समाचार

मुख्य समाचार

स्वास्थ्य

प्रदेश १

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लथालिंग हालतमा

मङ्गलबार, ०४ बैशाख २०७५ गते प्रकाशित
- Dhiraj Devkota

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लथालिंग हालतमा

काठमाडौं । अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लथालिंग हालतमा छ । 


महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार अस्लतालमा करोडौंका सामान थन्किएर बसेका देखाएको हो । केही प्राविधिक नभएको वा बिग्रिएको नाममा थुपारेर राखिएको छ भने कतिपय रकम भुक्तानी गरेर पनि जडान नै गरिएको छैन ।


प्रतिष्ठानले अक्सिजन प्लान्ट खरिद तथा जडान गर्न २९ असार २०७३ मा नै सम्झौता गरेको थियो । त्यसअनुसार ३ करोड २ लाख रुपैयाँ भुक्तानी पनि दिइसक्यो ।

 

तर, अहिलेसम्म अक्सिजन प्लान्ट जडान भएको छैन । उल्टै प्रतिष्ठानले अहिले अक्सिजन किन्न लाखौं खर्च गरेको पाइएको छ । अक्सिजन खरिदमा २०७३÷७४ मा ३९ करोड ४८ हजार र २०७४÷७५ मा २१ लाख ६६ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

 

झण्डै एक करोड खर्चिएर ल्याएको कृत्रिम दाँत बनाउन प्रयोग हुने ‘क्यान क्याम मेसिन’ प्रयोगविहीन छ । दन्त प्राविधिक नभएको भन्दै यो लामो समयदेखि सञ्चालनमै छैन ।

 

१३ लाख बढी खर्चेर ल्याइएको दाँतको एक्सरे गर्ने आरभीजी मेसिन र त्यसका एक्सेसरीन डिजिटल प्रविधिअनुसार प्रयोग गरिएको छैन । ‘एक्सरे फिल्म प्रयोग गरेर छुट्टै विकास गर्नुपर्ने अवस्था छ भने कम्प्युटर र फोटो प्रिन्टर जडान भएको मितिदेखि नै प्रयोगविहीन अवस्थामा छ’ महालेखाले भनेको छ ।

 

डेन्टल चेयरहरु जडान गर्न भन्दै ३६ लाख भुक्तानी दिएको दुई वर्ष हुन लागिसक्यो । तर, प्रतिष्ठान परिसरमा ल्याइएका डेन्टल चेयर थुपारेर राखिएका छन् ।

 

लाखौं खर्चिएर किनिएको अस्पतालमा प्रयोगहरु एक्स्टर्नल समान पनि त्यत्तिकै थुपारेर राखिएको छ । रेडियोलोजी डिपार्टमेन्टमा रहेको एक्सरे मेसिन प्रयोगहीन छ । २८ लाख बढी खर्च गरेर जडान भएको एचडी ७ अल्ट्रासाउण्ड मेसिन पनि प्रयोग हुन सकेको छैन ।

 

स्वास्थ्य सेवा विभागले ६ जेठ २०७१ मा झण्डै साढे २ करोडको आटोमेटिक डीएनए सिक्वाइन्सर हस्तान्तरण गरेको थियो । तर, अहिलेसम्म प्रयोग भएको छैन । उपकरण सञ्चालन गर्ने ज्ञान भएका कर्मचारी नभएको भन्दै थन्काएर राखिएको छ ।

 

प्रतिष्ठानमा डाइलाइसिस सेवा छ । तर, १० मध्ये चार वटा डाइलाइसिस मेसिन सञ्चालनमै छैन । यही कारण ८ मध्ये दुई शैया सञ्चालन गर्न सकिएको छैन ।

 

एमआरआई मेसिनको अवस्था पनि त्यस्तै छ । ६ क्वाइटमध्ये ४ वटा सञ्चालनमा छैन । एउटा क्वाइटबाट दैनिक ५ वटासम्म एमआरआई हुने गरेको छ ।

 

अस्पतालमा एक पटक एमआरआई गरेको शुल्क ७ हजार तोकिएको छ । ‘मेसिन थन्क्याएर राख्दा दैनिक ३५ हजार आम्दानी मात्र गुमाएको छैन, सेवाग्राहीले निजी अस्पतालमा महँगो शुल्क तिर्नुपरेको छ’ महालेखाले भनेको छ ।

 

अनौठो त के भने भवन अभावको कारण देखाउँदै सिटी स्क्यान र अल्ट्रासाउण्ड मेसिन एउटै कोठामा राखिएको छ । पालैपालो मेसिन चलाउने गरिएको छ ।