समाचार

प्रदेश ३

समाजवादी शिक्षाबाट मात्रै मुलुक समृद्ध बन्ने : प्रचण्ड 

मङ्गलबार, ०४ बैशाख २०७५ गते प्रकाशित
- Dhiraj Devkota

समाजवादी शिक्षाबाट मात्रै मुलुक समृद्ध बन्ने : प्रचण्ड 


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी शिक्षाबाट मात्रै मुलुक समृद्ध बन्ने बताएका छन् ।  


वर्तमान शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास कायमै रहेको भन्दै प्रचण्डले समाजवादी शिक्षाको 
विकल्प नै नभएको बताए ।  


एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा राजधानीमा सोमबार आयोजित ‘नेपालको विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप’ विषयक एकदिवसीय शैक्षिक कार्यशालामा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संविधानले नै समाजवादउन्मुख राज्य भनेपछि त्यसको सुधार शिक्षाको रुपान्तरणबाट हुनु जरुरी रहेको बताए । 


‘समाजवाद निर्माणमा निजी, सार्वजनिक र सरकारी क्षेत्रको कुरा गरेको छौं । यी तीन वटै क्षेत्रलाई आर्थिक विकासका सन्दर्भमा मात्र होइन, सामाजिक विकासका सन्दर्भमा पनि सहकार्यमार्फत मात्रै २१ औं शताब्दीमा हाम्रो आफ्नो मौलिक प्रक्रियाबाट समाजको विकास गर्न सकिन्छ भन्ने परिकल्पना गरेका छौं ।’ प्रचण्डले भने । 

 


शिक्षा क्षेत्रमा सुधारको कुरा गर्दा समाजवादउन्मुख राज्य दिमागमा रहनुपर्नेमा जोड दिँदै उनले अहिलेसम्म अवलम्बन गरिएको शिक्षा प्रणाली समाजवादउन्मुख नभएर पुँजीवाद, व्यक्तिवाद अझ उपभोक्तावाद उन्मुख रहेको दाबी गरे । 

 


प्रचण्डले अब नेपालमा स्वरोजगार र आत्मनिर्भर शिक्षा प्रणालीको खोजी गर्न पनि शिक्षकहरुसँग  आग्रह गरे ।  शिक्षक र 
राज्यलाई दोष दिने दुवै बेठिक भए पनि शिक्षा सुधारको मुख्य जिम्मेवारी त राज्यको नै पहिलो हुनुपर्ने उनको 
भनाइ थियो ।

 

 
अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले अहिले आफू पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने अत्यन्त गम्भीर दायित्वमा रहेको स्पष्ट पारे ।

 

सोमबार बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग अढाइ घण्टा छलफल भएको भन्दै अध्यक्ष प्रचण्डले छलफलमा दुवै नेताले  दिनभरि र आजसम्म पार्टी एकताबारे गृहकार्यको जिम्मेवारी लिएको जानकारी गराए । वैशाख ९ मै पार्टी एकता हुनेमा उनले विश्स्त रहन आग्रह गरे । 

 

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालमा नै सबैभन्दा चर्चित र अमूर्त शब्दको रुपमा 
आएको समाजाद अब कार्यान्वयनमा जाने स्पष्ट पारे । नेपालको लागि गुणात्मक शिक्षाको नयाँ मोडल आवश्यक रहेकोमा जोड दिए ।