समाचार

अपराध सुरक्षा

मुख्य समाचार

१ सय ६० केजी गाँजासहित २ जना पक्राउ

सोमबार, ०३ बैशाख २०७५ गते प्रकाशित
- Dhiraj Devkota

१ सय ६० केजी गाँजासहित २ जना पक्राउ

काठमाडौं । एक सय ६० केजी लागू औषध गाँजासहित २ जना पक्राउ परेका छन ।

 

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १ सय ६० केजी लागू औषध गाँजासहित मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का २२ बर्से  सोमबहादुर थोकर र सोही जिल्ला कैलाश गाउँपालिका वडा नम्बर २ का ३६ बर्से इमानसिंह स्याङबोलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

 

गत शनिबार विशेष सूचनाका आधारमा ब्युरोको टोलीले उनीहरुलाई इन्धन बोक्ने टयांकरमा लुकाइछिपाइ राखिएको गाँजासहित काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित झ्याप्ले खोला सडक किनाराबाट पक्राउ गरेको हो ।

 

ना ४ ख ५३६८ नम्बरको इन्धन बोक्ने टयांकरभित्र अगाडि क्याबिनमा ७ वटा प्लाष्टिकका बोराभित्र १७ वटा पोकाहरुमा प्याक गरिएको गाँजा बरामद गरिएको ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

 

बरामद लागू औषध गाँजा टयांकरमा लुकाइछिपाइ त्रिभुवन राजपथ हुँदै सर्लाहीको मलंगवाबाट भारत निकासी गर्न लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

 

पक्राउ परेका स्याङबो र थोकर दुवै लामो समयदेखि लागू औषध गाँजा कारोबारमा संलग्न रहेको प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।