समाचार

देश

पत्रकार महासंघको प्रदेश कार्यसमितिमा तीन संगठनको भागवण्डा

मङ्गलबार, ०४ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

पत्रकार महासंघको प्रदेश कार्यसमितिमा तीन संगठनको भागवण्डा

काठमाडौं । नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको सातवटै प्रदेश समितिमा प्रमुख तीन दल निकटका पत्रकार संगठनले भागवण्डा गरेका छन् । राजनीतिक दलले गर्ने भागवण्डाको विरोधमा समाचार लेख्ने पत्रकारकै संस्थामा भागवण्डा गरिएको हो ।

 

पत्रकार महासंघको प्रदेश समितिको बैशाख २२ गते अधिवेशन हुँदैछ । अधिवेशनबाट चयन हुने कार्यसमितिमा मंगलबार एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले पदहरु भागवण्डा गरेका हुन् ।

 

भागवण्डा अनुसार सातवटा भौगोलिक प्रदेश, उपत्यका, प्रतिष्ठान र एसोसिएट गरी १० प्रदेश कार्यसमितिमध्ये सबैभन्दा धेरै प्रेस चौतारीले ५ वटाको अध्यक्ष पद पाएको छ । प्रेस सेन्टरले ३ र युनियनले २ वटा प्रदेशको अध्यक्ष पाउने सहमति भएको छ ।

 

तीनवटा संगठनको अध्यक्षले गरेको सहमति अनुसार प्रेस चौतारीले प्रदेश १, प्रदेश ३, कर्णाली प्रदेश, प्रदेश ७ र प्रतिष्ठानको नेतृत्व पाएको छ । प्रेस सेन्टरले प्रदेश ४, प्रदेश ५ र उपत्यकाको नेतृत्व पाएको छ । प्रेस युनियनले प्रदेश २ र एसोसिएटको अध्यक्ष पद पाएको छ ।

 

कार्यसमितिमा अर्को कार्यकारी पद महासचिवमा प्रेस सेन्टरले ४ वटा, प्रेस चौतारी र प्रेस युनियनले ३/३ वटा प्रदेश भागवण्डा गरेका छन् ।

 

नेतृत्व मात्र नभई प्रदेश कार्यसमितिका सबै पदमा भागवण्डा गरिएको छ । प्रदेश कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष (महिला) महासचिव, सचिव, सचिव (समावेशी) र कोषाध्यक्ष गरी ७ जना पदाधिकारी रहनेछन् ।

 

त्यस्तै सदस्यहरुमा ५ जना खुला, ३ जना महिला, १ जना दलित, २ जना आदिवासी जनजाति, २ जना मधेसी र १ जना अल्पसंख्यकबाट रहनेछन् । सबै प्रदेशमा कुन संगठनले कुन कुन पद पाउने भन्ने सहमति भइसकेको छ । अब बैशाख २२ गते हुने अधिवेशनमा सहभागी हुने पत्रकारले नेतृत्व छनोटमा सहभागी हुन नपाउने भएका छन् ।

 

ठूला संगठनले भागवण्डा गरेसँगै विभिन्न साना दल निकट र पत्रकारका जातीय संगठनहरुले महासंघको कार्यसमितिमा पर्ने सम्भावना लगभग समाप्त भएको छ ।