समाचार

राष्ट्रिय गौरवका आयोजनामा ढिलाइ नहोस् : मन्त्री पुन

मङ्गलबार, ०४ बैशाख २०७५ गते प्रकाशित
- Dhiraj Devkota

राष्ट्रिय गौरवका आयोजनामा ढिलाइ नहोस् : मन्त्री पुन

काठमाडौं । ऊर्जा  जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । 

 

आर्थिक वर्ष २०७४०७५ को दोस्रो चौमासिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पुनले मन्त्रालय अन्तर्गतका राष्ट्रिय आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

 

नीतिगत तहका कर्मचारी सहभागी उक्त बैठकमा मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजना समयमै पुरा नभएको गुनासो बढ्दै गएको समयमा अब कुनै पनि बाहानामा विकासका आयोजना रोकिन नहुने बताए। 

 

उनले मन्त्रालयमा भएको समस्या समन्वयात्मक ढङ्गबाट समाधान गरेर अगाडि बढ्ने बताए। उनले भने, ‘राष्ट्रिय गौरवका आयोजना रोकिनु भएन। बजेटको समस्या भए मन्त्रालयबाट समाधान हुन्छ।’ मन्त्री पुनले आयोजना समयमै सम्पन्न गर्दा आउने समस्या आफुलाई सिधै बताउन आग्रह गर्दै अन्य बाहानामा आयोजनामा ढिलासुस्ती नगर्न निर्देशन दिए।
 


‘काममा समस्या पर्दा सिधै मलाई भन्दा हुन्छ। समस्याको हल मन्त्रालयबाट हुन्छ। उनले भने, ‘अन्य बाहानामा काम रोकिनु हुँदैन।’ मन्त्री पुनले अबको समय मुलुकको विकाश र समृद्धि भएकाले यसमा सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

 

माओवादी नेता समेत रहेका मन्त्री पुनले मुलुकले स्थिर सरकार पाएकाले पहिला जस्तो अनेक समस्याले विकासका आयोजना पन्छाउने जस्ता कार्य अब नहुने प्रष्ट पारे। मन्त्री पुनले नीति र नेतृत्वको निरन्तरताले अब काम हुने बताउँदै सबैबीच समन्वय हुनुपर्नेमा जोड दिए।

 

समितिको पहिलो बैठकमा मन्त्री पुनले यस्ता बैठक नियमित हुनुपर्ने बताउँदै कर्मचारीबीच नीतिगत विषयमा छलफल र समिक्षा आवश्यक भएको उल्लेख गरे।