समाचार

मुख्य समाचार

एक वर्षमै विमानस्थलको काम सक्न मुख्यमन्त्रीको निर्देशन

सोमबार, ०३ बैशाख २०७५ गते प्रकाशित
- Dhiraj Devkota

एक वर्षमै विमानस्थलको काम सक्न मुख्यमन्त्रीको निर्देशन

दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गरेका छन् ।

 

मुख्यमन्त्री भएपछि पहिलो पटक विमानस्थल निरीक्षणमा निस्किएका पोखरेलले आगामी एक वर्षभित्रै सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति थप गरेर भए पनि समयमै पूरा गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।

 

सांसद र सरकारी अधिकारीसहित आइतबार साँझ अनुगमनमा निस्किएका पोखलेललाई आयोजना प्रमुख इन्जिनियर ओम शर्माले विमानस्थल निर्माणको विस्तृत विवरण प्रस्तुत गरेका थिए । प्रमुख शर्माले आफ्नै कार्यकक्षमा थ्रिडीको माध्ययमबाट तयार पारिएको आयोजनाको हालसम्मको प्रगति प्रस्तुत गरेका थिए ।

 

सो अवसरमा मुख्यमन्त्री पोखरेलले विमानस्थलको समग्र स्थितिबारे पटकपटक जानकारी लिएका थिए । त्यसपछि मुख्यमन्त्री पोखरेलले विमानस्थल निर्माणको भौतिक प्रगतिको निरीक्षण गरेका थिए ।

 

मुख्यमन्त्री पोखरेलसहितको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर, रन वे, प्रशासनिक भवन, विमान सेफ्टी एरियालगायत स्थानको स्थलगत निरीक्षण गरेको थियो ।

 

विमानस्थल आयोजनाका प्रमुख शर्माले पछिल्लो पटक समय तालिकाअनुसार काम भइरहेको जानकारी गराएका थिए । उनले मुख्यमन्त्री पोखरेललाई बिफ्रिङ गर्दै सन् २०१९ को मध्यतिर निर्माण सम्पन्न हुने गरी काम अघि बढाइएको बताए । हाल विमानस्थलमा टर्मिनल भवन, धावनमार्ग, प्रशासनिक भवन, कन्ट्रोल टावरलगायत काम तीव्र गतिमा भइरहेको छ । 

 

वर्षाअघि धावनमार्गको पिच गर्नुअघिको र टर्मिनल भवनको छाना हाल्नुअघिको काम सम्पन्न हुने आयोजना प्रमुख शर्माले बताए। यी दुई वटा काम पूर्ण रुपमा सम्पन्न भए विमानस्थललाई अपरेसनमा ल्याउने बताए ।

 

विगतमा विमानस्थलको काम सुस्त गतिमा भए पनि चिनियाँ कम्पनीले चीनबाटै कामदार ल्याएर तीव्र गतिमा काम जारी राखेको आयोजनाले जनाएको छ ।