समाचार

प्रदेश २

प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतका साथ पारित

‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ अभियान' थालिने

सोमबार, ०३ बैशाख २०७५ गते प्रकाशित
- Dhiraj Devkota

प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतका साथ पारित

जनकपुरधाम । प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

 

सोमबार बसेको प्रदेश सभाको बैठकले प्रदेश २ को सरकारको नीति तथा कार्यक्रमलाई नेपाली कांग्रेस बाहेक सबै दलले समर्थन गरेका हुन् । गत चैत २८ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए ।

 

सत्तासीन दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकारले प्रदेशसभा बैठकमा पेश गरेको २० पृष्ठमा समेटिएको ६० बुँदे नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल वाम गठबन्धन घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समेत समर्थन जनाएको छ ।

 

प्रदेश सांसदहरुले बहुमत जनाएपछि प्रदेश सभामुख सरोजकुमार यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । उक्त नीति तथा कार्यक्रममाथि सोमबारको प्रदेशसभा बैठकमा विशेष छलफल भएको थियो ।

 

बैठकमा बोल्ने अधिकांश प्रदेश सांसदले प्रदेश सरकारको नीति कार्यक्रम समग्रमा राम्रो भए पनि केही कुरा छुटेकाले समेट्न आग्रह गरेका थिए । प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई जोड दिएको छ ।

 

कृषिलाई यस प्रदेशको मुख्य आधारशिलाको रुपमा कम व्याजदरमा ऋण, स्थानीय आवश्यकताअनुसार सिँचाइ व्यवस्था, कृषकले खोजेको बेला उन्नत बीउ, रासायनिक मल, यान्त्रोउपकरण, कीटनाशक औषधि तथा प्राविधिक तालिमको सहज उपलब्धता गराई बजार पहुँचलाई सुनिश्चित गर्न प्रदेश सरकारले नीति कार्यक्रममा विशेष जोड दिएको छ ।

 

‘मुख्यमन्त्री बेटी बचाऊ बेटी पढाऊ’ अभियानअन्तर्गत छोरी जन्मे बिमा कम्पनीसँग साझेदारीमा छोरीहरुको शिक्षा बिमाको नीति ल्याउने र लिंग पहिचान गरी भ्रुणमै छोरी हत्या गर्नेलाई कडा कानुनी कार्वाही गर्न कानुन बनाउने प्रदेश सरले नीति लिएको छ ।

 

यस्तै महिला माथि हुने हिंसा रोक्न कडा कानुन बनाउने र लक्षित कार्यक्रमहरु गर्ने र कार्यक्रमहरुको नजिकबाट निगारानी गर्न महिला सुरक्षा डेस्क खडा गर्नेछ ।

 

सरकारको नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य, सडक, बन्द उद्योगहरु सञ्चालन, पर्यटकीय स्थल बनाउन धार्मिक क्षेत्रहरुको संरक्षण सम्बद्र्धनलगायतमा जोड दिएको छ ।
प्रदेशसभाको अर्को बैठक मंगलबार दिउँसो २ बजे बस्दै छ ।