बिचार

अन्तरवार्ता

भिडियो

कभर स्टोरी

केही हदसम्म हामी विदेशीको गोटी भएर देश यस्तो भयो (भिडियो)

शनिबार, ०८ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज

केही हदसम्म हामी विदेशीको गोटी भएर देश यस्तो भयो (भिडियो)

केबी रोकाया, राजनीतिक विश्लेषक  

जुन बेला नेपालमा माओवादी सशस्त्र द्वन्द्व चलिरहेको थियो, त्यो बेला सरकारले माओवादीलाई आतंकवादी घोषणा गरेको थियो । विश्वभर नै आतंकवादविरुद्धको लडाईँ जारी थियो । अमेरिकाले आतंकवादविरुद्धको लडाईको नेतृत्व गरेको थियो । युरोपेली मुुलुकहरु पनि आतंकवादविरुद्ध एक थिए । म क्रिस्चियन भएकोले मैले माओवादी आतंकवादी होइनन्, राजनीतिक शक्ति हुन् भन्ने मान्यता स्थापित गर्न मेरा युरोप अमेरिकामा रहेका मित्रहरुसँग सम्वाद अघि बढाएँ । 

 

पश्चिमाहरुको सबैभन्दा बढी विरोध कम्युनिष्ट र माओवादविरुद्ध छ । युरोपहरुका विभिन्न राष्ट्रहरुको सहकार्य र सम्वादले उनीहरुको सोचाई राम्रो हुन थाल्यो । बेलायत, बेलायती सरकार, त्यहाँका जनता र सञ्चारमाध्यमहरुसँग मैले सम्वाद गरेँ । 

 

तर अन्तिमसम्ममा पनि अमेरिका माओवादीसँग वार्ता गर्नु हुँदैन भन्ने पक्षमा थियो । तर मैले अमेरिकामा रहेका मेरा क्रिष्चियन साथीहरुसँग मिलेर गृहकार्य गरियो । मैले गरेको पहलले, त्यहाँका जनताको र मेरा साथीहरुको प्रयासले अन्ततः अमेरिकाले माओवादीलाई हेर्ने दृष्टिकोण बदल्यो । 

 

त्यसपछि नेपाल सरकारले माओवादीसँग वार्ता गर्दा आपत्ति  छैन भन्ने विन्दुमा अमेरिका आयो । अमेरिका सहमत नभएको भए वार्ता सम्भव थिएन । शान्ति प्रक्रिया अगाडि बढ्ने थिएन । 


त्यो बेला मैले नर्वेका चर्चहरुमा गएर मैले बोले । नर्वेका जनतासँग पनि कुरा गरेँ । नर्वे सरकारका प्रतिनिधिसँग कुरा गरेँ । त्यहाँको संसदमा पनि पुगे । त्यहाँका सञ्चारमाध्यममा पनि म पुगेँ । 

 

त्यसपछि नर्वेका जनता, विश्वविद्यालयसम्म पुगेँ । जर्मनीमा पनि त्यस्तै गरेँ मैले । बेलायत, अमेरिकामा पनि मैले त्यही काम गरेँ । 


मैले व्यक्तिगत रुपमा गरेको पहल हो यो सबै । तर नेपालका नेपालकै क्रिस्चियनहरुलाई माओवादीप्रति सकारात्मक बनाउने भूमिका मैले खेले । त्यसले गर्दा माओवादीहरु पनि नेपालका क्रिस्चियनहरु प्रति सकारात्मक हुँदै आए । 

 

नेपालका सबै क्रिस्चियनहरु माओवादीप्रति सकारात्मक थिएनन् । तर मेरो भूमिकाले सबै क्रिस्चियनहरु माओवादीप्रति सकारात्मक भए । त्यही देखिन आयो, प्रमाणित हुँदै गयो ।

 

नेपालका क्रिस्चियनहरुको धारणा यो छ भन्ने बोकेर म युरोप अमेरिका गएको हो । 

 

माओवादीहरु आतंकवादी होइनन् भन्ने कुरा मैले युरोप अमेरिकामा प्रमाणित गराएँ । उनीहरु राजनीतिक शक्ति हो भनेको थिएँ । आपराधिक, आतंकवादी समूह पनि होइनन् भन्ने मेरो भनाइ थियो । मैले नेपालमा माओवादीप्रति जनताको समर्थन छ भन्ने मैले बुझाएँ । माओवादीलाई हराउनु भनेको लाखौं जनता मार्नु हो भन्ने कुरा मैले युरोपका देशहरुमा प्रमाणित गराएँ । 

 

अर्को कुरा माओवादीको एजेन्डा नेपाल धर्मनिरपेक्ष हुनुपर्छ भन्ने थियो । पश्चिमा मुलुकहरुको पनि चाहना नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने थियो । 

 

उनीहरुको इन्ट्रेस्ट र माओवादीको एजेन्डा  धर्मनिरपेक्षता बीचमा तालमेल भयो । मैले उनीहरुलाई विश्वासमा लिन उनीहरुले चाहेको जस्तो एजेन्डा माओवादीले बोकेका छन् भनेँ । उनीहरुको समर्थन लिन मैले युरोपेलीहरुको इन्ट्रेस्टसँग कुरा जोड्नु पर्ने थियो । अनि जोडेँ पनि । 

 

जनयुद्ध भन्दा अगाडि नै म माओवादीसँग जोडिएको थिएँ । माओवादी नेताहरुसँग भेटघाट भइरहन्थ्यो । त्यो बेला राजा र माओवादीबीच लडाईँ थियो । त्यो बेला मेरो एक क्रिस्चियन राजपरिषद् सदस्य हुुनुहुन्थ्यो । उहाँसँग मिलेर दरबार र माओवादीबीच सम्वाद गराउने प्रयास हामीले गर्यौं । दरबारको तर्फबाट दामोदर शमशेर हुनुहुन्थ्यो । मरिचमान श्रेष्ठले पनि भूमिका निर्वाह गर्नुभयो । 


सुरक्षा निकायका पदाधिकारी र माओवादीका नेताहरुसँग पनि भेटवार्ता गराएँ । 

 

माओवादीका नजिकबाट काम गरेको कृष्णबहादुर महरासँग हो । माओवादीले मलाई पूरै विश्वास गरेका थिए । नेतृत्वसँग जुन बेला पनि भेट्न सक्थेँ । माओवादी नेतृत्वसँग नियमित सम्पर्क हुन्थ्यो । त्यही विश्वासले मैले युरोप अमेरिकामा गएर लविङ गरेँ । 

 

बाबुराम भट्टराई, हिसिला यमीसँग पनि सम्पर्क थियो । पछि शान्तिप्रक्रियामा आएपछि मेरो महरासँग बढी काम गरेँ । 

 

म आफै पनि राजसंस्थावादी थिएँ । त्यसकारण नेपालमा माओवादीले उठाएका एजेन्डा सम्बोधन हुनुपर्छ भन्ने थियो । तर राजसंस्था हटाउनु पर्छ भन्ने मेरो चाहना थिएन । तर माओवादीका शीर्ष नेताहरुको पनि ध्येय राजसंस्था हटाउनु पर्छ भन्ने थिएन । युरोपेलीहरुको मुख्य चाहना धर्मनिरपेक्षता थियो । राजसंस्था हटाउनु पर्छ भन्ने कुनै कुरै थिएन उनीहरुको ।

 

राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए, सेना परिचालन, माओवादी आतंकवादी घोषणा भएपछि राजसंस्था दूरी बढ्यो । दिल्लीमा माओवादीका नेताहरुसँग कुरा भयो । उहाँहरुले सन्देश राजालाई पठाउनु भयो । उहाँहरुले राजालाई सेरेमोनियल राजतन्त्र मान्न माओवादीहरु तयार भएका थिए । सहमत भएर हामी अगाडि बढौं भन्ने थियो । अर्को प्रस्ताव भनेको गणतन्त्र नेपालका पहिलो राष्ट्रपति हुन चाहे पनि हुन्छ भनेका थिए ।

 

दुई कार्यकाल पनि स्वीकार गरिएको थियो । १० वर्ष चाहिँ माओवादीले मानेका थिए । हाम्रो हातमा सन्देश पठाएका थिए । मैले दरबारको भरपर्दो सूत्रलाई सुनाएँ । उहाँले राजालाई भनेछन् । उहाँले यो स्वीकार्य भएन भन्ने जवाफ दिनु भयो । मैले त्यही खबर माओवादीलाई पठाइदिएँ । 


माओवादीले पठाएको प्रस्ताव त्यो बेला राजाकहाँ पुग्यो कि पुगेन भन्ने अहिलेसम्म एकिन छैन । त्यो स्रोत भनेको दरबारका सैनिक सचिव गजेन्द्र लिम्बु हुनुहुन्थ्यो । उहाँले नै स्वीकार्य भएन भन्नु भएको हो । 

 

त्यो बेला अर्को प्रयास पनि भयो । राजाका मान्छे, माओवादीका मान्छे र म मिलेर एक छलफल गर्यौं । राजा ज्ञानेन्द्रलाई चिठ्ठी लेख्यौं । माओवादीले गोलमेच सम्मेलनको कुरा गरिरहेका थिए । 

 

गोलमेचमा राजालाई पनि स्थान थियो । त्यो माओवादीहरुले भन्ने गरेको गोलमेचमा राजा स्वयंमले आह्वान गर्नु पर्ने थियो । त्यसो हुँदा राजाको पनि स्पेस सुरक्षित हुने थियो । यो हिसाबले राजसंस्था जोगिन सक्छ भन्ने थियो । तर त्यो प्रस्तावमा पनि पहल भएन । त्यसपछि शान्ति प्रक्रिया अगाडि बढ्यो । 

 

१२ बुँदेमा पनि नेपालमा राजसंस्था हटाउने कुरा थिएन । माओवादी नेताहरुमा पनि राजसंस्था हटाउने कुरा थिएन । तर स्पष्ट रुपमा धर्मनिरपेक्षता  पश्चिमाहरुको एजेन्डा थियो । उनीहरुलाई धर्मनिरपेक्षाता चाहिँ होस् नै भन्ने थियो । पछि गणतन्त्र कसरी प्रवेश गर्यो त्यो थाहा छैन । 

 

नेपालमा जति पनि राजनीतिक परिवर्तन भए ती सबै बाहिरको सहयोगमा भएको हो । विशेषगरी ६२÷६३ को परिवर्तन पछि संघीयता, गणतन्त्र नेपालीहरुले चाहेर आएका होइनन् । विदेशीको इच्छामा आएको हो । 

 

केही हदसम्म हामी पनि विदेशीको गोटी बनेका हौं । धर्मनिरपेक्षताको एजेन्डा बोकेका कारण नै माओवादीलाई पश्चिमाहरुको साथ मिलेको हो । 


२००७ मा म राष्ट्रिय मानवअधिकार आयोगको सदस्य भएँ । त्यो २०१३ सम्म त्यहाँ रहेँ । माओवादीसँग मेरो सम्बन्ध राम्रै थियो । पछि माओवादी विभाजित भए । सम्बन्ध टुट्यो । तर साथीहरु त हुनुहुन्छ । माओवादी नेतृत्वसँग राम्रो सम्बन्ध छ ।

 नेपालमा राजसंस्था फर्किनु पर्छ भन्ने मेरो मान्यता हो । र अर्को नेपाल धर्मसापेक्ष हुनुपर्छ भनेको छु । 

 

पूर्वराजासँग मैले तीन वर्ष अगाडि भेटेको हो । उहाँसँगको कुराकानीका क्रममा मैले उहाँलाई नेपाल  र नेपालीप्रतिको चिन्ता रहेको पाएँ । उहाँसँगको कुराकानीमा उहाँलाई देशमा जे भइरहेको छ त्यसमा चिन्ता रहेको पाएँ । केही अगाडि पनि भेट भयो । 

 

राष्ट्र नै नरहने अवस्था आउने हो कि भन्ने चिन्ता, धर्म लोप भयो, नैतिकता हराएर गयो भन्ने चिन्ता राजालाई छ । व्यवस्था कस्तो अपनाउने, सरकार  कस्तो हुने, विकासको मोडल कस्तो हुने भन्ने तपशिलको कुरा हो । मूल कुरा त राष्ट्र जोगाउनु पर्यो भन्ने हो । 

 

नेपालको सबैभन्दा बढी चिन्ता त पृथ्वीनारायण शाहका सन्तानहरुलाई नै हो । राजालाई चिन्ता हुनु स्वाभाविक हो । त्यही भएर बेला बेला राजाले विज्ञप्ति निकाल्ने गरेको मैले बुझेको हो । 

 

 १० वर्ष अगाडि माओवादीले दिएको प्रस्ताव राजा ज्ञानेन्द्रसम्म पुगेको हो कि होइन थाहा छैन । उनी भए ठाउँ नपुगेको पनि हुन सक्छ । 
...

नेपालमा राजसंस्था भएन भने देश नै रहँदैन । राजसंस्था पुनस्र्थापना सम्भव छ । धर्मनिरपेक्षता खारेज भएन भने मुलुकमा अनैतिकता फैलिन्छ । 


धर्मसापेक्ष राष्ट्र भएन भने नेपालमा पनि पश्चिमी मुलुकहरुमा जस्तै विकृति बढ्छ । जसरी पश्चिमा मुलुकहरुमा अहिले सम्बन्ध नै कमजोर हुँदै गएको छ ।

 

विवाह नगर्ने, परिवार नै नबनाउने, आमा छोरा, बाबुु छोरी, दाजु बहिनी भन्ने सम्बन्ध नै नरहने अवस्था छ । सबै मानिसहरु एक व्यक्ति मात्रै हुन् बाँकी केही होइनन् भन्ने मान्यता स्थापित हुँदै गएको छ । जसका कारण ती मुलुकहरुमा दाजु–बहिनीबीच विवाह भएको, बाबु र छोरीबीचको सम्बन्धका कुरा, आमा छोराबीचको सम्बन्धका कुरा आउनुको मुख्य कारण नै धर्मनिरपेक्षता हो । यसकारण मुलुक धर्मसापेक्ष हुनुपर्छ भन्ने मेरो मान्यता हो । 

 

(रोकायसँगको भिडियो अन्तर्वार्तामा आधारित)