समाचार

पर्यटन

जेठदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन : पर्यटनमन्त्री

मङ्गलबार, ०४ बैशाख २०७५ गते प्रकाशित
- Dhiraj Devkota

जेठदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन : पर्यटनमन्त्री

काठमाडौं । सरकारले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

 

उनले सो विमानस्थल २४ सै घण्टा सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्कालका लागि सम्भव नदेखिएको पनि स्पष्ट पारे ।

 

मंगलबार काठमाडौंमा पर्यटनविद्हरुको अन्तक्रिर्या कार्यक्रममा बोल्दै उनले ‘एयर स्पेस’ को उचित व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विज्ञहरुको समूह बनाउने तयारी गरिएको पनि बताए ।

 

सरकारले छिट्टै झापाको भद्रपुरमा नाइटमा विमान चलाउने व्यवस्था गर्दै छ । पोखरामा भने तत्काल सम्भव नरहेको पनि मन्त्री अधिकारीले स्पष्ट पारे ।

 

मन्त्री अधिकारीले मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पु‍र्याउने महत्वकांक्षी योजना पनि अघि सारे । उनले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार मान्ने हो भने त्यसले कम्तीमा पनि २५ प्रतिशत योगदान दिनुपर्ने तर्कसमेत गरे ।

 

सरकारी तथ्यांकअनुसार हाल नेपालको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशत रहेको छ । मन्त्री अधिकारीले अब कम्तीमा २५ प्रतिशत योगदान पर्यटन क्षेत्रले दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

उनले बनाइएका योजना कार्यान्वयन नहुँदा नेपालको पर्यटन क्षेत्रले प्रगति गर्न सकेको पनि स्वीकार गरे । मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासलाई अघि बढाउन सरकारले विज्ञहरुसँग नियमित परामर्श गर्ने पनि बताए ।