हस्तक्षेपकारी छन् । उनका तीन कविता "आँखा सामुन्ने एउटा साँझ", "औजार" र "कालो अबिर" यहाँ प्रकाशन गरिएकाे छ ।


आँखा सामुन्ने एउटा साँझ

अनायास 
साँझ आइपुग्छ
उसैगरी

 

रेट्दै कलेजीका पत्र
साँझ– अल्झाउंछ पछ्यौरी
र निकाल्छ छाती भिज्ने गरी– विरही धून

 

टेक्दै उही प्राचीन सपनाको वैशाखी
साँझ झन्झन् नजिक आउंछ
कि भाग्न खोज्दाखोज्दै पनि
अङ्गालोसम्मै आउछ

 

उफ् !
साँझ आफ्नै काँधमा अँधेरो बोकेर 
गरुङ्गो बन्दै आउंछ
साँझ आफ्नै हत्केलामा फूल उनेर
निराश बन्दै झर्छ
अनि उसैगरी  प्रत्येक दिन
अँधेरो–उजेलोको दोभान बनेर
आँखै सामुन्ने एउटा साँझ
निष्पट्टताको गहिराइमा खसेर मर्छ !
       ●●


औजार

हरेक दिनको परिश्रमले 
थाकेर सुतेका औजारहरू पनि 
आज जुर्मुराएर उठ्दैछन् 

 

चलाएपछि औजार 
चुप बस्न जानेको हुन्न यसले पनि 
औजार– 
स्थीरताको कुनै नाम बन्न रूचाउदैन
औजार– 
मौनताको कुनै साधन बन्न चाहदैन

 

जसरी
औजारहरूको उपयोग गरेर
चलाएको छ सैनिकले बन्दुक
औजारहरूमै संगीत गरेर 
चलाएको छ मजदुरले जीवन

 

आखिर
औजारकै वरीपरी छ
वसुधा 

फलामका
काठका
र ढुङ्गा 
औजारहरू चलाउनु त ठिकै हो
तर मान्छेले मान्छेलाई औजार बनाउनु 
बडो विषादको कुरा हो !

 

मान्छे बरू आफ्नै जीवनको औजार हो
मान्छे सीप र सृजनाको औजार हो 
समग्र सृष्टिको– सर्वसुन्दर औजार हो ।

●●●


कालो अबिर

यसपाली 
म पनि खेल्न चाहन्छु होली
दलेर कालो अबिर 
जल्लादहरूको चेहरामा !

 

उसो त इन्द्रेणीहरू मन नपर्ने कहाँ हो र मलाई 
घमाइलो दिन र फूलबारी मन नपर्ने 
कहाँ हो र मलाई रु
तर मेरै गुराँसको लाली चोरेर
मेरै फूलबारीमा तेजाव फ्याँकेर 
तिमीले उत्सव पो मनायौ प्रतिसाल

 

सहेर बसेथेँ जसोतसो 
तिमीले मसाल फाल्यौ मेरै छानोमा 
मौलो राख्यौ मेरै आँगनमा
र निचोर्दै मान्छेको धड्किरहेको मुटु
खेलिरह्यौ होली प्रतिसाल

 

यसपाली भने
म पनि खेल्दैछु होली
दलेर कालो अबिर 
सभ्यताको निधारभरी ।

 

-निर्भीकजंग रायमाझी