देश

इतिहास र अनुभुति

अाज विश्व पृथ्वी दिवस मनाईँदै

आइतबार, ०९ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

अाज विश्व पृथ्वी दिवस मनाईँदै

काठमाडौं । पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी आइतबार नेपालसहित विश्वका धेरै देशमा मनाईंदैछ । हरेक वर्ष वर्यावरणीय महत्व तथा पृथ्वीमा आश्रीत प्राणी तथा वनस्पतिको रक्षा अनि दीगो भविष्यको कामना र त्यसका लागि गर्नु पर्ने प्रयासका बारेमा जानकारी गराउँदै अप्रिल २२ का दिन यो दिवस मनाउने गरिएको छ ।

 

सन् १९७० देखि अमेरिकाबाट मनाउन सुरु भयो पृथ्वी दिवसलाई सन् २००९ मा संयुक्त राष्ट्रसंघको ६३ औँ महासभाले औपचारिक मान्यता दिएको थियो । संयुक्त राष्ट्रसंघले औपचारिक रुपमा नै अप्रिल २२ लाई पृथ्वी दिवसको रुपमा मनाउने घोषणा गरेपछि अहिले विश्वका प्रायः देशले यो दिवस मनाउने गरेका छन् ।

 

२२ अप्रिल यस्तो समय हो, जुन बेला पृथ्वीका दुई ध्रुवमा दुई फरक मौसम हुने गर्छ । उत्तरी गोलाद्र्धमा वसन्त तथा दक्षिणी गोलाद्र्धमा शरद ऋतु हुने र पृथ्वीको यहि विभिदतालाई उत्सवको रुपमा मनाउनका लागि २२ अप्रिलका दिन पृथ्वी दिवस मनाउने गरिएको हो ।

 

यो दिन मानव, प्राणी तथा वनस्पतिको साझा आश्रय स्थल पृथ्वीको महत्व र यहाँका बासिन्दाको सहअस्तित्वलाई थप बलियो बनाउनका लागि जोड दिइन्छ ।पृथ्वी र यहाँको पारिस्थितिक प्रणाली हाम्रो साझा घर रहेकाले यसको सुरक्षाको जिम्मा पनि हाम्रै काँधमा रहेको बुझाउनु यो दिवसको उद्देश्य हो ।

 

पछिल्ला वर्षहरुमा मानवीय गतिविधिका कारण पृथ्वी र यसमा आश्रित धेरैको अस्तित्व नै संकटमा परेको छ । वर्षेनी तापक्रम बढ्दै गएको छ । यसले भावी पुस्ताको अस्तित्व संकटमा पर्ने देखिन्छ ।

 

आजैदेखि त्यो संकटको अवस्था आउन नदिनका लागि व्यक्तिगतदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रयासको खाँचो रहेकोमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ ।

 

सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको पृथ्वी सम्मेलनले पृथ्वीको महत्वलाई थप प्रस्ट पारेको थियो र त्यहि कुरालाई जोड दिँदै यो दिवस मनाउने गरिएको छ । त्यही सम्मेलनले तय गरेको एजेण्डा ट्वेन्टीलाई अहिलेको दीगो विकास लक्ष्यको आधारका रुपमा पनि लिइन्छ ।